काठमाडौँ । फरक क्षमता भएका मानिसहरूलाई हेयको दृष्टिबाट हेर्ने हाम्रो समाजमा ३१ वर्षका उदित श्रेष्ठ दृढता र निश्चयका प्रतिकका रूपमा आफूलाई प्रमाणित गरिरहेका छन् ।
_RvdiqEKWn6.jpg)
रामेछापमा जन्मिएर हुर्किएका उदित सानो समयदेखि नै बोल्न र सुन्न नसकेका कारण सामाजिक अवहेलनाको सिकार बन्न पुगे तर अहिले उनको परिचय बदलिएको छ । उनी अहिले काठमाडौँको शंखमुल हेल्थ क्लबमा फिटनेस इन्सट्रक्टरको रूपमा काम गरिरहेका छन् ।
_xWBnDizmMt.jpg)
ग्रामीण परिवेशमा हुर्किएका उदितले स्वः अध्ययन र केही मनकारी साथीहरूको सहयोगमा आफ्नो पढाइलाई निरन्तरता दिएका थिए । सानो बेलादेखि नै खेलकुदमा निकै रुचि भएका उदितले भलिबलबाट आफूलाई प्रमाणित गरे ।
_dkGSQa81G8.jpg)
यो उनको लागि केवल खेल मात्रै थिएन । आफूलाई सधैँ प्रेरित माध्यमको रूपमा यसलाई प्रयोग गरिरहे ।
_6O0mH699ox.jpg)
स्थानीय रूपमा आयोजना भइरहने भलिबल प्रतियोगितामा उनले प्रस्तुत गरेको कलाका र जितेको पदकले उनको परिवारलाई समय समयमा खुसी ल्याइदिन थाल्यो भने उनको दृढतालाई पनि बढाउँदै लग्यो ।
_k27XRqs8T3.jpg)
खेल प्रतिको उनको यो झुकाव काठमाडौँबाट घर फर्किएका एक गाउँले दाइले उनीसँगै उनका साथीहरूलाई कराँतेसँग परिचित गराएपछि झन् गहिरियो । कराँतेले सिकाएको अनुशासनलाई उनले आफ्नो जीवनको मन्त्रको रूपमा लिए ।
_KQEmlpcXCs.jpg)
आफूलाई सधैँ तन्दुरुस्त राख्नको लागि उनले व्यायाम गर्ने गर्थे तर गाउँमा अहिलेको जस्तो जिमका सामान पाउनु उनको लागि असम्भव थियो । उनले बाँस, ढुङ्गा र डोरीको सहायतामा जिममा गर्ने अभ्यासहरू गाउँमै गर्न थाले । उनको लागि रुखका बलिया हाँगाहरू पुल अप बार थिए भने ढुङ्गाहरू डम्बेल र बालुवा भरिएका बोरा उनको लागि वेट लिफ्टिङका साधन थिए ।
_YD9hdqKKIX.jpg)
सानो छँदामै पितृ वियोग सहेका उदितले परिवार प्रतिको जिम्मेवारी पनि वहन गर्न पर्यो । अर्म पर्म र खेताला बनेर उनले कामसँगै आफ्नो पढाइलाई पनि निरन्तरता दिइरहे । श्री भीमेश्वर रुद्र सकेण्डरी स्कुलमा पढ्दा उनले शिक्षकहरूले पढाउँदाको हाउभाउ र उच्चारण गर्दा ओठको गतिबाट भन्न खोजेका कुराहरू बुझ्ने कोसिस गरे ।
_xkLXa3Z2BZ.jpg)
२०६४ सालमा एसएलसी दिइसकेपछि मात्रै उनले साङ्केतिक भाषा सिक्न पाए । यसअघि उनले गणित, विज्ञान जस्ता विषयको पढाइको बारेमा बुझ्नलाई सधैँ नै सङ्घर्ष गरिरहन पर्यो । तर पनि उनले स्कुले तहको फलामे गेट भने पार गरिछाडे । उनले एसएलसी पनि पास गर्छन् भन्नेमा धेरैले गरेको शङ्कालाई उनले गलत साबित गरिदिए ।
_EyFAueTFsS.jpg)
२०६७ सालमा काठमाडौँ आएपछि उनले होटलमा काम गर्न थाले । यति बेलासम्म पनि उनले आफ्नो जिम प्रतिको लगाव र झुकावलाई विचलित हुन दिएका थिएनन् । होटलमा काम गरिरहँदा उनले फुर्सदको समयमा जिम पनि जान थाले, जहाँ अरूलाई पनि समय समयमा सिकाउने र सहयोग गर्न थाले ।
_rP9K9ezCpf.jpg)
उनको यो सहयोगी भावनालाई नजिकैबाट नियालिरहेका सनम दुवालले उनलाई ३ वर्ष अघिदेखि इन्सट्रक्टरको रूपमा आफ्नो जिममा राखे । ‘उनी करिब ६ वर्षअघि मेरो जिममा सदस्यको रूपमा आबद्ध भएका थिए । उनले अरूलाई गरेको सहयोग र उनले आफैँले गर्ने एक्सरसाइज पनि मलाई परिष्कृत लाग्यो । उनले अरूलाई इशारा र सङ्केतबाट बुझाएको मैले केही समय नियालेँ र एक दिन मैले उनीसँग कामको बारेमा कुरा गरेँ । उनलाई मैले जिम सिकाउनमा कत्तिको रुचि छ भनेर सोध्दा उनले थम्स अप गरेर देखाए र उनको अनुहारको चमक पनि छुट्टै थियो,’ उदित कार्यरत रहेको शंखमुल हेल्थ क्लबका कोच एवं संस्थापक सनमले भने ।
_KMNrsG3rpl.jpg)
अहिले उदित जीमा आउने हरेक सदस्यले सही तरिकाले गरोस् भन्ने ध्याउन्नमा हुन्छन् । यदि कसैले गलत तरिकाले व्यायाम गरिरहेको छ भने उनी ती सदस्यको नजिक पुग्छन् र इशाराका साथै सही तरिकाले कसरी गर्ने भन्ने देखाउँछन् । यदि कसैले नबुझेको खण्डमा वा केही कुरा सोध्न पर्यो भने उनलाई लेखेर सोध्छन् र उदित त्यसको उत्तर पनि लेखेर नै दिन्छन् ।
_H7KvA7WvfP.jpg)
‘उहाँसँग साङ्केतिक भाषामा कुरा गर्न समस्या हुँदैन । उहाँले हामीले पनि बुझ्ने किसिमको सङ्केतहरू दिनुहुन्छ । अझ उहाँले हामीलाई ट्रेनिङ दिँदा कुन एक्सरसाइजले कता प्रभाव पार्छ भन्ने राम्रोसँग भन्दिनुहुन्छ जसले गर्दा अझ सजिलो बनाइदिन्छ । यदि कुनै कुरा बुझ्न गाह्रो भयो भने हामीले लेखेरै पनि कुरा गर्छौँ,’ उक्त जिममा उदितसँग ट्रेनिङ लिइरहेका अविनाश चौधरीले भने ।
_L8UeLjIBoY.jpg)
जिमलाई नै आफ्नो कर्मथलो बनाएका उदित आमा, श्रीमती र छोरालाई आफ्नो सफलताको श्रेय दिन्छन् । आफ्नो जीवनमा आएको यो परिवर्तन र अरूलाई पनि प्रेरणा दिन सक्नु नै आफ्नो जीवनको उपलब्धिको रूपमा अरूले व्याख्या गरे पनि उनी आफूलाई एक अब्बल व्यक्तिको रूपमा स्थापित गर्न चाहेको सङ्केत गर्छन् ।
_bZVhTM1YD8.jpg)
‘पहिला म रेस्टुरेन्टमा काम गर्दा मःमः, चाउमिन बनाउने काममा व्यस्त रहन्थेँ तर कमाइ खासै हुँदैन थियो । मेरो क्षमता देखेर कोचले मलाई तालिम दिएर यहाँ ट्रेनरको रूपमा राखेपछि आफूलाई जे कुरामा रुचि छ त्यसमा काम गर्न पाएको छु । मलाई अहिलेको काम निकै प्यारो लाग्छ,’ उदितले साङ्केतिक भाषामा आफ्नो कुरा राखे ।
जीवनका कालखण्डमा जति नै समस्या आए पनि, जति हन्डर खाए पनि उनी कत्ति पनि विचलित भएनन् । सकारात्मक सोच र बलियो आत्मबल भयो भने जस्तोसुकै अवस्थामा पनि मानिस सफल हुन सक्छ भन्ने प्रेरणाको श्रोतको रूपमा उदित रहेका छन् ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया