इजरायली आक्रमणपछि अमेरिकासँगको आणविक वार्ता ‘अर्थहीन’ : इरान

समाचार सारांश
- इरानले इजरायलको आक्रमणका कारण ओमानमा हुने भनिएको आणविक वार्तामा सहभागी हुने/नहुने निर्णय गरेको छैन।
- इरानले अमेरिकाको समर्थनमा इजरायलले आक्रमण गरेको आरोप लगाउँदै वार्ताको औचित्य नरहेको जनाएको छ।
- सन् २०१५ को आणविक सम्झौताबाट अमेरिका बाहिरिएपछि इरानले प्रतिबद्धता तोडेको र वार्ताको भविष्य अनिश्चित बनेको छ।
तेहरान । इरानले अमेरिकी समर्थनमा इजरायलले गरिरहेको आक्रमणका कारण आइतबार ओमानमा तय गरिएको आणविक वार्तामा सहभागी हुने वा नहुनेबारे अझै निर्णय नभएको जनाएको छ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले शनिबार राज्य सञ्चालित टेलिभिजनमा भने, ‘अमेरिकाको सहमति र समर्थनमा इजरायली आक्रमण भएकाले अहिलेको अवस्थामा अमेरिका सँगको वार्ता निरर्थक देखिन्छ।’
उनका अनुसार, इजरायली आक्रमणमा वरिष्ठ सैन्य अधिकारी र आणविक वैज्ञानिकहरू मारिएको घटनापछि वार्ता जारी राख्नुको औचित्य नरहेको शुक्रबार नै उनले घोषणा गरिसकेका थिए। हालसम्म वार्ताको छैटौँ चरणमा सहभागी हुनेबारे अन्तिम निर्णय गरिएको छैन।
वार्ता किन भइरहेको छ ?
सन् २०१५ मा अमेरिका, इरान र अन्य विश्व शक्तिहरूबिच भएको आणविक सम्झौताले इरानको आणविक कार्यक्रमलाई सीमित गर्दै त्यसको सट्टामा प्रतिबन्धहरू हटाउने सहमति भएको थियो। तर, तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०१८ मा उक्त सम्झौताबाट अमेरिका बाहिरिएको घोषणा गर्दै इरानमाथि फेरि कडा आर्थिक प्रतिबन्ध लगाएका थिए।
त्यसपछि इरानले सम्झौताका महत्त्वपूर्ण प्रतिबद्धताहरू तोड्दै अत्याधुनिक युरेनियम समृद्ध गर्ने सेन्ट्रिफ्यूजहरू जडान गरेको छ। इरानले भने आफ्नो आणविक कार्यक्रम पूर्ण रूपमा नागरिक प्रयोजनका लागि मात्र रहेको र उसले परमाणु हतियार बनाउन खोजेको दाबी अस्वीकार गर्दै आएको छ। तर, अमेरिका लगायत अन्य मुलुकहरू यो दाबीप्रति शङ्का गर्छन्।
गत हप्ता अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) ले इरानले २० वर्षपछि पहिलोपटक आणविक अप्रसारसम्बन्धी प्रतिबद्धता उल्लंघन गरेको औपचारिक रूपमा घोषणा गरेको थियो।
इजरायलले हालै सुरु गरेको सैन्य कारबाहीमा आफूले इरानका सैन्य अड्डा र आणविक केन्द्रहरूलाई लक्षित गरिरहेको बताएको छ। तेहरानका अनुसार यी आक्रमणहरू अमेरिकाको सहमति बिना सम्भव थिएनन्, र यसैले अमेरिका सँगको वार्ता अहिलेको अवस्थामा अप्रासङ्गिक भएको हो। अब वार्ताको भविष्य के हुन्छ भन्ने कुरा तेहरानको अन्तिम निर्णयमा भर पर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश : बजेटको आकार ३७ अर्ब पुग्न सक्ने अनुमान
-
पूर्वाधारको बजेटमा सत्ता पक्षको रजाइँ: ओली र देउवाको क्षेत्रमा खन्याइयो
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
-
एकैस्थानमा एक हजार ७१७ जनाले रक्तदान गरेर नयाँ रेकर्ड कायम
-
केदारनाथ हेलिकप्टर दुर्घटना अपडेट : सबै यात्रुको मृत्यु
-
कोहलपुरका अव्यवस्थित बसोवासीलाई जग्गाधनी पुर्जा वितरण