शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
खेलकुद

कीर्तिमान रच्ने संगीता भन्छिन्– दौडले दिलायो सफलता, मन अझै फुटबलमै छ

आइतबार, ०८ असार २०८२, ११ : ३०
आइतबार, ०८ असार २०८२

सारांश

  • काठमाडौंमा सम्पन्न १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कैलालीकी संगीता विकले ४ सय मिटर दौडमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरिन्।
  • संगीता विकले १ मिनेट १ सेकेन्ड १९ मिनी सेकेन्डमा दौड पूरा गरिन्, स्वर्ण जितिन् र वर्षौंदेखिको कीर्तिमान तोडिन्। उनी फुटबल खेलाडी भए पनि एथ्लेटिक्समा लागेकी हुन्।
  • संगीता हाल कक्षा १२ मा अध्ययनरत छिन् र उनले पढाइ र खेल दुवैलाई सँगसँगै लैजाने बताएकी छिन्।

धनगढी । काठमाडौँको दशरथ रंगशालामा हालै सम्पन्न १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको ४ सय  मिटर दौडमा एक किशोरीले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरिन् ।

सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै कैलालीकी संगीता विकले उक्त दौड १ मिनेट १ सेकेन्ड १९ मिनी सेकेन्डमा पूरा गरेर स्वर्ण पदकमात्र जितिनन्, वर्षौंदेखिको रेकर्ड पनि तोडिन् । यो सफलताले उनलाई चर्चा दिलायो ।

दौडमा कीर्तिमान बन्छ भन्नेमा संगीता आफैँलाई विश्वास थिएन । दौड जित्नेमा ढुक्क भए पनि रेकर्ड नै बन्ला भन्ने उनले कल्पनासमेत गरेकी थिइनन् ।

‘मैले रेकर्ड राख्छु भनेर सोचेकी पनि थिइनँ । दौडिँदाखेरि प्रथम हुन्छु भन्नेमात्र सोचेर दौडेकी थिएँ,’ जितपछिको खुसी साट्दै संगीताले भनिन्, ‘धेरै खुसी लागिरहेको छ । घरमा परिवार, साथीभाइ र गाउँले सबैले बधाई दिँदा सपनाजस्तो लागिरहेको छ ।’

संगीता खासमा एथ्लेटिक्सभन्दा पनि फुटबलकी खेलाडी हुन् । उनको पहिलो प्रेम र लगाव फुटबल नै हो । घोडाघोडी नगरपालिकाको सुखडस्थित मैदानमा उनी नियमित फुटबलकै प्रशिक्षण लिन्छिन् । उनले राष्ट्रिय महिला लिग र लुम्बिनी कपजस्ता प्रतिष्ठित फुटबल प्रतियोगितामा समेत आफ्नो खेल कौशल देखाइसकेकी छन् । उनको सपना एक सफल फुटबलर बन्ने थियो र छ ।

‘मलाई फुटबल एकदमै मन पर्छ । म रनिङको त्यति धेरै ट्रेनिङ गर्दिनँ,’ उनले आफ्नो खेल यात्राबारे बताइन्, ‘म फुटबल नै खेल्छु र सेलेक्सन भएपछि मात्रै दौडमा भाग लिन आउँछु, त्यो पनि विनाकुनै विशेष तयारी ।’

कडा प्रशिक्षणविना नै राष्ट्रिय कीर्तिमान राख्नु सानो कुरामा भने होइन ।

1000019387

कैलालीको घोडाघोडीमा जन्मिएकी र हुर्किएकी संगीता एथ्लेटिक्समा व्यावसायिक रूपमा लाग्न थालेको दुई वर्षमात्र भयो । ‘गत वर्ष पनि खेलेकी थिएँ, तर त्यति राम्रो भएको थिएन । यो साल अलिकति ट्रेनिङ गरेकी थिएँ, त्यसैले सफल भएँ,’ उनले भनिन् ।

विद्यालयस्तरदेखि नै दौडमा रुचि भए पनि उनको मुख्य ध्यान फुटबलमै थियो । सुरुवाती दिनमा संगीताका लागि खेलकुदको यात्रा सहज थिएन । विशेषगरी छोरी मान्छे भएर खेलकुदमा लाग्दा समाज र कहिलेकाहीँ परिवारबाट पनि प्रश्न उठ्ने गर्थ्यो ।

‘सुरु–सुरुमा घरबाट पनि खेल्न हुन्न भन्नुहुन्थ्यो । गाउँमा पनि कुरा काट्नेहरू थिए,’ संगीताले भनिन्, ‘तर जब मैले एक–दुईवटा सफलता हासिल गरेँ, तब सबैले सहयोग र प्रशंसा गर्न थाल्नुभयो । अहिले अवस्था फेरिएको छ । सबैले राम्रो भन्नुहुन्छ र हौसला दिनुहुन्छ ।’

उनको परिवारमा दाइ पनि फुटबल खेलाडी हुन् । दाजुका कारण उनलाई खेलमा लाग्न थप प्रेरणा मिल्यो । दुवै जनालाई खेलमा लाग्न बुवाले पूर्ण साथ दिएका छन् ।

‘मेरो परिवारले, विशेषगरी ड्याडीले धेरै सपोर्ट गर्नुहुन्छ । उहाँले तँलाई जेमा राम्रो लाग्छ, त्यही गर भन्नुहुन्छ । गेमको लागि जहाँ जानुपरे पनि वा जे गर्नुपरे पनि पूर्ण सहयोग गर्नुहुन्छ,’ उनले परिवारको साथबारे बताइन् ।

1000019388

खेलकुदमा सफलताको झन्डा गाड्दै गर्दा संगीताले आफ्नो पढाइलाई पनि निरन्तरता दिएकी छन् । उनी हाल घोडाघोडीकै जीएमसी कलेजमा कक्षा १२ मा अध्ययनरत छिन् । पढाइ र खेललाई सँगसँगै लैजानु निकै चुनौतीपूर्ण छ, तर उनी दुवैलाई बराबर प्राथमिकता दिन्छिन् ।

‘गाह्रो त हुन्छ, तर दुवैलाई मिलाएर लगेकी छु । राति पढ्छु, दिउँसो र साँझ गेम खेल्छु । म्यानेज गर्न जानेपछि सजिलै हुँदो रहेछ,’ उनले भनिन् ।

एथ्लेटिक्समा पाएको यो सफलताले संगीतालाई एउटा मिठो दुविधामा पारिदिएको छ । एकातिर दौडले दिलाएको राष्ट्रिय ख्याति र उज्ज्वल भविष्यको सम्भावना छ भने अर्कोतिर फुटबलप्रतिको उनको गहिरो लगाव र सपना छ । उनका प्रशिक्षक र सिनियर खेलाडीहरूले व्यक्तिगत खेल भएकाले एथ्लेटिक्समा छिटो सफलता मिल्ने र भविष्य पनि राम्रो भएको भन्दै यसमै ध्यान केन्द्रित गर्न सल्लाह दिन्छन् ।

‘सिनियर दाइहरूले रनिङमै राम्रो छ, इन्डिभिजुअल गेममा चाँडै अगाडि बढ्न सकिन्छ, यसैमा मेहनत गर भन्नुहुन्छ,’ संगीताले भनिन् ।

1000019385

तर, उनको मन भने फुटबलबाट टाढा हुन सकेको छैन । ‘मलाई सफलता एथ्लेटिक्सले दिए पनि फुटबल एकदमै मन पर्छ,’ उनले आफ्नो मनको कुरा खोलिन्, ‘तर रनिङ मन पर्छ र खुसी लाग्छ ।’

अहिले उनलाई माया गर्ने र समर्थन गर्नेहरूको संख्या बढेको छ । उनी आफ्नो सफलताको सम्पूर्ण श्रेय आफ्नो परिवार, प्रशिक्षक, सिनियर दाइहरू र साथीभाइलाई दिन्छिन् । ‘उहाँहरूको साथ र हौसलाले नै म यहाँसम्म आइपुगेकी हुँ, सबैलाई धेरै–धेरै धन्यवाद भन्न चाहन्छु,’ उनले भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप