आफूमाथि आक्रमण गर्नेलाई गृहमन्त्रीले संरक्षण गरेको भन्दै प्रेम चलाउनेले दिए आयोगमा उजुरी

समाचार सारांश
- त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले आफूमाथि आक्रमण गर्नेलाई पक्राउ नगरेको भन्दै गृहमन्त्री र प्रहरी प्रमुखविरुद्ध उजुरी दिएका छन्।
- २०७७ सालमा भएको कुटपिट मुद्दामा दोषी ठहरिएका व्यक्तिहरूलाई पक्राउ गर्न गृहमन्त्री र प्रहरी महानिरीक्षकले सहयोग नगरेको आरोप छ।
- आक्रमणकारीहरूलाई संरक्षण गरेको र आफ्नो ज्यान जोखिममा रहेको भन्दै चलाउनेले राष्ट्रिय मानवअधिकार आयोगमा न्यायको लागि गुहार मागेका छन्।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका छन् । आफूमाथि आक्रमण गर्नेलाई पक्राउ नगरेको भन्दै गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक दीपक थापाका विरुद्धमा आयोगमा उजुरी दिएका हुन् ।
गृहमन्त्री र आईजीपीले अदालतको आदेशको समेत अवज्ञा गरेको भन्दै उनीहरूलाई कारबाहीको माग गर्दै उजुरी दिएका हुन् । २०७७ साल असोज २० गते चलाउनेमाथि त्रिवि परिसरभित्रै कुटपिट भएको थियो । कुटपिटमा संलग्न रहेको भन्दै प्रहरीले नेविसंघ त्रिवि समितिका अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावल, रुपेश शाह, रविन लामा, सहयुज श्रेष्ठ, नीरज रानामगर र दीपक ओझामाथि छानविन गरेको थियो ।
आचार्यसहित सात जनाविरुद्धमा ज्यानमार्ने उद्योगमा मुद्दा दायर भएको थियो । काठमाडौँ जिल्ला अदालतले २०८० मङ्सिर ७ गते दीपक ओझालाई सफाइ र ६ जनालाई २ वर्ष कैद, जरिवाना र क्षतिपूर्ति भराउने आदेश भएको थियो । उक्त मुद्दामा उच्च अदालत पाटनले समेत २०८१ साल माघ २२ गते क्षतिपूर्तिको रकम सामान्य हेरफेर बाहेक उक्त जिल्ला अदालतको फैसला सदर गरेको थियो ।
दोषी ठहरिएका ६ जनामध्ये दुई जना सयुज श्रेष्ठ र रबिन कुमार लामा जिल्ला अदालतको फैसला पश्चातलगत्तै पक्राउ परेर जेल चलान भएका थिए । यी मध्येका दुई जना आचार्य र नीरज राना मगर भागेर अमेरिका र अस्ट्रेलिया पुगेकोमा उच्च अदालत पाटनमा जम्मा चार जना श्रेष्ठ, रबिन कुमार लामा, योगेन्द्र रावल र रुपेश साहको मात्र पुनरावेदन परेको थियो । विदेश भागेका आचार्य र मगरको हकमा अहिलेसम्म केही भएको छैन ।
उच्च अदालतको फैसला भएको ४८ दिन पछि २०८१ साल चैत्र ८ गते प्रहरीले रावललाई पक्राउ गरेर जेल चलान भएका थिए । विदेश भागेका आचार्य र मगरलाई नेपाल ल्याउन गृहमन्त्री र आईजीपीले नै प्रहरीलाई रोकेर राखेको चलाउनेको आरोप छ ।
फौज्दारी अभियोगमा दुई वर्षको कैद सजाय तोकिएका तीन जना कसुरदार रुपेश साह, हरि प्रसाद आचार्य र नीरज राना मगरलाई उनीहरुले नै जोगाएर राखेको चलाउनेको आरोप छ । आफूमाथि आक्रमण गर्ने हत्याराहरू बाहिर छाती फुलाएर हिँडिरहेकाले आफ्नो ज्यान जोखिममा रहेको उनको भनाइ छ । आफ्नो शान्तिपूर्वक बाँच्न पाउने हकको रक्षा गरीदिन उनले आयोगलाई अनुरोध गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालयन बैंकबाट ‘हबिब’ बहिर्गमन प्रक्रिया फेरि सुरु, नियामकको नेतृत्व परिवर्तनसँगै खुल्यो बाटो
-
पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन
-
प्रेसमाथि अदालतको नियन्त्रण : पहिले समाचार मेट्न आदेश, अनि मात्रै परीक्षण
-
नेपाल र चीनबिचको मित्रता नयाँ युगमा प्रवेश : परराष्ट्रमन्त्री राणा
-
एमाले महासचिव पोखरेल बेलायत प्रस्थान
-
‘महाराजधिराज’बाट किन बाहिरिए पल शाह ?