अमेरिकाको मिनेसोटामा डेमोक्रेटिक सांसदको गोली हानी हत्या, एक घाइते

समाचार सारांश
- मिनेसोटामा अज्ञात बन्दुकधारीले डेमोक्र्याटिक पार्टीका दुई सांसदमाथि गोली चलाउँदा एक जनाको मृत्यु भयो र अर्का एक घाइते भए।
- घटना अमेरिकी राष्ट्रपति ट्रम्पको नीतिको विरोधमा प्रदर्शनको तयारी भइरहेका बेला भएको थियो। आक्रमणकारीको खोजी जारी छ।
- गभर्नर वाल्जले यसलाई लक्षित राजनीतिक हिंसाको कार्य भनेका छन् र ट्रम्पले दोषीलाई कारबाही गर्ने बताएका छन्।
वासिङ्टन। अमेरिकाको मिनेसोटा राज्यमा शनिबार बिहान एक बन्दुकधारीले डेमोक्र्याटिक पार्टीका दुई सांसदमाथि गोली चलाउँदा एक सांसदको मृत्यु भएको छ भने एक सांसद्सहित अन्य एक जना घाइते भएका छन् ।
रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिको विरोधमा हजारौं मानिस सडकमा उत्रने तयारी गरिरहेका बेला संयुक्त राज्य अमेरिकामा गहिरो राजनीतिक विभाजनको समयमा गोली हानाहान भएको हो।
सन्दिग्ध आक्रमणकारी अझै फरार रहेको र व्यापक खोजी कार्य जारी रहेको अधिकारीहरूले बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र महान्यायाधिवक्ता पाम बोन्डीले ‘भयानक हिंसा’ को निन्दा गर्दै दोषीलाई ’कानूनको पूर्ण दायरामा’ ल्याउन मुद्दा चलाइने बताएका छन् ।
राज्यका पूर्व सभामुख मेलिसा होर्टम्यान र उनका पति मार्कको मिनियापोलिस नजिकैको आफ्नै घरमा आक्रमण भएको गभर्नर टिम वाल्जले पत्रकार सम्मेलनमा जानकारी दिए।
“यो लक्षित राजनीतिक हिंसाको कार्य हो,” वाल्जले पत्रकारसँग भने । उनले भने, “शान्तिपूर्ण बहस हाम्रो लोकतन्त्रको जग हो । हामी हिंसा वा बन्दुकको नालबाट हाम्रा मतभेदहरूको समाधान गर्दैनौँ।”
मिनेसोटा अपराध नियन्त्रण विभागका सुपरिटेन्डेन्ट ड्रू इभान्सका अनुसार हफम्यान र उनकी श्रीमतीलाई पहिले गोली हानिएको थियो र प्रहरीले अनुसन्धान गर्दा होर्टम्यान र उनका पतिलाई करिब ९० मिनेटपछि गोली हानिएको थियो ।
होर्टम्यानको निवास नजिकै अधिकारीहरूसँग गोली हानाहान हुँदा सन्दिग्ध बन्दुकधारी भाग्न सफल भएको इभान्सले पत्रकारहरूलाई बताए । उनले भने, “हामी अहिले सक्रिय रूपमा ती व्यक्तिको खोजी गरिरहेका छौँ ।”
एबिसी न्यूजले अनुसन्धानमा संलग्न स्रोतलाई उद्धृत गर्दै भनेको छ, “दुवै घटनामा आक्रमणकारीले कानुन कार्यान्वयन गर्ने अधिकारीको भेष धारण गरेको अधिकारीहरूले अनुमान गरेका छन्।”
स्थानीय टिभी स्टेशन केएसटीपीका अनुसार प्रहरीले खैरो केश भएका, निलो सर्ट र निलो पाइन्टमाथि कालो बडी आर्मर लगाएका एक गोरा व्यक्तिको खोजी गरिरहेको छ ।
गत जनवरीमा ट्रम्प ह्वाइट हाउस फर्केपछि संयुक्त राज्य अमेरिकी समुदाय गहिरो रूपमा विभाजित भएको छन् ।
रिपब्लिकन राष्ट्रपतिले आफ्नो कठोर निर्वासन नीति, विश्वविद्यालय र मिडियामाथिको आक्रमण र कार्यकारी शक्तिको सीमाको उल्लङ्घन गरेको भन्दै डेमोक्र्याटिकको आलोचना गरेका छन् ।
वाल्जले भने, “हामी यस कठिन क्षणमा, मिनेसोटामा भएको यो दुःखद कार्यले हामी सबैलाई सम्झाउने काम गर्नुपर्छ। “लोकतन्त्र र काँग्रेसको हलमा, राज्यका घरहरूमा, स्कुल समितिहरूमा हुने बहसहरू हाम्रा मतभेदहरूलाई शान्तिपूर्ण रूपमा समाधान गर्ने र समाजलाई राम्रो ठाउँमा सार्ने एक तरिका हुन् । (रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेवा खोलाको पुल भाँचिएको बारे छानबिन समिति गठन
-
माओवादीले छेपारो झैँ रङ फेर्यो, सदन चल्न दिँदैनौँ : राप्रपा
-
नेपाल सम्मिलित त्रिकोणात्मक टी–२० शृङ्खला आजदेखि सुरु हुँदै
-
माओवादीले धोका दियाे, आन्दोलन जारी रहन्छ: रास्वपा
-
संसद् अवरोध गरेर जनताका मुद्दाबाट पन्छिने रास्वपाको कार्यशैलीमा अल्झिएर बस्दैनौँ : एमाले
-
भिजिट भिसा प्रकरण : अख्तियारलाई मोबाइलको पासवर्ड दिन सहसचिव भट्टराईको आनाकानी