शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
इमरानको आरोह-अवरोह

क्रिकेटका हिरो इमरान खानको उत्थानदेखि पतनसम्मको यात्रा

शुक्रबार, ०६ असार २०८२, १८ : १६
शुक्रबार, ०६ असार २०८२

सारांश

  • इमरान खान, पाकिस्तानका चर्चित व्यक्ति, हाल विभिन्न मुद्दामा जेलमा छन्।
  • उनले क्रिकेटबाट करियर सुरु गरी, १९९२ मा पाकिस्तानलाई विश्वकप दिलाए।
  • राजनीतिमा प्रवेश गरेपछि प्रधानमन्त्री बने, तर पछि सत्ताबाट हटाइए र अहिले जेलमा छन्।

काठमाडौँ । इमरान खान पाकिस्तानका एक बहुपरिचित व्यक्ति हुन् । क्रिकेट, राजनीति र सामाजिक सेवामा महत्त्वपूर्ण भूमिका खेलेका उनलाई पाकिस्तानको इतिहासमै सबैभन्दा चर्चित र प्रभावशाली व्यक्तिहरूमध्ये एक मानिन्छ ।

तर, उनै खान यतिबेला विभिन्न अभियोगमा कारागारमा छन् । पाकिस्तानी सरकारले उनीविरुद्ध भ्रष्टाचार, गोप्य कागजात चुहावट, विवाहसम्बन्धी लगायत १०० भन्दा बढी मुद्दा लगाएको  छ । जुन मुद्दामा उनी सन् २०२३ अगस्टदेखि निरन्तर जेलमै छन् । 

इमरान पाकिस्तानमा रुचाइनुको पछाडिको प्रमुख कारण क्रिकेट नै हो । १६ वर्षको उमेरमा सन् १९७१ मा क्रिकेटको यात्रा सुरु गरेका इमरानले सन् १९७४ मा इङ्ल्यान्डविरुद्ध खेल्दै एकदिवसीय क्रिकेट यात्राको सुरुवात गरेका थिए । 

यस्तै उनकै कप्तानीमा पाकिस्तानले सन् १९९२ को विश्वकपको उपाधि उपाधि जितेको थियो ।   त्यतिबेला इङ्ल्यान्डलाई २२ रनले हराउँदै इमरानले पाकिस्तानका लागि पहिलो पटक विश्वकपको उपाधि दिलाउन सफल भएका थिए । उक्त समयमा इमरानको चर्चा यति धेरै चुलियो कि क्रिकेट मैदानका इमरान विश्वभर नै परिचित भए । इमरानले उक्त खेलमा ७२ रन बनाउनुका साथै एक विकेट पनि लिएका थिए । 

imran photo

सन् १९५२ मा पाकिस्तानको लाहोरमा जन्मेका इमरान सानैदेखि क्रिकेटको माहोलमा हुर्किएका थिए । इमरानका काकाका दुई छोरा दाइ जावेद बुर्की र माजिद खान विश्व क्रिकेटमा चर्चित नाम हो । उनीहरूकै छत्रछायामा इमरानले क्रिकेट खेल्न सुरु गरेका थिए । 

लाहोरको एचिसन कलेजमा प्रारम्भिक शिक्षा पूरा गरेका उनले बेलायतको रोयल ग्रामर स्कुल र वर्सेस्टरमबाट उच्च शिक्षा अध्ययन सकेका थिए । यस्तै इमरानले अक्सफोर्ड विश्वविद्यालयबाट राजनीति र अर्थशास्त्र पनि अध्ययन पूरा गरेका छन् । 

सन् १९८२ मा पाकिस्तानी क्रिकेट टोलीको कप्तानी सम्हालेका इमरानले देशलाई १९९२ मा विश्वकप दिलाएसँगै सोही वर्ष अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका थिए । उक्त समयमा पाकिस्तानी क्रिकेट मध्यम लयमा थियो । क्रिकेटमा पाकिस्तानलाई धेरै सफलता दिलाएका उनले झट्ट संन्यास घोषणा गरेका थिए । 

imran

  • संन्यासपछि सामाजिक कार्यको थालनी 

संन्यास लिएपछि इमरानले आफ्नो जीवन समाजसेवातर्फ लगाए । उनले पाकिस्तानमा समाजसेवाबाट एक क्यान्सर पीडितका लागि अस्पताल निर्माण गर्ने योजना बनाए । 

क्यान्सर अस्पतालबाट नै समाजसेवाको सुरुवात गर्नुपर्छ भन्ने भावना भने इमरानलाई आमा शौकत खानमको क्यान्सरका कारण मृत्यु भएपछि पलाएको थियो । इमरानले सन् १९९४ मा लाहोरमा ‘शौकत खानम मेमोरियल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर’को स्थापना गरे । 

समाजसेवामा आफ्नो बलियो उपस्थिति जनाउने लक्ष्यका साथ उनले ‘नमल कलेज’ को पनि स्थापना गरे । जुन नामल विश्वविद्यालयसम्म बन्न पुग्यो । 

cricket and pm

  • राजनीतिक यात्राः लामो संघर्ष र सफलता

क्रिकेट मैदानबाट उदाएका उनी समाजमा समाजसेवाबाट पनि उस्तै लोकप्रिय भएसँगै आफ्नो पखेडालाई थप फैलाए । अर्थात् उनले आफ्नो पाइला राजनीतितर्फ अघि सार्न योजना बनाए । सोहीअनुसार  उनले ‘भ्रष्ट राजनीतिक प्रणालीलाई चुनौती दिन राजनीतिमा जान चाहन्छु’ भन्दै पार्टी खोले । 

इमरानले सन् १९९६ मा ‘पाकिस्तान तहरीक–ए–इन्साफ’ (पीटीआई) नामक राजनीतिक दलको खोलेमन थिए । त्यतिबेला इमरानको राजनीतिक पार्टीको नारा ‘न्याय, मानवता र आत्मसम्मान’ रहेको थियो । 

तर, इमरानलाई राजनीतिक यात्रा सोचेजस्तो सजिलो थिएन । उनलाई यो नयाँ चुनौतीको विषय पनि थियो । सुरुको करिब १५ वर्षसम्म त उनको पार्टीले खासै सफलता पाउन सकेन । सन् २००२ को चुनावमा उनी एक्लै सांसद निर्वाचित भए ।

जम्मा एक सिट मात्र आएपछि इमरानलाई धेरैले एकल खेलाडीको पार्टी भनेर पनि उपमा दिन खोजे ।  पछि सन् २०११ मा उनको राजनीतिक यात्राले कोल्टे फेर्‍यो । पाकिस्तानका युवा र लाहोरका जनताहरू उनको भ्रष्टाचारविरोधी अभियानमा  आकर्षित हुन थाले । 

त्यसै समय उनले लाहोरमा एक विशाल र्‍यालीको योजना गर्ने योजना बनाए । उक्त र्‍यालीले पाकिस्तानको राजनीतिमा नयाँ तरङ्ग ल्यायो । सन् २०१३ को चुनावमा इमरानको पार्टी पीटीआई दोस्रो ठुलो पार्टी बन्यो र खैबर पख्तुनख्वा प्रान्तमा आफ्नो सरकार बनाउन सफल भयो ।

IMRAN-KHAN with 1992 world cup trophy

यो समय इमरानको लागि ठुलो सफलता थियो । यो सफलतालाई उनले कायम राखेर अघि बढ्ने योजना बनाए । त्यसपछि सन् २०१८ को चुनावमा इमरान खानले २२ वर्षको लामो संघर्षपछि सफलता हासिल गरे । उनको पार्टी सबैभन्दा ठुलो दल बन्यो र गठबन्धन सरकारको नेतृत्व गर्दै उनी पाकिस्तानको २२औँ प्रधानमन्त्री बने ।

 देशको नाजुक अर्थतन्त्र भएको अवस्थामा प्रधानमन्त्रीको कुर्सी सम्हालेका इमरानले सत्ता सम्हाल्ने बित्तिकै अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट ऋण लिए । सोही समयमा इमरानले पाकिस्तानका गरिब जनताका लागि ‘एहसास कार्यक्रम’ र ‘स्वास्थ्य कार्ड’ जस्ता सामाजिक सुरक्षाका योजनाहरू सुरु गरे । 

विदेश नीतिमा पनि उनले उल्लेख्य परिवर्तन ल्याउन सफल भए । भारतसँगको सम्बन्धमा सन्तुलन ल्याउने र चीनसँगको रणनीतिक साझेदारीलाई पनि ध्यानमा राखे । तर, सोहीबिचमा इमरानको कार्यकाल विवादमा तानिन सुरु भयो । विपक्षी दलहरूले उनलाई बेला बेला बिभिन्न आरोममा तान्न सुरु गरे । यहीबाट उनको पतनको यात्रा सुरु हुन पुग्यो । 

  • सत्ताबाट बहिर्गमन 

सन् २०२२ को अप्रिलमा गठबन्धनका सहयोगीहरुले समर्थन फिर्ता लिएपछि इमरान खानको सरकार संकटमा पर्‍यो । संसदमा पेस भएको अविश्वासको प्रस्तावमा पराजित भएपछि उनी सत्ताबाट बाहिरिए । उनी पाकिस्तानको इतिहासमा अविश्वासको प्रस्तावबाट हटाइने पहिलो प्रधानमन्त्री बने । 

सत्ताबाट हटेपछि उनले आफ्नो सरकारलाई हटाउन अमेरिकाको संलग्नता रहेको आरोप लगाए । इमरानले देशव्यापी रूपमा विशाल र्‍याली र प्रदर्शन आयोजना गरे । 

युवा जमातको ठुलो साथ प्राप्त गरेर लोकप्रियता बढाएका उनी प्रधानमन्त्रीको पदबाट हटेपछि झनै बलियो बन्न पुगे । तर, सन् २०२२ नोभेम्बरमा एक र्‍यालीका क्रममा उनीमाथि गोली प्रहार भयो, जसमा उनी घाइते भए ।

त्यसपछि, एकाएक उनी र उनको पार्टीमाथि राज्यको तर्फबाट दबाब शृजना हुन थाल्यो ।  यहीबेला उनीमाथि भ्रष्टाचार, आतंकवाद र राज्यको गोपनीयता भङ्ग गरेको लगायत मुद्दाहरू दायर भयो । इमरानलाई राज्यका गोप्य कुरा चुहाएको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएको छ ।  त्यस्तै सरकारी जग्गा हिनामिना प्रकरणमा दोषी ठहर गर्दै १४ वर्ष जेल सजाय पनि सुनाएको छ ।  इमरानसँगै उनकी पत्नी बुशरा बीबीलाई सात वर्ष जेल सजाय सुनाइएको छ । कतिपयले उनको कारागार बसाइलाई राजनीतिक प्रतिशोधका रुपमा पनि हेर्ने गरेका छन् । 

क्रिकेटबाट उदाएर राजनीतिमा पनि स्थापित हुन सफल  इमरान अहिले रिहा हुने/नहुने अनिश्चितको दिन कटाउँदै जेलमा छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप