आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : सरकारप्रतिको समर्थन फिर्ता लिने मुडमा जसपा नेपाल, बालेन–गुरागाईं विवादले काठमाडौँको बजेट अनिश्चित

सोमबार, ०९ असार २०८२, २२ : ००
सोमबार, ०९ असार २०८२

आज २०८२ असार ९ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा सरकारलाई दिएको समर्थन जसपा नेपालले पुनर्विचार गर्ने, बालेन–गुरागाईं विवादले काठमाडौँ महानगरको बजेट भोलि नआउने, धरौटी बुझाइसकेपछि फेरि पक्राउ परिन् अमला रोका, दुई बुँदे सहमति कार्यान्वयन नहुँदा माओवादी बिच्किने खतरा, रास्वपा र नयाँ शक्तिबिच होला एकता ? बजेटको पक्षमा मतदान गर्न कांग्रेस–एमालेको ह्विप लगायत छन् ।

१. सरकारलाई दिएको समर्थन जसपा नेपालले पुनर्विचार गर्ने 
जसपा नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिले संसदीय दललाई यसबारे निर्देशन दिएको हो ।

२. बालेन–गुरागाईं विवादले काठमाडौँ महानगरको बजेट भोलि नआउने 
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबिचको विवादका कारण बजेट ल्याउने तालिका प्रभावित भएको छ । स्थानीय तहले असार १० मा आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने भए पनि विवादकै कारण कार्यपालिका बैठक बस्न नसक्दा नियमित समयमा बजेट नआउने भएको हो ।

३. धरौटी बुझाइसकेपछि फेरि पक्राउ परिन् अमला रोका
६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई काठमाडौँ जिल्ला अदालतले दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिए पनि प्रहरीले फेरि अर्को मुद्दामा पक्राउ गरेको छ । सुन तस्करी प्रकरणमा धरौटी बुझाएर रिहा भएकी उनलाई प्रहरीले लगत्तै सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि पक्राउ गरेको हो ।

४. दुई बुँदे सहमति कार्यान्वयन नहुँदा माओवादी बिच्किने खतरा
भिजिट भिसा प्रकरणमा सत्ता पक्षसँग भएको दुई बुँदे सहमति कार्यान्वयन नहुँदा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र बिच्किने खतरा बढेको छ । उक्त प्रकरणबारे छानबिन गर्ने विषयमा मौखिक सहमति भएको माओवादी केन्द्रको दाबी रहे पनि सरकारले अहिलेसम्म त्यस्तो छानबिनका लागि संयन्त्र बनाएको छैन ।

५. रास्वपा र नयाँ शक्तिबिच होला एकता ?
परम्परागत राजनीतिक दलहरूको ‘सिन्डिकेट’ अन्त्य गरी वैकल्पिक नयाँ शक्ति निर्माणका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले एकसाथ छुट्टाछुट्टै गृहकार्य अगाडि बढाएका छन् । वैकल्पिक नयाँ शक्तिको नारा दिएका यी दुवै दलबिच एकता सम्भव छ त भन्नेबारे पनि स्वाभाविक रूपमा चासो बढेको छ ।

६. बजेटको पक्षमा मतदान गर्न कांग्रेस–एमालेको ह्विप
आगामी आर्थिक वर्षको विनियोजन विधेयक (बजेट) को पक्षमा संसदमा मतदान गर्न सत्तारुढ दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना सांसदलाई ह्विप जारी गरेका छन् । विनियोजन विधेयक भोलि संसदमा निर्णयार्थ पेस गर्ने कार्यसूची छ ।

७. सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले पाए सफाइ
सम्पत्ति शुद्धीकरणको मुद्दामा गणेश लामाले सर्वोच्च अदालतबाट सफाइ पाएका छन् । सोमबार न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजीज मुसलमानको इजलासले दाबी नपुग्ने भन्दै लामालाई सफाइ दिएको हो ।

८. ओलीले गरे एमाले नेतृत्वको प्रशंसा
नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले नेतृत्वको प्रशंसा गरेका छन् । सही बिचार र नेतृत्व भएकाले नेकपा विभाजनपछि एमाले पहिलेकै अवस्थामा फर्कन सफल भएको उनको भनाइ थियो ।

९. ओमिक्रोनको सब भेरिएन्ट पुष्टि
१४ वटा नमुनाको जिन सिक्वेसिङ गर्दा ‘ओमिक्रोन सब भेरिएन्ट’ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जेठ २२ गतेदेखि २९ गतेसम्मको पीसीआर विधिबाट कोरोना पुष्टि भएका नमुनाको जिन सिक्वेसिङ गर्दा ओमिक्रोनको सब भेरिएन्ट पुष्टि भएको हो ।  

१०. नागरिक उन्मुक्ति पार्टीका मन्त्रीहरू किन तानिन्छन् एकपछि अर्को विवादमा ?
नागरिक उन्मुक्ति पार्टीबाट सुदूरपश्चिम सरकार सहभागी मन्त्रीहरू एकपछि अर्को विवादमा तानिने गरेका छन् । विवादकै कारण केहीले राजीनामा दिनु परेको छ भने अहिले पनि सो पार्टीका एक मन्त्रीलाई मुख्यमन्त्रीले राजीनामा दिन भनेका छन् । यसबारे रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप