आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय

धुलिखेल–खावा सडक समयमै निर्माण नहुँदा यात्रुहरूलाई सास्ती

आइतबार, २५ जेठ २०८२, १२ : ३८
आइतबार, २५ जेठ २०८२

समाचार सारांश

  • धुलिखेल-खावा सडक निर्माण समयमै नसकिँदा यात्रुले सास्ती खेप्नुपरेको छ। २२ महिनामा सक्ने गरी ठेक्का लागे पनि निर्माण व्यवसायीले काम नगर्दा समस्या भएको हो।
  • सडक निर्माणको ठेक्का रद्द भएपछि व्यवसायी अदालत गए र अदालतले यथास्थितिमा राख्न आदेश दिएपछि निर्माण अन्योलमा परेको छ।
  • सडकखण्ड अरनिको राजमार्गसँग जोडिएको र तातोपानी नाका हुँदै चीनसम्म आवतजावत हुने भएकाले यसको मर्मत आवश्यक छ।

काभ्रे । काभ्रेपलान्चोक जिल्लाको धुलिखेल–खावा सडक समयमै निर्माण नहुँदा यात्रुहरूले सास्ती भोग्नु परेको छ । धुलिखेलदेखि खावासम्मको सडक विस्तार कार्य समयमै सम्पन्न नहुँदा यात्रुहरूले विगत दुई वर्षदेखि सास्ती खेपिरहेका हुन् । 

२०७९ जेठ २० गते २० करोड १९ लाख ४६ हजार ५०१ रुपैयाँको लागतमा २२ महिनाभित्र निर्माण सक्ने सर्तमा निर्माण कम्पनीलाई ठेक्का दिइएको थियो ।  चार किलोमिटर उक्त सडक तोकिएको समयमा निर्माण सम्पन्न नभएको जनाउँदै कार्यालयले निर्माण कम्पनीसँगको ठेक्का रद्द गरेलगत्तै निर्माण व्यवसायीले उच्च अदालत पाटनमा मुद्दा हालेका थिए ।

सम्झौताको समयसीमा सकिएको ११ महिनापछि कार्यालयले गतसाल फागुन १५ गते स्तरोन्नतिको जिम्मा लिएको गौरी–पार्वती निर्माण सेवासँगको ठेक्का रद्द गरेको थियो ।

उक्त सडकखण्डको ठेक्का रद्द गरेपछि अदालत गएका व्यवसायीको मुद्दामा केही दिनपछि अदालतले निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने, धरौटी रकम जफत लगायत ‘कारबाही नगर्न तथा हालको जुन अवस्थामा रहेको छ, सोही अवस्थामा राख्न’ अन्तरिम आदेश दिएपछि सडक निर्माणको काममा अन्यौलता छाएको थियो ।

निर्माण कार्यमा ढिलाइ भएकाले सडकको अवस्था झनै बिग्रिएको छ र भत्किएको सडकका कारण सयौँ सवारी दुर्घटना भइसकेका छन् । सो सडक खण्ड अरनिको राजमार्गसँग जोडिएको छ र यसैबाट तातोपानी नाका हुँदै चीन तथा दोलखा, रामेछाप जस्ता जिल्लामा आवतजावत हुन्छ । सडकलाई १२ मिटर चौडा पारेर कालोपत्र गर्ने योजनाअनुसार निर्माण थालिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप