शनिबार, ३१ जेठ २०८२
ताजा लोकप्रिय
कालो मसी प्रहार प्रकरण

कालो मसी प्रहार प्रकरण : न्यायाधीशका अंगरक्षकसहित सुरक्षाकर्मीलाई फिर्ता बोलाइयो

शुक्रबार, ३० जेठ २०८२, १३ : ४१
शुक्रबार, ३० जेठ २०८२

समाचार सारांश

  • वीरगन्जमा उच्च अदालतका न्यायाधीश खुसीराम थारुमाथि कालो मसी प्रहार भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ।
  • घटनापछि न्यायाधीशका अङ्गरक्षक र सुरक्षाकर्मीलाई फिर्ता बोलाएर नयाँ टोली खटाइएको छ।
  • अदालतमा आवतजावत गर्नेहरूमाथि निगरानी बढाइएको छ र प्रवेशद्वारमा जाँच कडा पारिएको छ।

वीरगन्ज । उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका न्यायाधीश खुसीराम थारुमाथि कालो मसी प्रहार प्रकरणपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । इजलासमै न्यायाधीशमाथि कालो मसी प्रहार भएपछि त्यसको १२ घण्टा नबित्दै पर्सा प्रहरीले अङ्गरक्षकसहित त्यहाँ खटिएका सुरक्षाकर्मीको टोलीलाई फिर्ता बोलाएको हो । 

न्यायाधीश थारुका अङ्गरक्षक र खटिएका सुरक्षाकर्मीको टोली फिर्ता बोलाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गौतम मिश्रले जानकारी दिए । ‘आज बिहान उच्च अदालतको अनुगमन गरेका थियौँ, त्यसपछि त्यहाँ खटिएका सुरक्षाकर्मीहरूलाई फिर्ता बोलाएका छौँ’ उनले भने । 

अदालतमा प्रहरी सहायक निरीक्षक (असई) को कमान्डमा रहेको सुरक्षाकर्मीको टोली फिर्ता बोलाएर करिब २ दर्जनको हाराहारीमा नयाँ टोली खटाइएको छ । 

यसैगरी उच्च अदालतका १३ जना न्यायाधीशहरूका सबै अङ्गरक्षकलाई फिर्ता बोलाइएको प्रहरी प्रमुख मिश्रले बताए । 

कालो मसी प्रहार प्रकरणपछि अहिले उच्च अदालतमा आवतजावत गर्नेहरूमा कडा निगरानी बढाइएको छ । प्रवेशद्वारमै जाँच गरेर मात्र इजलासमा जान दिइएको प्रहरी प्रमुख मिश्रको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप