केशलिया करिडोर निर्माणमा १५ करोड बजेट सुनिश्चित
सारांश
- मोरङ र सुनसरीका बाढी प्रभावित क्षेत्रलाई सुरक्षित बनाउन केशलिया करिडोर निर्माणका लागि १५ करोड बजेट सुनिश्चित भएको छ।
- पूर्वमुख्यमन्त्री केदार कार्कीका अनुसार, यो परियोजनाले विराटनगरसहित चार स्थानीय तहमा डुबान र कटान समस्या समाधान गर्नेछ।
- करिडोर निर्माण संघीय, प्रदेश र स्थानीय तहको साझेदारीमा अघि बढ्नेछ, जसमा बाढी नियन्त्रण, व्यवस्थित बस्ती विकास लगायतका योजना छन्।
विराटनगर । मोरङ र सुनसरी जिल्लाका बाढी प्रभावित क्षेत्रहरूलाई सुरक्षित बनाउन र विराटनगरलाई डुबानबाट जोगाउन लक्षित केशलिया करिडोर निर्माणका लागि बजेट सुनिश्चित भएको छ । सङ्घीय सरकारले आगामी आर्थिक वर्षका लागि समपूरक अनुदानअन्तर्गत १५ करोड रुपैयाँ विनियोजन गरेपछि प्रदेश र स्थानीय तहले पनि यसमा सहकार्य गर्ने भएका छन् ।
पूर्वमुख्यमन्त्री केदार कार्कीका अनुसार प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमा करिडोर निर्माणका लागि रकम छुट्टाउने तयारी गरिसकेको छ । बुढीखोला–केशलिया करिडोर निर्माणको प्रस्ताव पहिले नै अघि सारिएको थियो, जसको पहल पनि पूर्वमुख्यमन्त्री कार्कीले गरेका हुन् । उनका अनुसार यो बहुप्रतिक्षित परियोजनाले विराटनगरसहित चार स्थानीय तहमा हरेक वर्ष हुने डुबान र कटान समस्याको समाधान गर्नेछ ।
विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तयार गरिसकेको छ । विज्ञ प्रशान्त मल्ल, ज्योती श्रेष्ठ र महेन्द्र सुब्बाद्वारा तयार प्रतिवेदनमा करिडोरले नदी नियन्त्रणसँगै व्यवस्थित बस्ती विकास, सहरी वन, र कृषि आधुनिकीकरणमा पनि योगदान पुर्याउने उल्लेख छ ।
करिडोर निर्माण विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका (मोरङ), दुहबी नगरपालिका र बर्जु गाउँपालिका (सुनसरी) को समन्वयमा सङ्घीय, प्रदेश र स्थानीय तहको साझेदारीमा अघि बढाइनेछ । विज्ञहरूका अनुसार केशलिया नदीमा दायाँबायाँ तटबन्ध बनाएर करिडोरको विकास गर्दा बाढी नियन्त्रणसँगै वातावरणीय लाभ पनि प्राप्त हुनेछ ।
केशलिया नदी चुरे क्षेत्रबाट सुरु भई सेरा, हुरहुरे र गछिया खोलासहित आठ वटा स्थानीय तह हुँदै बग्दछ। यो करिडोर दुहबी पुलदेखि नेपाल–भारत सिमानासम्म फैलिएको छ, जहाँ करिब ६,४०० हेक्टर क्षेत्रफल बाढीको उच्च जोखिममा पर्दछ ।
विज्ञ महेन्द्र सुब्बाका अनुसार करिडोर अन्तर्गत २० देखि १०० वर्षसम्मको बाढी प्रतिरोध योजना बनाइएको छ। यसमा सहरका भित्री सडक, पुलपुलेसा, कल्भर्ट, सहरी वन र नयाँ बस्ती निर्माणसमेत समावेश गरिएको छ ।
पूर्वमुख्यमन्त्री कार्कीले भने, ‘विकास, सुरक्षा र समृद्धि सँगै लान केशलिया करिडोर महत्वपूर्ण हुनेछ । यदि समयमै काम अगाडि बढाइयो भने यसले विराटनगर उपत्यकाको स्वरूप नै परिवर्तन गर्न सक्छ ।’ स्थानीयवासीले सिंघिया नदी नियन्त्रण पनि सँगै अगाडि बढाउन माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण