आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय

विश्वविद्यालय सुधारका लागि शीर्ष नेतृत्वको प्रतिबद्धता आवश्यक छ : नैनसिंह महर

शनिबार, ३१ जेठ २०८२, २० : ३०
शनिबार, ३१ जेठ २०८२

समाचार सारांश

  • नेपाली कांग्रेसका नेता नैनसिंह महरले शिक्षा प्रणाली सुधारका लागि राजनीतिक दलका शीर्ष नेतृत्वको प्रतिबद्धता आवश्यक रहेको बताए।
  • उनले विश्वविद्यालयका पदाधिकारी नियुक्ति खुला प्रतिस्पर्धाबाट हुनुपर्ने र शिक्षामा दलीयकरण रोक्न शीर्ष नेताहरूको प्रतिबद्धता आवश्यक रहेको उल्लेख गरे।
  • महरले विश्वविद्यालयको स्वायत्तता र प्राध्यापकहरूको मर्यादा कायम राख्न आवश्यक रहेको बताउँदै यसका लागि प्राध्यापकहरूको व्यवहार पनि सङ्लो हुनुपर्ने धारणा राखे।

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले विश्वविद्यालय र समग्र शिक्षा प्रणाली सुधारका लागि राजनीतिक दलहरूका शीर्ष नेतृत्वको प्रतिबद्धता आवश्यक रहेको बताएका छन्। नेपाल पब्लिक क्याम्पस सङ्घले ललितपुरमा आयोजना गरेको सामुदायिक क्याम्पसहरूको दिगोपन र उत्कृष्टता सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै महरले सबै दलको शीर्ष नेतृत्वको सामूहिक प्रतिवद्धताबाट मात्र शिक्षा क्षेत्रमा अपेक्षित सुधार हुने बताएका हुन्।

‘शिक्षामा मनग्य लगानी गरेका देशहरूमा पनि आसातित प्रगति हासिल गर्न सकिएको छैन। हाम्रोमा त लगानी नै कम छ। यहीबिच नेपालका विश्वविद्यालयको कुरा गर्दा म नेविसंघको अध्यक्ष हुँदा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वविद्यालयका पदाधिकारीहरूको नियुक्ति खुला प्रतिस्पर्धाबाट हुनुपर्छ भनेर माग गरेका थियौँ। त्यो माग सम्पूर्ण रूपले कार्यान्वयन नभए पनि बामे सरेर अगाडि बढेको छ’ उनले भने।

कुनै विषय पनि राजनीतिबाट सम्पूर्ण रूपमा अलग त हुनै सक्दैन तर विश्वविद्यालयको शिक्षामा चरम दलियकरण हुनु हुँदैन भन्नेमा भने आफू प्रस्ट रहेको महरले बताए। 

‘शिक्षा भित्रको दलीयकरण रोक्न पार्टीका शीर्ष नेताहरूको प्रतिवद्धतासँगै कार्यान्वयन आवश्यक छ ।  विद्यार्थी सङ्घ सङ्गठनका नेताहरू पनि पार्टीका नेता हुन्। प्राध्यापकका सङ्घ सङ्गठन पनि दलसँग आबद्ध छन्। अन्य कर्मचारी युनियन पनि कुनै न कुनै रूपमा दलसँगै आबद्धता हुन्छ। विश्वविद्यालयका प्रमुख पदहरूमा नियुक्तिका प्रावधान, करिकुलम निर्माण र पूर्वाधार निर्माणको विषय पनि राजनीतिको संलग्नता प्रत्यक्ष,अप्रत्यक्ष रूपमा त हुन्छ नै । राजनीतिको यस्तो संलग्नता हुँदा पनि विश्वविद्यालयलाई दलीय करणबाट टाढा राख्न सबै दलका शीर्ष नेताहरूले एक ठाउँमा उभिएर प्रतिबद्धता व्यक्त गरेर कार्यान्वयन गर्नै पर्छ,’ महरले भने।

विश्वविद्यालयको स्वायत्तता र प्राध्यापकहरूको प्राज्ञिक मर्यादा कायम राख्न अति आवश्यक हुँदाहुँदै पनि त्यसका लागि प्राध्यापकहरूको व्यवहार पनि प्राज्ञिक मर्यादा राख्ने तरिकाको सङ्लो हुन आवश्यक रहेको उनले बताए । कमजोरीका सबै प्वाल टाल्दा मात्र विश्वविद्यालयको शिक्षा प्रणालीमा सुधार गर्न सकिने उनले धारणा राखे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप