बजेटमा गरिएको राजश्व प्रस्ताव चुनौतीपूर्ण : एमाले सांसद आचार्य

समाचार सारांश
- एमाले सांसद भीमप्रसाद आचार्यले बजेटको राजश्व प्रस्ताव चुनौतीपूर्ण रहेको बताए। उनले बजेट यथार्थपरक, समस्या केन्द्रित र समाधानमुखी रहेको दाबी गरे।
- आचार्यले निजी क्षेत्रमैत्री, प्रविधिमैत्री र यथार्थपरक बजेटको प्रयास भएको बताए, तर राजस्व संकलन चुनौतीपूर्ण रहेको उल्लेख गरे।
- उनले भूराजनीतिक परिस्थितिका कारण आपूर्ति शृङ्खला, मूल्यवृद्धि र निर्यातमा नकारात्मक प्रभाव पर्न सक्ने बताए, जसले राजस्व संकलनमा चुनौती थप्नेछ।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेका सांसद भीमप्रसाद आचार्यले बजेटमा गरिएको राजश्वको प्रस्ताव चुनौतीपूर्ण रहेको बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद आचार्यले बजेट तुलनात्मक रूपमा यथार्थपरक, समस्या केन्द्रित र समस्या पहिचान गर्दै समाधान केन्द्रित रहेको दाबी गरेका हुन् ।
अर्थतन्त्रमा सुधार र वर्तमान आर्थिक परिस्थिति अनुकूल बजेट ल्याउने प्रयत्न गरेको भन्दै सांसद आचार्यले निजी क्षेत्रको समस्या समाधान उन्मुख र लगानीमैत्री, प्रविधिमैत्री र यथार्थपरक बजेटको रूपमा प्रस्तुत हुन खोजेको उनको भनाई छ । उनले विगतमा लगानी भइरहने तर प्रतिफल नआउने विगतको अवस्थालाई चिर्दै छिटो आयोजना सम्पन्न गरेर प्रतिफल लिनेतिर बजेट केन्द्रित भएको दाबी गरे ।
अहिलेको भूराजनीतिक परिस्थितिका कारण आपूर्ति शृङ्खला, मूल्यवृद्धि र निर्यातजन्य कुराहरूमा प्रभाव पर्ने र आयआर्जनका कुराहरूमा नकारात्मक प्रभाव पर्न सक्ने उनले जिकिर गरे । उनले बजेटका विशेषताअनुरूप कार्यान्वयन र राजश्व सङ्कलन गर्ने अथवा स्रोत जुटाउने विषय भने चुनौतीका रूपमा रहेको बताए । यस्तो छ उनको भनाई छ :
बजेटमा अर्थमन्त्रीले स्रोत कसरी जुटाउने भनेर भन्नुभएको छ, राजश्वतर्फ १३ खर्ब १५ अर्ब जुटाउने भन्नुभएको छ । र राजश्वबाट प्रदेश र स्थानीय तहमा हस्तान्तरण हुने १ खर्ब ६५ अर्ब जोड्दा जम्मा राजश्व १४ खर्ब ८० अर्ब उठाउनुपर्ने प्रस्ताव छ । त्यसमा वैदेशिक अनुदानमा ५३ अर्ब ४५ करोड, वैदेशिक ऋणमा २ खर्ब ३३ अर्ब ६६ करोड, आन्तरिक ऋणमा ३ खर्ब ६२ अर्ब भन्ने छ । यो जुन खालको प्रस्ताव छ यो अत्यन्तै चुनौतीपूर्ण छ ।
बजेट तुलनात्मक रूपमा यथार्थपरक छ । समस्या केन्द्रित, समस्या पहिचान गरेर समाधान केन्द्रित छ । यो अर्थतन्त्रमा सुधार गर्ने र अहिलेको आर्थिक परिस्थिति अनुकूल बजेट ल्याउने प्रयत्न गरेको छ । निजी क्षेत्रको समस्या समाधान गर्न उन्मुख रहेको छ । र, लगानीमैत्री, प्रविधिमैत्री, यथार्थ परक बजेटको रूपमा प्रस्तुत हुन खोजेको छ ।
विकास आयोजनाहरूलाई केन्द्रित गर्ने, नयाँ ढङ्गले पुनर्संरचित गर्ने र आयोजना केन्द्रित भएर प्रतिफल आउने हिसाबले अनन्त ढङ्गले एउटा आयोजना चलिरहने लगानी भइरहने प्रतिफल केही पनि नहुने जुन विगतको अवस्था थियो त्यसमा आयोजना केन्द्रित भएर जाने लगानी केन्द्रित गर्ने र छिटो आयोजना सम्पन्न गरेर त्यसको प्रतिफल लिनेतिर यो बजेट उन्मुख छ । र, यो आयोजनालाई प्राथमिकीकरण गर्ने जुन प्राथमिकता उन्मुख छ यसले प्राथमिकता तोकेर आयोजना सम्पन्न गर्न प्रयत्न गर्न खोजेको छ त्यो दिशाउन्मुख छ । र, उद्यम विकास मैत्री बजेटको रूपमा यो छ । यस हिसाबले बजेटका यी केही महत्त्वपूर्ण विशेषताहरू छन् ।
यी विशेषताहरूलाई कार्यान्वयन गर्न जुन हिसाबले राजश्व सङ्कलन गर्ने या स्रोत जुटाउने प्लानिङको योजना बनाएका छौँ त्यसमा ठुलो चुनौती छ । अहिलेको भूराजनीतिक परिस्थिति, क्षेत्रीय द्वन्द्वहरूको अवस्था छ, चर्किँदै गएको अवस्था छ । भर्खरै अस्ति सुरु भएको इजरायल–इरानबिचको द्वन्द्वबाट हिजो मात्र ११ प्रतिशत भन्दा बढी कच्चा तेलको मूल्यवृद्धि भएको छ र यसले आपूर्ति शृङ्खलालाई प्रभावित गर्ने, मूल्यवृद्धि गर्ने र निर्यातजन्य कुराहरूलाई दुस्प्रभावित पार्ने, आयआर्जनका कुराहरूमा नकारात्मक प्रभाव पर्ने खालको अवस्था सिर्जना भएको छ । त्यस कारण अहिलेको भूराजनीतिक अवस्थामा राखिएको उद्देश्य चुनौतीपूर्ण छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलथल जङ्गलमा भेटियो दुर्लभ कछुवा
-
सुदूरपश्चिम प्रदेशको बजेट: फेरि पनि कर्मकाण्डमै सीमित
-
इरान–इजरायल द्वन्द्वमा अमेरिका सामेल हुनसक्छ : ट्रम्प
-
अहमदावाद विमान दुर्घटना : दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो
-
झाडापखाला, ज्वरो र सर्पदंशले भरिए अस्पतालका आकस्मिक कक्ष
-
कोशी प्रदेशः बजेट वक्तव्यमा दुई थरी दाबी, कुन पत्याउने ?