शुक्रबार, ०६ असार २०८२
ताजा लोकप्रिय
खेलकुद

हचुवाको भरमा बन्यो एन्फाको क्यालेन्डर

५० प्रतिशत प्रतियोगिता घटाएर नयाँ क्यालेन्डर निकाल्ने तयारी
बिहीबार, ०५ असार २०८२, १३ : ००
बिहीबार, ०५ असार २०८२

समाचार सारांश

  • एन्फाले धुलिखेलमा साधारणसभा गर्‍यो, जसमा २०२५/२०२६ को वार्षिक बजेट र क्यालेन्डर पारित गरियो।
  • क्यालेन्डरमा उल्लेखित धेरै प्रतियोगिताहरू निर्धारित समयमा सुरु भएनन्, जसले गर्दा एन्फाले नयाँ क्यालेन्डर बनाउने योजना बनाएको छ।
  • एन्फाका अनुसार प्रतियोगिताहरू नहुनुको कारण अन्तर्राष्ट्रिय क्यालेन्डर जुधेको र तयारी नपुगेको हो, तर सचिवालयको हतारमा क्यालेन्डर बनाउँदा समस्या भएको स्वीकारेको छ।

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले वैशाख २६ गते धुलिखेलमा ठुलो रमझमका साथ साधारणसभा सम्पन्न गर्‍यो । साधारणसभाको मुख्य उद्देश्य भनेको सन् २०२५/२०२६ को वार्षिक बजेट पारित गर्ने र एन्फाको वार्षिक क्यालेन्डर पारितसँगै सार्वजनिक गर्ने रहेको थियो । 

एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङले यो आर्थिक वर्ष फुटबल मय बनाउने भन्दै भाषण पनि गरे । तर, एन्फा सचिवालयले निकालेको क्यालेन्डरको विषयमा अध्यक्ष नेम्वाङ आफै पनि धेरै जानकार थिएनन् । 

साधारणसभामा क्यालेन्डर पारित गर्नुको मुख्य उद्देश्य नेपाली फुटबल चलायमान भएको आम फुटबल प्रेमीमाझ देखाउनु थियो । तर, यही कुराले एन्फाले भविष्यमा उल्टै नोक्सान बेहोर्नु पर्न सक्छ विषयमा भने कसैले चासो राखेनन् । 

अझ रमाइलो कुरा, कुनै सुरसार नभएको प्रतियोगितालाई पनि मिति राखेर क्यालेन्डरमा सार्वजनिक गरिएको थियो । अप्रिल २७ देखि १५ मे सम्म फुटसल लिग क्वालिफायर्स (पहिलो राउन्ड) आयोजना हुने भनिएको थियो । जुन प्रतियोगिता हालसम्म भएको नै छैन । 

त्यस्तै २७ मेदेखि ५ जुनसम्म फुटसल लिगको दोस्रो राउन्डको क्वालिफायर हुने भनिएको थियो । उक्त प्रतियोगिता पनि क्यालेन्डरमा मात्र सीमित भयो । 

वैशाख २६ गते सम्पन्न साधारणसभाले जेठ ५ गते एन्फा प्रेसिडेन्ट लिग आयोजना गर्ने तालिका राखेको थियो । जुन तालिका साधारणसभा सकिएको मात्र १० दिनभित्र आयोजना गर्ने योजना थियो । 

जेठ ५ देखि २४ गतेसम्म आयोजना गर्ने भनिएको प्रतियोगिताको एन्फाले कुनै तयारी गरेको थिएन । हचुवाको भरमा साधारणसभाले क्यालेन्डर ताली बजाएर पारित गर्न भ्यायो । अहिले असार महिना पहिलो सातासम्म पनि उक्त प्रतियोगिताको कुनै सुरसार छैन ।  

एनफाले नै सुरु गर्ने भनेको अर्को प्रतियोगिता सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोट जेठ १८ देखि साउन १६ सम्म हुने तालिका रहेको थियो । उक्त प्रतियोगिताको पनि कुनै सुरसार देखिएको छैन । 

त्यस्तै एन्फाले यू–१४, यू–१७ पुरुष र महिलाको इन्टर स्कुल फुटबल प्रतियोगिताको लागि वैशाख १० देखि जेठ १० गतेसम्म प्रतियोगिताको मिति राखिएको थियो । उक्त प्रतियोगिता पनि हालसम्म हुन सकेको छ । 

  • के भन्छ एन्फा ? 

फिफा र एएफसीको कन्ट्रोल फन्डिङमा रहेको एन्फाले लामो समय लगाएर प्रतियोगिता पारित गरेको थियो । अहिले भने एन्फाले प्रतियोगिताहरू नहुनुको कारण अन्तर्राष्ट्रिय क्यालेन्डर जुधेको र एन्फा स्वयंको तयारी राम्रोसँग नपुगेको बताएको छ । 

indraman tuladhar

अब क्यालेन्डर नै हेरफेर गर्ने योजना रहेको एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले बताए । उनले प्रतियोगिताहरूको बजेट एएफसी र फिफाले पारित गरेकाले पुनः पारित गर्नु पर्ने बाध्यता रहेको उनको भनाइ छ । 

‘सबै तयारी सोचे अनुसार हुन सकेन । प्रतियोगिताहरुका लागि फिफा र एएफसीले बजेट पारित गरेर पठाएको अवस्था थियो । तर, समयमै प्रतियोगिता हुन नसक्दा क्लबहरुसँग छलफल गरेर नयाँ क्यालेन्डर सार्वजनिक गर्नेछौँ,’ तुलाधरले रातोपाटीसँगको कुराकानीमा भने । 

अन्तर्राष्ट्रिय क्यालेन्डर जुधेका कारण पनि प्रतियोगिता समयमा नै हुन नसकेको उनको भनाई छ । तर, विद्यालय स्तरको खेलकुद प्रतियोगिता, फुटसल छनोट र एन्फा प्रेसिडेन्ट लिगका लागि कुनै अन्तर्राष्ट्रिय क्यालेन्डर जुध्ने तालिका नै हुँदैन । सामान्यतया विद्यालय खेलकुद र एन्फा प्रेसिडेन्ट लिगमा सहभागी हुने टिमले अन्तर्राष्ट्रिय स्तरमा सहभागिता जनाउँदैनन् । 

अधिकृत तुलाधरले क्यालेन्डर हतारोमा सचिवालयले सार्वजनिक गरेको कुरा भने स्वीकार गरेका छन् । उनले भने जस्तै प्रतियोगिता हचुवाको भरमा सार्वजनिक गर्दा त्यसको असर भने खेलाडी र क्लबलाई पर्न गयो । 

anfa congress

  • सचिवालय हाबी हुँदा एन्फालाई नोक्सान 

एन्फा कार्यसमिति बैठकमा वार्षिक क्यालेन्डर सार्वजनिक गर्ने कुरा चल्छ । तर, एन्फा सचिवालयले कार्यसमिति बैठक पूर्व नै एएफसी र फिफाको सहमतिमा वार्षिक क्यालेन्डर निकालिसेको हुन्छ । एन्फा कार्यसमितिले कुनै तयारी बिना नै उक्त क्यालेन्डरमा सहमति जनाउँछ । 

यसपटक पनि धुलिखेलमा आयोजित साधारणसभामा एक पक्षले क्यालेन्डरको विषयमा असहमति जनाएका थिए । त्यति बेला प्रतियोगिताको तयारी नै नगरेर क्यालेन्डरमा समावेश गरेको भन्दै आलोचना भएको थियो ।  यसका बाबजुद एन्फाको अधिकांश नेतृत्वले सहमति जनाए । त्यसपछि बहुमत सदस्यले क्यालेन्डरलाई पनि पारित गरे । सचिवालयले कुनै तयारी नगरेर क्यालेन्डर निकाल्दा पनि एन्फा नेतृत्व मौन बसेको थियो । 

  • ५० प्रतिशत प्रतियोगिता कटाएर नयाँ क्यालेन्डर निकाल्ने तयारी 

एन्फाले प्रतियोगिताको समय परिवर्तन गरेर नयाँ क्यालेन्डर निकाल्ने योजना बनाएको छ । त्यसै अनुसार अबको केही दिनमा नयाँ क्यालेन्डर निकाल्ने योजना भएको अधिकृत तुलाधरले रातोपाटीलाई भने । 

यता, धुलिखेलको साधारणसभामा पारित भएको क्यालेन्डरबाट ५० प्रतिशत प्रतियोगिताहरू कटाएर नयाँ क्यालेन्डर निकाल्ने योजना भएको एन्फा सचिवालयका एक सदस्यले रातापोटीलाई जानकारी दिए । 

‘प्रतियोगिताको क्यालेन्डर पहिले नै बिना तयारी सचिवालयले निकालेको थियो । अहिले नयाँ क्यालेन्डर निकाल्नु पर्ने बाध्यता आएको छ । अब नयाँ क्यालेन्डर निकाल्दा ५० प्रतिशत प्रतियोगिताहरू समावेश हुने छैनन्,’ उनले नाम नखुलाउने सर्तमा रातोपाटीलाई भने । 

  • अन्य के–के छन् एन्फाको क्यालेन्डरमा प्रतियोगिताहरू ? 

एन्फाको क्यालेन्डर अनुसार राष्ट्रिय लिग साउन १९ देखि असोज १० सम्म, ‘सी’ डिभिजन लिग पुस ६ देखि फागुन २५ सम्म हुनेछ । एन्फाले महिला लिग भदौमा, सहिद स्मारक ‘ए’ डिभिजन लिग २०८२ पुस १ देखि २०८३ जेठ ३१ सम्म, ‘बी’ डिभिजन लिग २०८२ फागुन २० देखि २०८३ वैशाख ३१, एन्फा यू–१६ र यू–१८ लिग साउनदेखि कात्तिकसम्म गर्ने योजना बनाएको छ । 

फ्रेन्चाइजी लिग नेपाल सुपर लिग, ‘ए’ डिभिजन लिग र महिला फ्रेन्चाइज लिग गर्ने योजना एन्फाले बनाएको छ । क्यालेन्डर अनुसार नेपाली पुरुष टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण, एएफसी एसिया कप छनोट, साफ यू–१९ च्याम्पियनसिप, साफ–१७ च्याम्पियनसिप, एएफसी यू–२३ एसियन कप प्रतियोगिताहरू छन् । यता महिला टोलीको हकमा एसिया कप छनोट, साफ यू–२० च्याम्पियनसिप, यू–२० एएफसी एसिया कप छनोट र साफ यू–१७ च्याम्पियनसिपमा रहेका छन् । 

anfa_calender anfa_domastic

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप