बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
संगीत

हरेस खाएर बनाएको ‘गुन भुल्यौ’ले फेरिदियो सारिकाको भाग्य

आइतबार, ०८ असार २०८२, १६ : ००
आइतबार, ०८ असार २०८२

सारांश

  • सारिका घिमिरेको गीत 'गुन भुल्यौ पित्तलको' ले चर्चा बटुलेको छ, जसले सामाजिक सञ्जालमा राम्रो प्रतिक्रिया पाइरहेको छ।
  • गीतको सफलतापछि सारिकाले आफूले व्यक्तिगत भोगाइ नभई जीवनका अनुभवहरूलाई गीतमा उतारेको बताइन्।
  • एक दशक लामो संघर्षपछि, सारिकाले अभिनयबाट गायनमा प्रवेश गरेकी हुन्, र अब उनलाई आगामी गीतहरूमा अझै उत्कृष्ट प्रदर्शनको चुनौती छ।

गुन भुल्यौ पित्तलको सुन पायौ होला
भुइँ छोड्यौ आकाशको जून पायौ होला
कलेजी काटेर दिएको ठाउँ
सय चिरा बनायौ दुख्यो नि घाउ
त्यही घाउमा छर्किने नुन पायौ होला
तेल हाल्यौ बालेनौ दियो
मेरा कसुर ए हजुर भन्देऊ न के थियो ?

नेपाली सांगीतिक आकाशमा यतिवेला यो गीत निकै चर्चामा छ । वियोगान्त प्रेमपीडा समेटिएको गीतले सामाजिक सञ्जालदेखि सबैतिर तताउन सफल भएको छ । टिकटकमा त यो गीतमा बालकदेखि वृद्धसम्मले हजारौँ टिकटक बनाएर पोस्ट गरेका छन् । युवादेखि पाका उमेरसम्मका मानिसहरूले समेत यसलाई गुनगुनाइरहेको जताततै सुन्न सकिन्छ ।

लाग्छ, गीत सबैको जीवनसँग जोडिएको छ । यस गीतकी गायिका हुन्, सारिका घिमिरे । गीतमा स्वर मात्र होइन, मार्मिक शब्द तथा मन छुने सङ्गीत पनि उनी आफैले गरेकी हुन् । गीतको चर्चाले उनलाई विभिन्न मिडियामा अन्तर्वार्ताका लागि भ्याइनभ्याइ छ । प्रचार र सफलताको खुसी साट्न उनी बोलाएको मिडियामा पुग्ने गरेकी छन् । गीतको अपार सफलतासँगै उनलाई एउटा प्रश्नले निरन्तर पछ्याइरहेको छ, ‘गीतमा व्यक्त पीडा कतै तपाईंकै आफ्नै त होइन ?’

489958758_9424436731007288_2967916133380768758_n

धेरैले यो गीतलाई उनको व्यक्तिगत भोगाइसँग जोडेर हेरेका छन् । तर, सारिका गीतका शब्दहरू आफ्नै मनमा उब्जिएको व्यक्तिगत भावना भएको बताउँछिन् । ‘मेरो आफ्नै कथामा मैले यसरी गीत बनाएको र यसरी चर्चामा आएको भए पनि मेरो लागि एकदमै राम्रो, खुसीको कुरा हुन्थ्यो,’ उनले भनिन्, ‘तर यो हरेक मान्छेको जीवनमा घट्ने घटना र परिस्थितिमा आधारित भएकाले सबैको मन छोएको हो ।’ गीतको प्रेमपीडा आफूले भोगेर वा कसैको देखेर नलेखेको उनी स्पष्ट पार्छिन् ।

  • गीत सिर्जनाको कथा

गीतको सफलताले दर्शक–श्रोताले विभिन्न अनुमान लगाए पनि यसको सिर्जनाको कथा भने फरक छ । यो गीत यसरी सफलता हुन्छ, गराउनुपर्छ भन्ने कुनै योजनाबद्ध तरिकाले उनले सिर्जना गरेकी पनि होइनन् । यो त उनको गीतसंगीत प्रतिको निराशाले जन्मिएको हो । करिब एक दशकदेखि कलाकारितामा संघर्षरत उनले विभिन्न शैलीका ५० बढी गीत गाइसकेकी छन् । तर राम्रो चर्चा र सफलता भने उनलाई अझै मिल्न सकेको थिएन ।

हुन त उनले गाएका ‘हेल्लो’ र ‘ऐँसेलुको पात’ जस्ता गीतले युट्युबमा करोड क्लबमा पुगेका छन् । तर, पनि ती गीतले उनलाई न गायिकाको पूर्ण पहिचान दिन सक्यो । न नयाँ काम नै । त्यसपछि आफैले ल्याएका गीतहरू पनि उनका सोचेजस्तो हुन सकेन । पछिल्ला गीतहरूले सोचेजस्तो सफलता नपाएपछि उनी केही निराश थिइन् ।

‘यो गीतलाई हिट बनाउने तरिकाले सोचेर बनाएको थिइनँ,’ सारिका सिर्जनाको ती क्षणमा फर्किइन्, ‘धेरै गीतमा लगानी गर्दा पनि सफलता नमिलेपछि निराश भएर आफ्नै युट्युब च्यानलको लागि सामान्य कन्टेन्ट बनाउने सोचले यो गीत तयार गरेकी थिएँ ।’ गीतसंगीतमा अब ठुलो लगानी गर्दिनँ, नर्मल्ली लिप्सिङ भिडियो खिचेर हाल्छु भन्ने मानसिकताले गीत बनाएको उनले खुलाइन् ।

‘गीतको व्यावसायिकता सोचेको भए, कुनै प्रोफेसनल संगीतकारबाट गीत बनाउँथे होला, किन आफै गर्थे र ?’, उनी थप्छिन् ‘गीत लेख्दा समय मनमा लागेको लयमै गीतको संगीतमा झारा टारेको हो । यो नै सबैको रुचिमा प¥यो ।’

गीतसंगीतमा भनेजस्तो सफलता नमिल्दा कतिपयले उनलाई भड्किलो र उटपट्याङ शब्द राखेर गीत बनाउन सुझाए थिए । यस्ता सुझावहरूलाई अस्वीकार गर्दै जस्तो होला होला, नराम्रो गर्दिनँ भन्दै उनी अगाडि बढिन् ।

491216722_9481331008651193_1070081896897767696_n

‘आफ्नो चर्चा र सफलताका लागि समाजमा नराम्रो गीत दिनुहुन्न भन्ने मेरो चेत पहिलेदेखि हो,’ उनी थप्छिन्, ‘जबरजस्ती गीत चलाउनुभन्दा सभ्य गीतबाटै दर्शकसम्म पुग्ने मेरो प्रयास थियो ।’ साँचो मनले गरेको काम सफल हुन्छ भन्ने गीतले प्रमाणित गरेको धारणा छ ।

  • अभिनयबाट गायनमा

सारिकाको पहिलो परिचय अभिनेत्री हो । त्यसपछि उनले मोडलिङ हुँदै गायक रोजेकी हुन् । यतिवेला भने उनी गायिकाको रूपमा सर्वत्र परिचित भएकी छन् । 

एक–दुई वटा सिरियल अभिनय गर्दै कलाकारितामा होमिएकी उनले आधा दर्जन हाराहारीको फिल्म अभिनय गरेकी छन् । उनको डेब्यु फिल्म ‘रक्षा’ हो । त्यसपछि उनले ‘आगो २’, ‘परिणाम’ हुँदै साहित्यकार झमक घिमिरेको बायोपिक ‘जीवन काँडा कि फूल’ जस्ता फिल्ममा काम गरिन् ।

‘जीवन काँडा कि फूल’ अभिनयबाट उनले राम्रो प्रशंसा बटुलेकी थिइन् । करिब दुई दर्जन हाराहारी म्युजिक भिडियो अभिनय गरेकी उनले अभिनयमा सन्तुष्ट हुन नसकेर गायन रोजेकी हुन् ।

‘अभिनयमा म कम्फर्टेबल छैन भन्ने लाग्दा गीत गाउन सक्छु भन्ने आत्मविश्वास आयो,’ उनी आफ्नो यात्रा सम्झिन्छिन्, ‘साथीभाइ आफन्तले पनि गीत गाउन सुझाए ।’ 

गायन सुरु गरेपछि पनि उनलाई फिल्मको अफर नआएको होइन । उनी यो क्षेत्र आफ्ना लागि होइन भनेर अफर नकार्दै अगाडि बढिन् । उनी भन्छिन्, ‘कोरोना अगाडिसम्म त फिल्मको अफर धेरै आएको थियो । गर्दैन भनेर धेरैलाई थाहा भएकोले होला । अहिले आउँदैन ।’

491401500_9453139034803724_2316600993217030823_n

गायनमा आएपछि पनि उनको संघर्ष रोकिएन । ५० भन्दा बढी गीत गाइसक्दा पनि उनले खोजेको पहिचान मिलेको थिएन । केही गीतले युट्युबमा करोडौँ भ्युज पाएका थिए । तर पब्लिकले न उनलाई गायिकाको रुपमा चिन्थेँ । न मेला महोत्सवमा उनको डिमान्ड हुन्थ्यो । त्यसैले कयौँ पटक गीतसंगीत नै छोडौँ कि भन्ने अवस्था पनि उनको जीवनमा आयो ।

‘अभिनयमा सफल हुन सकिनँ, गायनमा पनि सोचेजस्तो चर्चा नपाएपछि यो क्षेत्र मेरो लागि होइन कि भन्ने पनि लाग्यो,’ उनी भन्छिन्, ‘तर हरेस नखाई निरन्तर लागिरहेँ । सफल नभए के भयो त, म एउटा गायिका त हुँ नि भन्ने सोचेर आफूलाई सम्हालेँ । अरू जस्तो पपुलर हुन नसके पनि मैले गरेको कामलाई केही सीमित मान्छेले सुन्नुभएको छ, त्यो नै मेरो लागि उपलब्धि हो भन्ने सोचेर नकारात्मक कुराहरूलाई दिमागबाट हटाएँ ।’ 

सकारात्मक सोचले अगाडि बढ्दै जादा सफलताले पनि पछ्याउने अनुभव भएको उनले सुनाइन् । 

  • अबको चुनौती

सारिका गीत–संगीत मानिसको जीवनको अभिन्न अङ्ग मान्छिन् । ‘मानिसलाई जसरी गाँस, बास, कपास चाहिन्छ, त्यसरी नै गीत–सङ्गीत पनि आवश्यक छ । यो दुःख–सुखको साथी हो,’ उनी भन्छिन् ।

यही भावनालाई आत्मसात् गर्दै उनको भविष्यमा पनि सबैको मन–मस्तिष्कमा बस्न सफल हुने गीतहरू सिर्जना गर्ने लक्ष्य छ ।

पछिल्लो गीत ‘गुन भुल्यौ पित्तलको’को अपार सफलतापछि सारिकामाथि अब नयाँ चुनौती थपिएको छ । दर्शक–श्रोताले अब आउने गीतहरू यो भन्दा राम्रो र उत्कृष्ट अपेक्षा गर्छन् । त्यसैले उनले अबको दिन झन् ठुलो चुनौती देखेकी छन् । 

‘अब मैले गर्ने काममा योभन्दा पनि बेस्ट दिनुपर्छ र त्यो कोसिस मेरो रहनेछ’, उनी चुनौती स्विकार्छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप