भृकुटी उर्फ भेल्सा ट्रित्सुनको ऐतिहासिक योगदान

चिनियाँ (तिब्बती) भाषामा ‘ल्हाछिग ठ्रित्सुन’ वा ‘भेल्सा ट्रित्सुन’ भनेको राजा स्रङचङ गम्पोकी रानी (नेपाली राजकुमारी) भृकुटी बुझ्नुपर्ने हुन्छ । भृकुटीको जन्म वि.सं. ६८१ (सन् ६२४) माघ १ गते मकर संक्रान्तिको दिन राजा उदयदेव र रानी भद्रावतीको कोखबाट काभ्रेपलाञ्चोक जिल्लाको खोपासीमा भएको अध्ययनले देखाएको छ ।
चिनियाँ सम्राट थाङ थाइचाङ ली शिमिन (ताइजोङ) की छोरी राजकुमारी वेनचेङ गोङ्झु जो तिब्बती राजा स्रङचङ गम्पोकी कान्छी श्रीमती हुनुहुन्थ्यो, उहाँको जन्म पनि सन् ६२४ मा भएको पाइन्छ, (चेङ, ए हिस्ट्री अफ डेभलपमेन्ट अफ् तिब्बत– सन् २०१०) ।
अध्ययनले नेपाली राजकुमारी भृकुटी र चिनियाँ राजकुमारी वेनचेङ गोङ्झु को जन्म एउटै वर्षमा भएको पाइए पनि त्यो वर्षको महिना, कालक्रम, घडीपाला आदि अवश्य फरक परेको हुनुपर्छ । किनकि यी दुवै देशका राजकुमारीहरूको जन्म वर्ष एउटै रहेको प्रमाण स्रङचङ गम्पोले आफ्नै हातले लेख्नुभएको भनिएको ऐतिहासिक तिब्बती ‘मणि काबुम भोलुम क’ मा उल्लेख छ । यो स्रोत अनुसार स्रङचङ गम्पोले गर्नुभएको तान्त्रिक ध्यानमा एउटा प्रकाश नेपालमा, अर्को प्रकाश चीनमा गएको देख्नुभएको, उहाँले विवाह गर्न चाहनुभएका यी दुवै देशका राजकुमारीहरूको एउटै जन्म वर्ष वि.सं. ६८१ (ऐजन) पर्न गएको देखिन्छ ।
भृकुटीको विवाह तिब्बतका राजा स्रङचङ गम्पोसँग सन् ६३३ मा भएको थियो (तोङ्फान, दि एनेक्डट्स एबाउट ल्हासा–सन् २०१५) । ई.सं. ६३३ को नेपाली मिति वि.सं. ६९० हुन आउँछ । यसरी यो हिसाबले सन् ६३३ मा तिब्बती राजा स्रङचङ गम्पोसँग विवाह गर्नुभएकी नेपाली राजकुमारी भृकुटीको भौतिक उमेर ९ वर्ष र सन् ६४१ मा विवाह गर्नुभएकी चिनियाँ राजकुमारी वेनचेङ गोङ्झु को भौतिक उमेर १७ वर्ष हुन आउँछ । तिब्बती राजा स्रङचङ गम्पोले तिब्बतको एकीकरण गरिरहेको समयमा सम्पूर्ण तिब्बती प्रशासनलाई अझ प्रभावकारी रूपमा लागु गर्न सन् ६३३ मा तिब्बत (टुबो) को राजधानी बनाउनुभएको थियो । तिब्बतको राजधानी सहर ल्हासा बनाउनुअघि ल्होखाको त्सेताङ स्थित युम्बुलखाङ थियो (चेङ, ऐजन) ।
ल्हासाका तिब्बती विद्वान्जनहरूले ल्हासाका लागि नेपाली महावाणिज्यदूत वासुदेव शर्मा तुफानलाई रासा (ल्हासा) मा राजधानी सारेको वर्ष भृकुटीको विवाह भएको सुनाएको (थापा, भृकुटी (भेल्सा/ल्हाच्हिृग ठ्रित्सुन) : एक अध्ययन–२०७८) अनुभव व्यक्त गर्नुभएको छ । यसले पनि भृकुटी र स्रङचङ गम्पोको जन्म सन् ६३३ मा भएको तथ्यलाई समर्थन गर्दछ ।
नेपाली शाक्यमुनि बौद्धधर्म दर्शनलाई तिब्बतमा स्थापित गराउन बुद्धकी उपासिका ल्हाछिग ठ्रित्सुन (भृकुटी) सफल राजमाता प्रमाणित हुनुभएको छ । भृकुटीको योगदानका कारण नेपाल–चीन (तिब्बत) ऐतिहासिक सम्बन्ध बलियो छ ।
तत्कालीन तिब्बत एकीकरण अभियान रोकी त्यसको नेतृत्व अरुलाई सुम्पिएर राजा स्रङचङ गम्पो रानी भृकुटीलाई लिन नेपाल आउन असम्भव भएकाले उहाँको विवाह प्रतिनिधि मण्डलका रूपमा मन्त्रीद्वय थोनमी सम्भोटा र गारतोङ्सेन युलसुङ खोपासी आउनुभएको अध्ययनबाट बुझिन्छ । यसरी बेहुलोविनाकी नौ वर्षीया बेहुली भृकुटीलाई बुबाले उपदेश, आशीर्वाद दिई खोपासीबाट अन्माई साँखुको बज्रयोगिनी मन्दिरमा स्वयम्बर गरी जहरसिंहपौवा, गोसाइँकुण्ड, रसुवागढीको बाटो हुँदै केरुङको बाटोबाट ल्हासातर्फ सवार गराइएको थियो । भृकुटी सवार रसुवागढीको एउटा भीरमा अवस्थित प्राचीन घोडेटो मार्गको डोबलाई हिजोआज पनि भृकुटी जन्ती मार्गको नामले चिनिन्छ । केरुङमा ग्येफु(ग) गाउँ छ । त्यहाँ एउटा गुरुफु(ग) अर्थात् गुरुगुफा पनि छ ।
तिब्बती भाषामा ‘ग्ये’ को अर्थ छुट्नु, बिदाइ गर्नु र ‘फु(ग)’ को अर्थ गुफा हुन्छ । यसको अर्थ भृकुटीले ध्यान गर्नुभएको गुरुफु(ग) र भृकुटीलाई नेपाली पक्षबाट बिदाइ गरी ल्हासातर्फ प्रस्थान गराइएको स्थल ग्येफु(ग) गाउँ आज पनि ऐतिहासिक, पर्यटकीय स्थलका रूपमा सुप्रसिद्ध रहेको छ । जसलाई भृकुटीको बिदाइ गुफा नामबाट चिनिएको ‘मणि काबुम भोलुम क’मा पनि उल्लेख छ । भृकुटीले केरुङमा अवलोकितेश्वर (अवलोकेश्वर) महादेवको मूर्ति स्थापना गर्नुभयो (गम्पो, मणि काबुम भोलुम क), जुन आजभोलि पनि विद्यमान छ । त्यो बेला चिनियाँ सम्राट ताइजोङ सियानमा विराजमान हुनुभएकाले बेहुली रानी भृकुटीलाई चिनियाँ सम्राटसँगको थाङ कूटनीतिक दर्शन भेट गराउन सियानसम्म पुर्याइएको हुन सक्ने अनुमान चीन मामिला अध्येता शैलेन्द्रबहादुर थापाको छ । सो दर्शनभेट कार्यक्रमपछि भृकुटीलाई पुनः ल्हासा ल्याई विराजमान गराइएको उहाँको दाबी छ ।
चिनियाँ थाङ वंशीय हान राजकुमारी वेनचेङ गोङ्झु र तिब्बती राजा स्रङचङ गम्पोबिच चेनक्वानको १५औँ वर्ष अर्थात् सन् ६४१ मा विवाह सम्पन्न भयो (तेङ, हिस्ट्री अफ चाइना– सन् २००७) । यो विवाह कूटनीतिक सम्बन्धले चीन र तिब्बत (सिचाङ) बिच राजकीय हान–तुवो जनस्तरीय सामाजिक संरचनालाई बलियो बनाएको छ, यस्तै सम्बन्ध चीन (तिब्बत)–नेपालबिच भृकुटीबाट पनि मजबुत भएको इतिहास साक्षी छ तर यो सवाल किन ओझेलमा छ ? हुवेन शाङलाई नेपाल वृत्तान्तबारे टिपाएका केही गलत विवरण चीनले पुनर्मूल्याङ्कन गरी संशोधन गरिदिए हुन्थ्यो, किनकि हुवेन शाङले सन् ६३७ मा नेपालका सीमान्ततिर बसेर यो विवरण (भृकुटी अंशुवर्माकी छोरी रहेको भ्रम) लेखे, त्यो बेला राजा भीमार्जुन देव थिए (थापा, तीव्र खबर–२०८१) ।
विभिन्न ऐतिहासिक, पारिवारिक सत्य–तथ्य प्रमाणका आधारमा भृकुटी उदयदेवकी छोरी, नरेन्द्रदेवकी बहिनी हुन् भन्ने वास्तविकता सार्वजनिक भइसकेको छ । त्यही नाताले उदयदेव १६ वर्षसम्म तिब्बतमा बसेर उहाँको निधन पनि तिब्बतमै भएको विभिन्न अध्ययन अनुसन्धानबाट खुल्न आएको पाइन्छ । भृकुटीकै कारण आफ्ना पति राजा (नरेन्द्रदेवका बहिनी ज्वाइँ) स्रङचङ गम्पोले जेठान नरेन्द्रदेवलाई तिब्बती सैनिक बलको सहयोगमा नेपालको राजगद्दीमा आसीन गराई राजा हुनुभएको इतिहास छ । भृकुटीका उनै दाजु राजा नरेन्द्रदेवले पनि तिब्बती युवतीसँग विवाह गर्नुभएको थियो । भृकुटी सम्बद्ध यी ऐतिहासिक घटनाक्रमहरूले पनि नेपाल–चीन (तिब्बत) सम्बन्धलाई बलियो बनाएको छ । यसरी छोरी भृकुटीकै नाताले उदयदेवका सपरिवार तिब्बती राजपरिवारको नाता सम्बन्धसँग जोडिनुभएको ऐतिहासिक पारिवारिक योगदान साक्षी छ । त्यस कारण सन् ६२१ मा दिवंगत भइसक्नुभएका अंशुवर्माकी छोरी भृकुटी हुन् भनेर चिनियाँ यात्री विद्वान् हुवेन शाङलाई गलत विवरण टिपाउने तत्कालीन स्रोतलाई सिल्भाँ लेभी लगायत केही विद्वान्ले आधार मानिदिँदा भृकुटीको सत्यापन ओझेलमा पर्दै आयो । यसबाट चिनियाँ तिब्बतीजनहरू पनि अलमलमा पर्न गएको बुझिन्छ । नेपाली पक्षले चिनियाँ, तिब्बतीहरूलाई भृकुटीको यथार्थता बुझाउन पनि सकेन । परिणामस्वरूपः विभिन्न ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक प्रमाणहरू छँदाछँदै पनि नेपालीले भृकुटीका बारेमा चिनियाँ, तिब्बतीलाई सत्यापन जगजाहेर गराउन नसक्दा चीन (तिब्बत) ले यस्तो विवादित विषयबाट टाढा रही आफ्नै देशकी राजकुमारी वेनचेङ गोङ्झु को मात्रै ऐतिहासिकतालाई वकालत गर्दै आइरह्यो । त्यसमा पनि सँधियार मित्रराष्ट्र चीनले स्रङचङ गम्पो र वेनचेङ गोङ्झु को राजकीय दाम्पत्य जीवन सम्बन्धको विषयलाई लिएर हान–तुबो ऐतिहासिक मित्रताको गर्व (गौरव) गर्नु सकारात्मक र स्वाभाविक हो तर त्यस्तै गर्वको विषय नेपाल–चीन (तिब्बत) ऐतिहासिक मित्रताको गर्व (गौरव) भृकुटी पनि हुनुभएकाले चीनले पनि यो विषयमा पुनर्मूल्याङ्कन गर्न आवश्यक छ । यस्तो संवेदनशील विषयमा नेपाली पक्षको उदासीनताका कारण नेपाली राजकुमारी तिब्बतकी महारानी भृकुटीले अन्तर्राष्ट्रिय समुदायमाझ न्यायोचित स्थान पाउन सक्नुभएन ।
नेपाल र चीन ऐतिहासिक सम्बन्धको प्रसङ्ग चल्दा मात्र चीनले तिब्बती राजमाता भृकुटीको स्मरण गर्ने गरेको पाइन्छ, तर अघिपछि उहाँलाई पन्छाएर चिनियाँ राजकुमारी वेनचेङ गोङ्झु लाई मात्रै चिनियाँ प्राथमिकता क्रममा राख्दै आएको देखिन्छ तर तिनै ऐतिहासिक, पुरातात्त्विक स्रोत सामग्रीहरू र दस्ताबेजहरूलाई नै आधार मानेर पछिल्ला अध्ययन–अनुसन्धानमा आधारित अधिकांश नेपाली, चिनियाँ, तिब्बती ऐतिहासिक स्रोत र दस्ताबेजबाट भृकुटीको बुवा उदयदेव हुन् भन्ने बलिया आधारहरू सार्वजनिक भइसकेकाले पछिल्लो समय भृकुटीसम्बन्धी विवाद निरुपणमा सहयोग पुग्दै आएको पाइन्छ ।
तिब्बती राजमाता भृकुटीको पहिलो प्रस्तावित योजनाबद्ध आग्रह, उहाँको विवेकशील सुरक्षा अवधारणा र त्यस योजनामा वेनचेङ गोङ्झु को आत्मीय साथ सहयोगलाई स्विकारी राजा स्रङचङ गम्पोले पोटाला दरबार निर्माण गराउनुभयो । त्यसैगरी बौद्ध धार्मिक–आध्यात्मिक आस्थाको केन्द्रका रूपमा भृकुटीले जोखाङ गुम्बा परियोजना निर्माण सम्पन्न गराउनुभएको सत्यता प्रायः अधिकांश नेपाली, तिब्बती स्रोतहरू र ऐतिहासिक दस्ताबेजहरूले प्रस्तुत गरेका छन् । तत्कालीन नेपाली बेहुली भृकुटीले विवाहमा उपहारस्वरूप प्राप्त गर्नुभएको बुद्धका मूर्तिहरू, अवलोकेश्वरको मूर्ति, बौद्ध ग्रन्थहरू आदिलाई भृकुटीद्वारा निर्मित जोखाङ गुम्बामा राखिएको दृश्यको प्रशंसा नेपाली कूटनीतिज्ञ, इतिहासविद्, संस्कृतिविद्हरूले गर्दै आउनुभएको पाइन्छ । उहाँहरूका अनुसार यो पनि एउटा चक्षु प्रमाण हो ।
त्यसै गरी चिनियाँ राजकुमारी एवं राजा स्रङचङ गम्पोकी रानी वेनचेङ गोङ्झु ले तिब्बतमा अर्को रामोचे गुम्बा निर्माण गराउनुभएको पनि ती ऐतिहासिक स्रोत तथा दस्ताबेजहरूले उल्लेख गरेका छन्, तर हिजोआज कतिपय चिनियाँ, तिब्बती आधुनिक स्रोत तथा दस्ताबेजहरूमा भने महारानी भृकुटीको योगदान र उत्तरदानलाई रानी वेनचेङ गोङ्झु ले गर्नुभएको योगदान भनेर अपव्याख्या गर्ने पद्धतिको विकास बसेको कूटनीतिक वृत्तमा चर्चा चल्ने गरेको पाइन्छ । स्रङचङ गम्पोसँग जेठी महारानी भृकुटीको तस्बिर (न)नराखी कान्छी रानी वेनचेङको तस्बिर मात्र राखी हाइलाइट गरेको देखिन्छ । कतिपय ऐतिहासिक स्रोत र दस्ताबेजहरूका अनुसार भृकुटीको निधन पनि सन् ६८० मा भएको उल्लेख गरेका छन् (थापा, ऐजन) । त्यसै गरी रानी वेनचेङ गोङ्झु को निधन ५६ वर्षको उमेरमा सन् ६८० मा भएको पाइन्छ (चेङ, ऐजन) । यी दुई रानीहरूको जन्म वर्ष एउटै भएजस्तै फेरि, यसरी निर्वाण वर्ष पनि एउटै पर्न आउनु इच्छा मरण हो, अथवा कालगति हो । यो एक आश्चर्य भएकाले यसबारे अनुसन्धान हुन आवश्यक छ । यद्यपि भृकुटी र वेनचेङ गोङ्झु दिदी–बहिनीको जस्तो सम्बन्ध, माया–ममता रहेको थियो भन्ने बुझिन्छ । आज हामीमाझ तिब्बती रानीहरू भृकुटी र वेनचेङ गोङ्झु को जन्म तथा परिनिर्वाण (निधन) वर्ष एउटै (समान) रहनु वैश्विक तान्त्रिक शक्तिको अनुपम संयोग पनि हुन सक्छ । यसमा नेपाल सरकारका सम्बन्धित निकायहरूको पनि गम्भीर ध्यानाकर्षण हुन आवश्यक छ, यो विषयमा भृकुटी स्मृति प्रतिष्ठानले पनि आफ्नो अध्ययन अनुसन्धानको दायरालाई विशिष्टीकृत गर्न आवश्यक छ ।
सन् ६१७ मा तिब्बतको किचु (ल्हासा) नदीको दक्षिणी किनारमा अवस्थित ग्यामा गुल्लीको चम्पा मिग्युरलिङ दरबारमा जन्मिनुभएका तिब्बती राजा स्रङचङ गम्पोको निधन सन् ६५० मा फेन्पो दरबारमा भएको पाइन्छ (तेङ, ऐजन) । स्रङचङ गम्पोको चिहान यार्लुङ (ब्रह्मपुत्र नदी) चोङ्ये/चोङवे उपत्यकामा अवस्थित छ । उपत्यकास्थित ल्होखाको समतल भूमिमा अवस्थित सो ‘चिहान एक नम्बर’ चोङ्वे नदीदेखि करिब ९० मिटर पूर्वतर्फ पर्छ । चिहानका बिच भागमा राजा स्रङचङ गम्पोको स्मृतिमा स्रङचङ लखाङको मन्दिर निर्माण गरिएको छ । यसमा चिहानको माथि राजा स्रङचङ गम्पो, नेपाली राजकुमारी तिब्बती महारानी भृकुटी (ठ्रित्सुन) र चिनियाँ राजकुमारी तिब्बती रानी वेनचेङ गोङ्झु का मूर्ति राखिएका यी मन्दिरहरू चिहानको अमूल्य आकर्षण स्थल बनेका छन् (थापा, ऐजन) ।
निष्कर्ष
नेपाली शाक्यमुनि बौद्धधर्म दर्शनलाई तिब्बतमा स्थापित गराउन बुद्धकी उपासिका ल्हाछिग ठ्रित्सुन (भृकुटी) सफल राजमाता प्रमाणित हुनुभएको छ । भृकुटीको योगदानका कारण नेपाल–चीन (तिब्बत) ऐतिहासिक सम्बन्ध बलियो छ । उहाँले तिब्बत (ल्हासा) निर्माणमा ऐतिहासिक योगदान पुर्याउनुभएको छ । केरुङको अवलोकेश्वर (महादेव) मूर्ति, ल्हासाको पोटाला दरबार र जोखाङ गुम्बा निर्माण योजनाकी सहयात्री भृकुटीको ऐतिहासिक योगदानलाई मित्रराष्ट्र चीनले कहिल्यै भुल्नेछैन भन्ने विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटमा सरकारले तल्लो वर्गलाई उपेक्षा गरेको छ : पूर्वअर्थमन्त्री पुन
-
सहरी विकास मन्त्रालयको बजेट वृद्धिप्रति शंका छ, कारण खोज्छौँ : नेता पुन
-
राज्यका निकायले चिन्ने नागरिकता दिन गैरआवासीय नेपालीहरूको माग
-
सदनको गतिरोध हटाउन कांग्रेस र रास्वपा छलफल जारी
-
छानबिन समिति गठन नभएसम्म संसद् सञ्चालन हुन नदिने विपक्षीको अडान कायमै
-
मनकामना धाममा २१६ किलोको घण्टी चढाइयो