लस्करै सुताइएका ७२ वटा लासहरू अघिल्तिर किंकर्तव्यविमूढ उभिनुपरेको दिन
देशभर माओवादी विद्रोह चरम रूपमा चर्किइरहेको थियो । २०५७–५८ सालका सुरक्षा निकायका कहालीलाग्दो दिनहरू सम्झिदाँ आडै जिरिङ्ग हुन्छ । २०५८–६० सालमा डोटीको प्रमुख जिल्ला अधिकारी(प्रजिअ) हुँदाका दिनहरूले बेला बेला मलाई झस्काइरहन्छ ।
तत्कालीन माओवादीका आक्रामक गतिविधि खपिसक्नु थिएन । अछामको रामारोशनको जङ्गल माओवादीहरूको प्रमुख तालिम केन्द्र पनि थियो भनिन्थ्यो । डोटीको क्षेत्र रामारोशन, अछाम आसपासकै जोडिएका क्षेत्र थिए । डोटी बोगटान क्षेत्रका जङ्गल र आवतजावत गर्ने नाकामा सुरक्षा निकाय र माओवादीहरूको बेला–बेला गोली हानाहान भइरहन्थ्यो ।
माओवादीको एउटा गाउँको कार्यक्रममा डोटीको बोगटान क्षेत्रमा सुरक्षा निकायका घेरामा परिसकेका तत्कालीन माओवादी नेता लेखराज भट्ट भीरमा नहामफालेका भए सायद अहिले इहलोकमा उहाँ हुनुहुने थिएन भनेर सुरक्षा फौजका तत्कालीन कमाण्डरको प्रतिवेदनका क्रममा मलाई भनेको कुरा अहिले पनि सम्झिइरहेको छु । खासगरी उहाँलाई टीभी आदिमा देखेँ भने अहिले पनि म त्यही घटना सम्झिन्छु ।
तत्कालीन अवस्थामा सेनाको कमाण्डमा संयुक्त सुरक्षा फौज परिचालित थियो । सेनाले देखाउने अत्यन्त धेरै सुरक्षा सतर्कताका कारण छिटो छिटो हान मार गर्दै भाग्ने छापामार (माओवादी) हरूलाई उनीहरूको गतिविधि गर्न सजिलो भएको म महसुस गर्थें ।
एक दिन दिउँसै करीव ३०० को हाराहारीमा हतियारसहितका छापामारहरू डोटीको बानाडुङ्ग्रासैनाबाट उत्तरतर्फ तलहरा क्षेत्रतिर जान लागेको सूचना प्राप्त भयो । लामो उकालो चढेर जानुपर्ने त्यो क्षेत्रमा दिउँसै हिँडेका हतियारधारी माओवादी लडाकुहरूलाई नियन्त्रणमा लिन ठूलै लडाइँ गर्नुपर्ने अवस्था देखियो । ढिलो भएको खण्डमा करिब दुई–तीन घण्टाभित्रमा कारबाही नगर्ने हो भने उनीहरू सजिलै पार गर्नसक्ने स्पष्टै थियो ।
यसको लागि ठूलो योजना आवश्यक पथ्र्यो । हेलिकप्टरबाट उत्तर सेतीनदीको किनारा तलहरा क्षेत्रको जङ्गल एरियामा नेपाली सेना खसाल्नु पथ्र्यो, यता बानाडुङ्ग्रासैनातिरबाट सुरक्षा फौजले घेर्दै एरिया साँगुरो गराउँदै जानुपथ्र्यो । दायाँ बायाँ तिरबाट पनि घेराबन्दी गर्नुपर्ने अवस्था रहन्थ्यो । हाम्रो सूचना प्राप्त गर्ने निकायबाट प्राप्त भएको यो गोप्य सूचना तत्कालै गृह मन्त्रालयमा पठाइयो । सेनालाई पनि यो खवर स्थानीय प्रशासनबाट उपलब्ध गराइयो । कारबाही त्यति सजिलो थिएन, माओवादी छापामारहरू निकै माथि पुगिसकेका थिए । तलतिरबाट सुरक्षा फौज जान पनि निकै खतरा हुन सक्थ्यो । माथिबाट माओवादीहरूबाटै लामो दूरीका हतियारहरू प्रयोग हुन सक्थे ।
यो गतिविधि अचानक देखिएको, हेलिकप्टर आदि साधनहरू तत्कालै स्थानीय रूपमा उपलब्ध हुन नसकेको र शीघ्र योजना तयार नभएको कारण सुरक्षा फौजले कारबाही गर्न सकेन । छापामारहरू आफ्नो लक्ष्य प्राप्त गर्न सफल भए ।
उनीहरूको यो तयारी अछाम घटनाको पूर्वतयारी थियो भन्ने मैले अछाम घटना भएपछि महसुस गरेँ । माओवादी छापामारहरूको प्रोपागान्डा युद्ध पनि प्रमुख युद्ध हुन्थ्यो भन्ने म महसुस गर्थे । उनीहरू समय नै तोकेर यो दिन यहाँ आक्रमण गर्ने भन्ने जस्ता हल्ला चलाउँथे । खासमा त्यस्तो हल्लामा सत्यता हुँदैनथियो । तर हल्ला चलेको दिन केही नभएपनि आसपासका डाँडा डाँडामा फायरिङ मसाल बाल्ने आदि गरेर तर्साउने गतिविधि गरिन्थ्यो ।
अछाम आक्रमणको भयानक त्यो बीभत्स रात कति पीडादायी थियो । सेना प्रहरी सबैमा एकैचोटि आक्रमण सुरु भएको थियो । सुरुमा त अछामसित हाम्रो सम्पर्क भयो । आक्रमणको शैली र भयावह परिस्थिति, मंगलसेनको यथार्थबारे जानकारी प्राप्त गर्ने डोटी नै थियो । पछि सबै सञ्चारमाध्यम पूर्ण अवरुद्ध भएपछि डोटी नै सूचना आदान–प्रदान गर्ने ठाउँ भयो ।
- अछाम घटना
मेरो साथी मोहनसिं खत्री अछामका तत्कालीन प्रजिअ, जो अछाम घटनामा माओवादी लडाकुहरूको आक्रमणबाट मृत्युवरण गर्नुभयो हार्दिक श्रद्धासुमन प्रिय सखा । उहाँ सीधा व्यक्ति हुनुहुन्थ्यो । अछाम जानु अघि उहाँ पर्वत हुनुहुन्थ्यो, म डोटी नै थिएँ । खासमा उहाँलाई डोटीमा आउने इच्छा रहेछ, मलाई पर्वत जान इच्छा थियो तर त्यो भएन । म डोटीमै रहेँ, उहाँ पर्वतबाट अछाम आउनुभयो । अछाम गएपछि उहाँले एकदिन मलाई फोन गर्नुभयो– ‘सर मलाई डोटी जाने इच्छा थियो मिलेन । म यहीँ (अछाम) छु । सरको इच्छा अनुसार डोटी कति बस्नुहुन्छ बसौं, त्यहाँबाट सरुवा हुनुभयो भने म डोटी माग्छु’ भन्नुभयो । मैले ’हुन्छ सर’ भनेँ । अनि अन्य प्रशासनिक कुराहरू गयौ र फोन राख्यौं । यो वार्तालाप अछाम घटना हुनुभन्दा १५/२० दिन अगाडिको थियो ।
डोटी र अछाम जोडिएकै जिल्ला हो, दुवै जिल्लाका जङ्गल एरिया जोडिएकै छ । कहिले माओवादीले अब डोटी आक्रमण गर्छ भन्ने हल्ला चल्थ्यो, कहिले अछाम आक्रमण हुन्छ भन्ने हल्ला चल्थ्यो ।
अछाम आक्रमणको भयानक त्यो बीभत्स रात कति पीडादायी थियो । सेना प्रहरी सबैमा एकैचोटि आक्रमण सुरु भएको थियो । सुरुमा त अछामसित हाम्रो सम्पर्क भयो । आक्रमणको शैली र भयावह परिस्थिति, मंगलसेनको यथार्थबारे जानकारी प्राप्त गर्ने डोटी नै थियो । पछि सबै सञ्चार माध्यम पूर्ण अवरुद्ध भएपछि डोटी नै सूचना आदान प्रदान गर्ने ठाउँ भयो । अछाममा त प्रहरीको सञ्चार, सेनाको सञ्चार समेतले काम गरेन । टेलिफोनको त कुरै भएन ।
दिपायल राजपुरमा सेनाको बाहिनी थियो । क्षेत्रीय प्रहरी कार्यालय दिपायलमा थियो । डीआईजी अशोक श्रेष्ठको सानी १० महिनाकी छोरी समेत लिएर सपरिवार दिपायल जानुभएको थियो । जिल्ला प्रहरी प्रमुख पुरुषोत्तम कँडेल म सहित सुरक्षा निकायका क्षेत्रीय प्रमुख लगायत सबै एक आपसमा निरन्तर सम्पर्कमा थियौँ । जिल्ला अनुसन्धान विभागका इन्स्पेक्टर दानबहादुर रावलले सूचनाबारे अपडेट गर्नुहुन्थ्यो तर वास्तविकता के थियो भन्न सक्ने स्थिति थिएन ।
रातभर भयानक लडाइँ चलिरहेको थियो । को मारिए को बाँच्यो केही थाहा थिएन । डोटीको सीमानामा रहेका अछाम तर्फका सुरक्षा निकायले कतिपय अनुमान र कतिपय रातमा लडाइँमा देखिएका भेरी लाइटको उज्यालो हेरेर अनुमान गरेका कुराहरू हामी विश्लेषण गर्थ्यौं ।
भेरी लाइट एउटा उज्यालो फाल्ने प्रज्वलित बत्ती हो । दुस्मन भएका ठाउँतिर भेरी लाइट हानेपछि झलल उज्यालो देखिन्छ त्यही उज्यालोका आधारमा शत्रुहरूलाई हतियार प्रयोग गरिन्छ । यस्तो भेरी लाइट माओवादी र सुरक्षा निकाय दुवैतिरबाट हानिइएका थिए ।
म डोटीमा भएकै बेला डडेल्धुरा घर भएका राष्ट्रिय अनुसन्धान विभागका इन्स्पेक्टर उप्रेतीजी पनि १५ दिन अघिमात्र अछाम सरुवा हुनुभएको र उहाँको परिवारपनि सँगै जानुभएको थियो । मैले उहाँलाई सम्झिइरहेँ । दुर्भाग्य उनी दुबैजना (श्रीमान् श्रीमती) घटनामा परी मृत्युवरण गर्नुभयो । हार्दिक श्रद्धासुमन प्रिय मित्र र उनकी अर्धाङ्गिनीलाई ।
_X1zeP88oz8.jpg)
फोन लाग्ने डोटीमा मात्रै थियो । रातभरि हामीहरू बसिरह्यौँ अब के कस्तो अवस्था रहन्छ आदि आदि विचार विमर्श गर्दै रह्यौं । काठमाडौँबाट पत्रकारहरू, मन्त्रालयबाट कन्ट्रोल रुमका साथीहरू, गृहसचिव, गृहमन्त्री, अन्य चिनेजानेका व्यक्तिहरूको सूचना केन्द्र डोटी नै थियो । आसपासका जिल्लाका पत्रकारहरू समेत निरन्तर फोन गरिरहन्थे, हामीहरू प्राप्त भएका जानकारी दिइरहन्थ्यौँ ।
राति अबेरसम्म लडाइँ चल्दै गएपछि प्रजिअ, राष्ट्रिय अनुसन्धान विभागका इन्स्पेक्टर, उहाँको परिवारसमेत मारिइसकेका, सेना र प्रहरीको व्यारेकसमेत माओवादीले कब्जा गरेको समाचार हामीलाई प्राप्त भइसकेको थियो । माओवादीतर्फ अत्यन्त ठूलो क्षति भएको थियो भन्न जानकारी पनि अपुष्ट रूपमा प्राप्त भइरहेको थियो ।
करीव बिहानीपख हुने लागेको थियो, त्यस्तै तीन जति बजेको थियो होला, प्रजिअ मोहन सिंह खत्रीको श्रीमतीले कैलालीबाट फोन गर्नुभयो, उहाँ कैलालीमै बस्नु हुँदोरहेछ । फोन ज्यादै चिन्ता गरेर गर्नुभयो । रुँदै उहाँले सोध्नुभयो— मेरो श्रीमानको के अवस्था होला के खबर छ ? त्यहाँबाट सम्पर्क हुन्छ कि हुँदैन ? उहाँ रोइरहनुभएको थियो आफ्नो प्रियजनको सम्भावित दुःखद घटनाको दुःखद कल्पना मनमा आउँदो हो । म अति भावुक भएँ, बोल्न सकिन । के भन्ने के जवाफ दिने तैपनि अलि समालिएर भने ’हजुर चिन्ता नगर्नु खबर त हामीलाई पनि छैन फोन सम्पर्क हुँदैन, सेना प्रहरीको पनि सम्पर्क टुटेको छ केही खवर पाउन सकिन्छ कि भनेर हामी पनि प्रयास गर्दैछौं’ भनेर मैले थाहा भएर पनि झुटा कुरा गर्न बाध्य हुनुपयो । नीतिले भन्छ, ‘सत्यं ब्रूयात् प्रियं ब्रूयात् न ब्रूयात सत्य मप्रियम्’ (साँचो बोल्नु प्रिय बोल्नु साँचो भए पनि अप्रिय कुरा छ भने नभन्नु) मैले यहीँ अवलम्वन गरेँ ।
यस्तो अवस्थामा परिवारमा कति पीडा हुन्छ, कति अधैर्यता रहन्छ मनमा । जसले भोग्छ त्यसलाई मात्र थाहा हुन्छ । उज्यालो हुँदासम्म पनि लडाइँं रोकिएको थिएन चलिरहेको थियो । सुरक्षा निकायको हेलिकप्टर पनि वरिपरि पुगेर फर्किदै जाँदै फेरि आउँदै गरिरहेको खबर हामीलाई प्राप्त भइरह्यो । नजिकमै हेलिकप्टर पनि बस्न खतरा महसुस गरिएको थियो । धेरै प्रयासपछि बिस्तारै हेलिकप्टर बस्न सक्यो । माओवादी लडाकुहरू फर्किइसकेका थिए भन्ने जानकारी हामीले प्राप्त गर्यो । हामीले सदरमुकामको विभत्स दृश्यको कल्पना गयौँ । लासहरू, घाइतेहरूको चिच्याहट, बेलामा उपचार नपाएर रगत बगेर मृत्युवरण गर्न बाध्य भएका सुरक्षा फौजका व्यक्तिहरू माओवादीहरू सर्वसाधारण र गोली बारुदका नाकै फुट्ने गन्ध, पानीको अभावमा तड्पिएका कतिपय व्यक्तिहरू, केटाकेटी, बुढाबुढी, सुत्केरी बिरामी आदिको भयावह दृश्य आँखै वरिपरि नाच्यो । माओवादीले आफ्नो तर्फका लासहरू भने घिसारेर डोकोमा बोकेर उचालेर झ्याईकुटी पारेर लिएर गैसकेका र कतिपय लासहरू नजीकैका खोला जंगल आदिमा गाडेका खबर आयो ।
देशको लागि ज्यान दिने सुरक्षा निकायका व्यक्तिहरू र निजामती कर्मचारीलगायत अन्य व्यक्तिहरूको लासको सतगत गर्न, आफन्तहरूलाई लास बुझाएर समवेदना दिन कानुनी प्रक्रिया सुरु गरियो ।
दिपायल तत्कालीन क्षेत्रीय सदरमुकाम पनि भएको कारण लासहरू दिपायलको एयरपोर्टमा ल्याउने पहल भयो ।
सेना र प्रहरीका हेलिकप्टर प्रयोग गरेर लास ओसार्न सुरु गरियो । कतिपय प्लाष्टिकमा कतिपय क्षतविक्षत अवस्थामा विभत्स स्वरूपका पटक पटक हेलिकप्टरबाट दिपायलको एयरपोर्टमा ल्याइएका लासहरू लस्करै सुताइयो । पहिचान भएका लासहरूको बाहिर नाम लेखेर सेतो कपडाले बेरेको थियो । कतिपय लासहरू क्षतविक्षत भएकाले प्लाष्टिकमा एउटै डल्लो पारेर ल्याइएको थियो । मेरो सहकमी प्रजिअ र अनुसन्धानको इन्स्पेक्टरको परिवारसहितको लास देखेर ज्यादै भावुक भएँ । मुटु ढुकढुक भयो, म एकछिन त्यसै टोलाएँ । आफ्नो जीवन अर्पिएर देश सेवामा लागेका यी ७२ वटा लस्करै सुताइएका लासहरू आकाशतिर हेरिरहेकै थिए, कुन्नि के सोच्दै थिए ? सायद परिवार– छोराछोरी, बाबुआमा, इष्टमित्र सम्झिए होलान् ! यिनीहरूले अन्तिम अवस्थामा पानी भने होलान् । आफन्तजनहरूको नाम काढेर बोलाए होलान्, कसैले सुनेन कोही बोलेन ।
विभिन्न भूगोलका यी लासहरू बोक्दै, उड्दै गरेका हेलिकप्टरको बेलुका अवेरसम्म आवाज आइरह्यो । मलाई यिनका पीडित परिवार रोए कराएको चिच्चाएको आवाज आएजस्तो लागिरह्यो ।
दिनभर यस्तो भयावह दृश्य देखेको आँखा र मन रातमा निदाउन सक्ने स्थिति भएन । मानसिक पीडामै कालो रात समाप्त भएछ ।
मेरो जीवनमा सबैभन्दा धेरै लासको अघिल्तिर आफूलाई किंकर्तव्यविमूढ भएर उभिनुपरेको दिन त्यही थियो भने अभिन्न मित्र अछामका प्रजिअ मोहन सिंह र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय अछामका निरीक्षक उप्रेतीजी र उनकी पत्नीको निधनले थप पीडा दियो ।
(तारानाथ गौतम लिखित २०८२ असार ७ गते विमोचित पुस्तक ’द्वन्द्वकालीन प्रशासकका पीडाहरू’बाट सधन्यवाद साभार)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण