बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

मिसन–२०८४ मा रास्वपा र नयाँ शक्ति, पार्टी एकता कति सम्भव ?

सोमबार, ०९ असार २०८२, १६ : ४४
सोमबार, ०९ असार २०८२

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले नयाँ शक्ति निर्माणको लागि छुट्टाछुट्टै गृहकार्य सुरु गरेका छन्।
  • नयाँ शक्तिले कम्युनिस्टहरूले मुलुकको नेतृत्व दिन नसक्ने निष्कर्ष निकाल्दै अन्य दलहरूसँग सहकार्यको पहल गर्ने निर्णय गरेको छ।
  • रास्वपा र नयाँ शक्ति दुवैले वैकल्पिक शक्तिहरूलाई एकै ठाउँमा ल्याउन संवाद कार्यदल गठन गरेका छन्, तर तत्काल पार्टी एकताको सम्भावना छैन।

काठमाडौँ । परम्परागत राजनीतिक दलहरूको ‘सिन्डिकेट’ अन्त्य गरी वैकल्पिक नयाँ शक्ति निर्माणका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले एकसाथ छुट्टाछुट्टै गृहकार्य अगाडि बढाएका छन् ।

वैकल्पिक नयाँ शक्ति निर्माण गरी समुन्नत समाजवाद निर्माणको अभियान चलाउँदै आएको नयाँ शक्तिले अब मुलुकको नेतृत्व कम्युनिस्टहरूले दिन नसक्ने निष्कर्ष निकालेको छ ।

असार ५ गते बसेको नयाँ शक्तिको राजनीतिक संवाद समितिको बैठकले नयाँ, वैकल्पिक, प्रगतिशील, लोकतान्त्रिक राजनीतिक दल, समूह वा व्यक्तिहरूसँग संवाद र सहकार्यको पहलकदमी र नेतृत्व लिने गरी प्रक्रिया अगाडि बढाउने निर्णय गर्‍यो । त्यसअघि असार १ गते बसेको केन्द्रीय समिति बैठकले प्रगतिशील, लोकतान्त्रिक समाजवादी शक्तिहरूको बृहत् ध्रुवीकरणका लागि एकतावद्ध हुन अपिल गरेको थियो ।

‘नेपालको समग्र राजनीतिक, सुशासन, समृद्धि पक्षधरसँग जोडिएका गम्भीर सवालहरू समकालीन भ्रष्टीकृत पुराना शक्तिहरूबाट हल हुने समय निकै घर्किसकेको हुँदा विकल्पमा नयाँ उदयीमान वैकल्पिक शक्तिहरूबिच सहकार्य, धु्रवीकरण गरेर देशमा भरपर्दो अग्रगामी राजनीतिक विकल्प यथाशीघ्र तयार गर्नुपर्ने ऐतिहासिक आवश्यकता महसुस भएको हुँदा प्रगतिशील, लोकतान्त्रिक समाजवादी शक्तिहरूको बृहत् धु्रवीकरणसहित नयाँ राजनीतिक नयाँ राजनीतिक शक्ति निर्माण गर्नका लागि एकतावद्ध हुन यो बैठक अपिल गर्दछ’, निर्णयमा भनिएको छ ।

अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी वर्ष उथलपुथलको वर्ष हुने दाबी गरेका छन् । पुराना दलहरू आ–आफ्ना खुट्टा तानातान गरेका र पोल खोलाखोल गरिराखेकाले मुख्य तीन दलका तीन नेताको चर्तिकला झन् बढी नाङ्गिने उनको निष्कर्ष छ ।

यस अर्थमा नयाँ वैकल्पिक शक्तिहरूबिच ध्रुवीकरणको प्रक्रिया पनि आगामी दिनमा अगाडि बढेर जाने उनको विश्वास छ ।

बैठकले उपाध्यक्ष दुर्गा सोबको नेतृत्वमा चार सदस्यीय संवाद कार्यदल गठन गरेको छ । कार्यदलका सदस्यहरूमा उपाध्यक्ष मानुषी यमी भट्टराई, महासचिव सोनाम सिं स्याङ्तान र केन्द्रीय सदस्य जीएस (घमान सिंह) गुरुङ छन् ।

सोही दिन संसदको चौथो ठुलो दल रास्वपाको सचिवालय बैठक पनि बसेको थियो । उक्त बैठकले पनि वैकल्पिक शक्तिलाई एउटै धागोमा बाँध्ने गरी सहकार्य–संवाद कार्यदल गठन गर्ने निर्णय गर्‍यो ।

‘विषम राजनीतिक परिस्थितिमा वैकल्पिक राजनीति पक्षधर, अभियन्ता तथा स्वतन्त्र समूहहरूलाई एउटै धागोमा बाँध्न पार्टीले नेतृत्व लिने र सहकार्य–संवाद कार्यदल गठन गर्ने’ निर्णयमा भनिएको छ ।

