अमेरिका र युके पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी

समाचार सारांश
- प्रहरीले आकर्षक तलबको प्रलोभनमा अमेरिका र युके पठाउने भन्दै रकम ठगी गर्ने २ जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा राज कुमार मानन्धर र ओम बहादुर खत्री रहेका छन्, जसले पीडितहरूबाट क्रमशः ३५ लाख ६९ हजार र ६ लाख ७५ हजार रुपैयाँ ठगी गरेका थिए।
- उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र वैदेशिक रोजगार विभागले पक्राउ गरी आवश्यक कारबाहीका लागि पठाएको छ।
काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका र युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका-१६ बस्ने नुवाकोट विदुर नगरपालिका-४ घर भएका ५१ वर्षीय राज कुमार मानन्धर र काठमाडौँ महानगरपालिका-१४ बस्ने रुपन्देही तिलोत्तमा नगरपालिका-२ घर भएका ४० वर्षीय ओम बहादुर खत्री रहेका छन् ।
पक्राउ मध्ये राज कुमारले अमेरिका पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ३५ लाख ६९ हजार रुपैयाँ र ओम बहादुरले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख ७५ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राज कुमारलाई काठमाडौँ महानगरपालिका-१६ बाट बिहीबार र ओम बहादुरलाई काठमाडौँ महानगरपालिका-१२ बाट शुक्रबार पक्राउ गरेको हो ।
पक्राउ मध्ये राज कुमारलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ र ओम बहादुरलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।