‘यो करियर बनाउने समय हो, प्रेम गर्ने होइन’

समाचार सारांश
- अभिनेत्री परीक्षा लिम्बूको फिल्म 'उनको स्वीटर' हिट, वर्षको पहिलो सुपरहिट फिल्म बन्न सफल।
- फिल्मको सफलताले लिम्बू उत्साहित, अभिनयको प्रतिक्रिया राम्रो रहेको र आगामी दिनमा अझ राम्रो गर्ने प्रतिबद्धता।
- लिम्बूले छक्का पञ्जा ४, जारी लगायतका फिल्ममा काम गरिसकेकी छिन्, र भविष्यमा थप राम्रो काम गर्ने योजना रहेको बताइन्।
काठमाडौँ । अभिनेत्री परीक्षा लिम्बू यतिवेला फुरुङ्ग छिन् । उनको यो खुसीको कारण हो, फिल्म ‘उनको स्वीटर’ । यो फिल्म यस वर्ष (२०८२) को पहिलो सुपरहिट फिल्म बन्न सफल भएको छ । फिल्मको कमाइको आधारमा क्युएफएक्सले यसलाई सुपरहिटको ट्याग दिएको हो ।
गत वैशाख २६ मा रिलिज भएको फिल्म शुक्रबारबाट प्रदर्शनको पाँचौँ सातामा प्रवेश गरेको छ । निर्माण युनिटले केही दिनअघि चाबहिलस्थित एफक्युब सिनेमा हलमा केक काट्दै दर्शकसँग फिल्मको सफलताको सेलिब्रेसनसमेत गरेको थियो । उक्त कार्यक्रममा उनीसँगै अभिनेता विपिन कार्की, एलेक्स पारसलगायत फिल्म युनिटका सदस्यहरू सहभागी थिए ।
‘उनको स्वीटर’को सफलताले एकदमै खुसी मिलेको उनले बताइन् । ‘फिल्मको सफलता मात्र होइन, मेरो अभिनयले पाएको प्रतिक्रिया पनि राम्रो छ,’ उनले खुसी साटिन्, ‘लगातार सफलता प्राप्त हुँदा उत्साह मिल्दो रहेछ ।’
‘छक्का पञ्जा ४’ र ‘जारी’ मा सहकलाकारका रूपमा देखिएकी परीक्षाको ‘पुजार सार्की’मा मुख्य भूमिका थियो । उक्त फिल्मको सफलताको खुसी सेलाउन नपाउँदै उनलाई अर्को खुसी ‘उनको स्वीटर’ले थपिदिएको छ । यस फिल्ममा उनी डेब्यु अभिनेता एलेक्स पारसको जोडीका रूपमा देखिएकी छन् ।
‘म लक्की रहेछु । यसमा भगवान्को पनि कृपा छ,’ उनले भनिन्, ‘छक्का पञ्जा ४ देखि नै राम्रो–राम्रो टिमसँग काम गर्न पाएँ । फिल्म पनि सफल भइरहेका छन् । फिल्मले व्यावसायिक सफलता मात्र नभई समीक्षात्मक प्रशंसा पनि पाएको उनले सुनाइन् ।
‘फिल्मको कथा राम्रो भएकाले सफल हुन्छ भन्ने थाहा थियो,’ उनले थपिन्, ‘तर मेरो क्यारेक्टरलाई यति धेरै माया गर्नुहुन्छ, हलबाट निस्किँदा पनि याद गर्नुहुन्छ होला भन्ने मैले कहिल्यै सोचेकी थिइनँ ।’
प्रचारका लागि पोस्टर, टिजर र ट्रेलर सार्वजनिक भएदेखि नै फिल्म जेन–जी पुस्तामाझ चर्चामा थियो । फिल्म हेर्ने दर्शकमा पनि धेरै जेन–जी नै देखिए । उनी भन्छिन्, ‘सरसर्ती हेर्दा फिल्मका अडियन्स सबै खालका थिए । सबै उमेर समूहका दर्शक आएकाले नै फिल्म सफल भएको हो ।’ फिल्मको कथा तयार गर्दा पनि सबै उमेर समूहलाई लक्षित गरिएको उनको भनाइ छ ।
फिल्ममा प्रेमकथा मात्र नभई अन्य सबल विषयवस्तु पनि भएकाले दर्शक तानिएको उनको बुझाइ छ । चारवटा फिल्ममा अभिनय गरिसकेकी उनले आफ्नो ‘ड्रिम क्यारेक्टर’ भने अभिनय गर्न बाँकी रहेको बताइन् । यद्यपि त्यो क्यारेक्टर उनले एक फिल्ममा पाइसकेकी छन्, तर फिल्मको घोषणा हुन बाँकी रहेकाले विस्तृत जानकारी दिन नमिल्ने उनले जनाइन् ।
फिल्मको सफलता अभिनेत्रीका लागि खुसी र चुनौती दुवै हो, किनभने आगामी फिल्ममा त्योभन्दा राम्रो अभिनय गर्नुपर्ने दबाब हुन्छ । तर उनले यसलाई फरक किसिमले लिएकी छन् । ‘फिल्ममा मेरो चरित्रलाई थोरै भए पनि नोटिस गर्नुभयो,’ उनी थप्छिन्, ‘अबका दिनमा झन् राम्रो गर्ने कोसिस गर्नेछु ।’
फिल्म हिट भएपछि अभिनेत्रीलाई कामको ओइरो लाग्छ भन्ने गरिन्छ, तर उनलाई भने ओइरो लागेको छैन । आवश्यकताअनुसार फिल्मको प्रस्ताव आइरहेको र आफूले कथावस्तु हेरेर छानेर काम गरिरहेकी उनले सुनाइन् ।
- सानैको सोच– कलाकारिता
परीक्षाको सानैदेखि हिरोइन बन्छु भन्ने सपना थियो । तर, हिरोइन के हो, कसरी बन्ने, वा अभिनयमा कसरी भित्रिने भन्नेबारे उनलाई केही थाहा थिएन । सानैदेखि नृत्यमा रुचि राख्ने उनी अभिनय बुझ्न थिएटर जान थालिन् ।
थिएटरमा एक नाटकमा अभिनय गरेपछि उनलाई फिल्म ‘छक्का पञ्जा ४’ को अफर आयो र उनी फिल्म क्षेत्रमा होमिइन् । त्यसपछि उनलाई लगातार फिल्म मिलिरहेको छ । उनी अब ‘सोल्टिनी’ मा देखिँदैछिन्, जसको प्रदर्शन मिति असोज ३ गते तोकिएको छ ।
उनी भन्छिन्, ‘फिल्म यात्रा यसरी सहज तरिकाले अगाडि बढ्ला भनेर सोचेकी थिइनँ । एउटा समय आउँछ भन्ने विश्वास त थियो, तर कहिले आउँछ थाहा थिएन ।’
थिएटरबाट फिल्ममा भित्रिएकाले आगामी दिनमा यी दुवैलाई सँगै लैजाने उनको सोच छ । त्यसैले अहिले थिएटरमा अभिनय नगरे पनि नाटक हेर्न र केही सिक्न उनी थिएटर पुग्ने गरेकी छन् । थिएटरलाई उनी ज्ञान लिने, अभिनय बुझ्ने र आफूलाई निखार्ने ठाउँ मान्छिन् । थिएटर र फिल्म अभिनय फरक रहेको उनको अनुभव छ । ‘थिएटरमा अगाडि रहेका अडियन्सलाई फिल गराएर काम गर्नुपर्छ भने मुभीमा चाहिँ क्यामेरालाई नै अडियन्स सोचेर काम गर्नुपर्छ,’ उनले थपिन् ।
उनले कलाकारितामा अहिलेसम्म कुनै ठुलो सपना देखेकी छैनन्, तर यही क्षेत्रमा निरन्तर लागिरहने सोच छ । सपनालाई सीमित नराख्ने सोच भएकी उनी भविष्यबारे अहिले नै धेरै बताउन चाहन्नन् ।
- भविष्य छ त ?
के कलाकारितामा भविष्य छ ? यो प्रश्न राख्न नपाउँदै परीक्षाले जवाफ फर्काइन्, ‘देखेकी छु, एकदमै राम्रो छ । नयाँ आउने, न्युकमर्सलाई पनि राम्रो छ । तर, डिसिप्लिन भएर साँच्चिकै मन लगाएर काम गर्यो भने राम्रो सम्भावना छ । म आफैलाई हेर्दा पनि सम्भव रहेछ भन्ने फिल हुन्छ । भविष्य राम्रो छ ।’
फिल्म क्षेत्रका महिलालाई समाजले हेर्ने दृष्टिकोण पहिलेको तुलनामा फेरिएको उनले पाएकी छन् । अहिलेसम्म काममा विभेद सहनु नपरेको उनले बताइन् । ‘मलाई राम्रो–राम्रो टिमसँग काम गर्ने अवसर जुर्यो । राम्रो टिम र ब्यानरले राम्रो व्यवहार गर्नुभयो । म सानै भएकाले मेरो परिवारको मार्गदर्शन पनि छ,’ उनले भनाइ राखिन्, ‘तर पनि आफूलाई चाहिँ बचाएर हिँड्नुपर्छ कि जस्तो लाग्छ ।’
पछिल्लो समयका चर्चित कलाकारहरू–दयाहाङ राई, दीपकराज गिरी, प्रदीप खड्का, विपिन कार्की, आर्यन सिग्देललगायतसँग काम गरिसकेकी उनले सबै कलाकारसँग पर्दामा देखिने रहर राखेकी छन् । चलेका निर्देशकहरूसँग पनि काम गर्ने उनको इच्छा छ । आफूलाई नेपालमा मात्र नभई हलिउड, बलिउडजस्ता अन्तर्राष्ट्रिय क्षेत्रमा पनि एक्सप्लोर गर्ने उनको चाहना छ ।
थोरै अन्तर्मुखी स्वभावकी उनी फेसनमा रुचि राख्छिन् । कार्यक्रम, मौसम र समय हेरेर पहिरन रोज्न रुचाउने उनी कल्चरलदेखि क्याजुअलसम्म सबै प्रकारका ड्रेस प्रयोग गर्छिन् । तर, आफूलाई साडीमा सबैभन्दा राम्रो देखिने उनी बताउँछिन् ।
अहिलेसम्म प्रेम सम्बन्धमा नरहेको बताउने उनी भन्छिन्, ‘अहिले सानै छु । यो करियर बनाउने समय हो, प्रेम गर्ने होइन । प्रेमको समय पनि पक्कै आउला ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिलान्यासमै सीमित भए गण्डकीका अस्पताल
-
५३ लाख लागतमा बन्यो विद्यालयको पक्की भवन
-
बेगनास तालमा बेपत्ताको गोताखोर द्वारा खोजी सुरु
-
पालिकाले अस्पताल चलाएनन् भन्ने होइन, अब संघले नै चलाउनुपर्छ
-
बुटवलको कान्ति मावि विज्ञान विषयमा विशिष्टीकृत विद्यालय, प्रवर्द्धनात्मक कार्यक्रम तीव्र गतिमा
-
पालिकास्तरीय अस्पतालमा प्रदेश सरकारलाई किन जोडिएन ?