टिबी शाह स्मृति यु—१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता : पहिलो उपाधि मधेसलाई

समाचार सारांश
- वीरेन्द्रनगरमा सम्पन्न १६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले बागमतीलाई ७ विकेटले हराउँदै उपाधि जित्यो।
- फाइनलमा मधेसले बागमतीलाई हराएर समूह चरणमा व्यहोरेको हारको बदला लियो, जसमा आयान मुखिया र सन्तु मण्डलको महत्त्वपूर्ण योगदान रह्यो।
- प्रतियोगिता नेपाल क्रिकेट संघको आयोजना, कर्णाली प्रादेशिक क्रिकेट संघको सहआयोजना र सुर्खेत जिल्ला क्रिकेट संघको व्यवस्थापनमा सम्पन्न भयो।
सुर्खेत । वीरेन्द्रनगरमा भएको १६ वर्षमुनिको टिबी शाह स्मृति प्रथम राष्ट्रिय क्रिकेट प्रतियोगिताको समूह चरणमा व्यहोरेको हारको बदलासँगै मधेस प्रदेशले पहिलो ऐतिहासिक उपाधि जित्न सफल भएको छ ।
कालुंगचोक मैदानमा शनिबार भएको फाइनलमा बागमतीलाई ७ विकेटले हराउँदै मधेसले समूह चरणमा बाग्मतीसँग व्यहोरेको ३७ रनको बदलासँगै उपाधि पनि हात पार्न सफल भएको हो ।
टस हारे पनि पहिला ब्याटिङको निम्ता पाएको बागमतीले निर्धारित ५० ओभरको खेलमा जम्मा ३३ ओभर मात्र खेल्दा आप्नो सबै १० विकेट गुमाउँदै १ सय १२ को सामान्य स्कोर बनायो ।
बागमतीका लागि ओपनरद्वय सूर्यांशु कोइरालाले ७ बलमा १० जोड्दा राजीव कोइरालाबाट क्याच आउट भएपछि ४० बल खेलेका प्रसिद्ध जैसी २५ रन बनाउँदै रोहन यादवबाट रन आउट भए ।
परिमार्जन यादवको बलमा सन्तु मण्डललाई क्याच थमाउँदै तेस्रो नम्बरका ब्याटर जोय थापा ६ रन जोडेर डग आउट फर्किँदा सलमान अलि मुसलमानबाट बोल्ड हुँदै चौथो नम्बरका शिवशक्ति महतो जम्मा २ रनमा आउट भए ।
२३ बलमा ४ रन जोडेका अभि थपलिया सलमानको बलमा सन्तु मण्डलबाट क्याच आउट भएपछि धर्मराएको बाग्मतीको पारीलाई मिडल अर्डरका रोहित ठाकुरले ४६ बलमा २२ तथा आशिष गुप्ताले १७ रन जोड्दै सम्हाल्ने प्रयास गरे ।
रोहन यादवले रोहितलाई एलबीडब्ल्यू तथा आशिषलाई बोल्ड गर्दै पवेलियन फर्काएपछि बाग्मतीका ब्याटिङ लाइन पनि खस्किँदै गयो ।
त्यसपछिका ब्याटरमध्ये राजेश बोहोरा १ तथा कमल शाहीले नटआउट ४ रन जोडे पनि सुशील साउँद र आशिक थापा रित्तो हात डग आउट फर्किन बाध्य हुँदा बाग्मतीले २१ रन अतिरिक्त पायो ।
जवाफी ब्याटिङमा उत्रिएको मधेसका लागि उपाधि दिलाउने पिल्लरका रूपमा रहेका ओपनर आयान मुखियाले ३३ बलको सामना गर्दै नटआउट २२ तथा पाँचौँ अर्डरका सन्तु मण्डलले २२ बलमा ४३ रनको महत्वपूर्ण योगदान दिए ।
आयानसँगै ओपनिङमा आएका सुशान्त सिंह १५ बलमा १२ रन बनाएको अवस्थामा प्रसिद्ध झाको बलमा टपेन्द्र विष्टलाई क्याच थमाउँदै डग आउट फर्किएपछि परिमर्जन यादव पनि ४ रन मात्र जोड्दा प्रसिद्धकै धरापमा परे ।
लगत्तै माहि यादव पनि जम्मा ४ रनको स्कोरमा आउट भएपछि पारी सम्हालेका सन्तुले टिमलाई जीतसम्म पुर्याए।
नेपाल क्रिकेट सङ्घ (क्यान) को मुख्य आयोजना, कर्णाली प्रादेशिक क्रिकेट सङ्घको सहआयोजना तथा सुर्खेत जिल्ला क्रिकेट सङ्घको व्यवस्थापनमा कर्णालीमा पहिलो पटक क्रिकेटको राष्ट्रिय प्रतियोगिता भएको हो ।
जेठ १९ गतेदेखि वीरेन्द्रनगरमा सञ्चालित प्रतियोगितामा सात वटा प्रदेशका टीमहरुको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलले गर्यो इरानी रक्षा मन्त्रालयमाथि आक्रमण
-
इरान इजरायल तनाव: सिरिया र जोर्डनको हवाई क्षेत्र बन्द
-
शाहरान तेल प्लान्टमा लागेको आगो नियन्त्रणमा लिने प्रयास जारी
-
मध्यविन्दु प्रादेशिक अस्पताल सय शय्यामा स्तरोन्नति
-
इरानको आक्रमणपछि हाइफामा क्षति छैन, पश्चिम गालिलिमा १४ घाइते
-
बङ्गलादेशमा व्यावसायिक रूपमा विद्युत् निर्यात सुरु: मन्त्री खड्का