फिल्डरले फालेको एउटै बलले दुवैतर्फको स्टम्प ढलेपछि ...

समाचार सारांश
- महाराष्ट्र प्रिमियर लिग क्रिकेटमा फिल्डरले फालेको बलले दुवैतर्फको स्टम्प ढलेको घटना भयो।
- रायगढ रोयल्स र पुनेरी बप्पाबीचको खेलमा हर्ष मोगावीरा रन आउट भए।
- यो अनौठो घटना सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसले क्रिकेटको अनिश्चिततालाई उजागर गर्छ।
काठमाडौँ । विश्व क्रिकेटमा समय–समयमा गजबको घटना हुने गरेको छ । सायद, त्यसैले क्रिकेटलाई अनिश्चितताको खेल भनिएको होला । यस्तै एउटा घटना भारतमा जारी महाराष्ट्र प्रिमियर लिग क्रिकेटका क्रममा भएको छ ।
के क्रिकेटमा तपाईँले फिल्डरले फालेको एउटै बलले दुबैतर्फको स्टम्प ढलेको देख्नुभएको छ ? सायद, छैन होला । विश्वास गर्नै कठिन हुने यो घटना महाराष्ट्र प्रिमियर लिग–२०२५ को रायगढ रोयल्स र पुनेरी बप्पाबिचको खेलमा भएको हो ।
उक्त घटनाको भिडियो अहिले सामाजिक सञ्जालमा पनि भाइरल भइरहेको छ । दुई सय तीन रनको लक्ष्य पछ्याउँदै रायगढ रोयल्स जवाफी ब्याटिङमा ओर्लिएको थियो । टोलीका प्रभावशाली ब्याट्सम्यान हर्ष मोगावीरा क्रिजमा थिए ।
तर, त्यतिबेला उनी नन–स्ट्राइकिङ ब्याट्सम्यानका रूपमा थिए । विपक्षी टोलीका बलर सिद्धेश वीरले फालेको बललाई स्ट्राइकिङ ब्याट्सम्यानले लेग साइडमा खेल्ने प्रयास गरे । त्यसपछि उनी रन लिन दौडिए । अर्कोतिर रहेका नन–स्ट्राइकिङ ब्याट्सम्यान हर्ष पनि रन लिन दौडिए ।
तर, बल नजिकै रहेकाले दुवै ब्याट्सम्यानले रन नलिने निर्णय गरे । त्यतिबेलासम्म बल विपक्षी टोलीका विकेटकिपरको हातमा पुगिसकेको थियो । विकेटकिपरले ब्याट्सम्यानलाई रन आउट गर्न बल तीव्र गतिमा विकेटतर्फ फाले ।
त्यो बलले पहिले स्ट्राइकिङ ब्याट्सम्यान भएतर्फको विकेट ढाल्यो । तर, ब्याट्सम्यानल पहिले नै क्रिजभित्र पुगिसकेकाले आउट भएनन् । त्यसपछि त्यहीले तीव्र गतिमा हुइँकँदै गएर अर्कोतर्फको स्टम्पमा लाग्यो र एउटा स्टम्प ढल्न पुग्यो ।
दुर्भाग्यवश अर्कोतर्फ रहेका रहेका ब्याट्सम्यान आफ्नो स्थानमा पुग्न भ्याएकै थिएनन् । त्यसैले उनी रन आउट हुन पुगे । यसरी अविश्वसनीय तरिकाले रन आउट भएर हर्ष पेभेलियन फर्किनु पर्यो । विश्व क्रिकेटमा यस्तो घटना निकै कम देख्न पाइन्छ ।