रास्वपाले प्रवक्ता मनिष झाको नेतृत्वमा राजनीतिक संवाद कार्यदल गठनको गृहकार्य सुुरु गरेको छ । कार्यदलले दुई/तीन दिनमा पूर्णता पाउने सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् ।

‘कार्यदलको संयोजक मनिषजी नै रहने गरी अगाडि बढेको छ । दुई/तीन दिनमा कार्यदलले पूर्णता पाउनेछ’, उनले भनिन् ।

prativa-rawal

कार्यदलको अन्य सदस्यहरूमा प्रा.डा. चन्दा कार्की, शिशिर खनाल, गणेश पराजुली र गणेश कार्की छन् । यसलाई पूर्णता दिन बाँकी रहेको रावलले जानकारी दिइन् ।

तर दुवै पक्षले एकै दिन एउटै आशयको निर्णय हुनु संयोगमात्र भएको दुवै दलका नेताको जिकिर छ । यद्यपि नयाँ वैकल्पिक शक्तिहरूले एउटै आशयको निर्णय गर्नु सकारात्मक भएको उनीहरूको भनाइ छ ।

रास्वपाका संसदीय दलका कार्यवाहक नेता तथा प्रमुख सचेतक सन्तोष परियारले दुवै पार्टीले एकैदिन निर्णय गर्नु संयोगमात्र भएको जिकिर गरे ।

‘एकैदिन निर्णय हुनु संयोगमात्र भन्नुपर्छ । यद्यपि राम्रो संयोगले राम्रै काम गर्छ’, उनले भने ।

नयाँ शक्तिकी उपाध्यक्ष भट्टराईले पनि रास्वपाको निर्णयको स्वागत गरिन् ।

‘सुशासन, संविधान संशोधन, नागरिकका मुद्दा लगायतमा सरकार उदासीन देखिएकाले नयाँ र वैकल्पिक शक्तिहरूसँग सहकार्य गरेर अगाडि बढ्ने गरी पार्टीले निर्णय गरेको हो । वैकल्पिक शक्तिको नेतृत्व गर्ने पार्टीको पहिलेदेखिकै नीति हो । रास्वपाले पनि सहकार्यको निर्णय गरेको भए झनै राम्रो भयो’, रातोपाटीसँग उनले भनिन् ।

वैकल्पिक शक्तिहरूबिच पार्टी एकता, सहकार्य र ध्रुवीकरणको विषय ठोस रूपमा अगाडि नबढेको दुवै दलका नेताहरूले बताएका छन् । नयाँ शक्तिको १० औँ स्थापना दिवसको दिन जेठ ३० गते प्रज्ञा भवन कमलादीमा भएको कार्यक्रममा अध्यक्ष बाबुराम भट्टराईले रास्वपासहित नेकपा एकीकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टी, नागरिक उन्मुक्ति पार्टी(नाउपा), जनमत पार्टी(जपा), विवेकशील साझा पार्टी लगायतलाई निम्ता गरेका थिए । एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल र नेत्रविक्रम चन्द ‘विप्लव’ समेत नयाँ वैकल्पिक सोच राख्ने व्यक्ति भएकाले उनीहरूलाई पनि निम्ता गरिएको प्रवक्ता कृष्ण शर्माको जिकिर छ ।

शर्माले वैकल्पिक विचारका आधारमा रास्वपा, नाउपा, जपा लगायत दलहरूसँग मोर्चाबन्दी हुनसक्ने स्पष्ट पारे । विवेकशील साझा र डम्बर खतिवडा समूहसँग भने एकताका लागि पहल भइरहेको उनले जिकिर गरे । krishna sharma

‘पुराना विचारले अब पार्टी चल्दैन । पुरानै पार्टीबाट मुलुकको विकास सम्भव छैन । मुद्दा मिल्ने विचार मिल्ने वैकल्पिक पार्टीसँग एकता, सहकार्य र धु्रवीकरण हुन्छ’, शर्माले भने, ‘पार्टी एकताका लागि विवेकशील साझा, डम्बर खतिवडासँग कुराकानी भएको छ । यसबाहेक रास्वपा, नाउपा, जपासँग कार्यगत एकता हुन सक्छ ।’

बाबुरामलाई वैकल्पिक शक्ति निर्माणमा ८ वर्षसम्म साथ दिएका खतिवडाले २०७९ साउन ३१ गते सम्बन्ध विच्छेद गरेका थिए । नेकपा माओवादी केन्द्रसँग एउटै चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिने निर्णय भएपछि उनले पार्टी परित्याग गरेका थिए । विवेकशील साझा पार्टीको नेतृत्वबाट रवीन्द्र मिश्र अलग भई राप्रपा प्रवेश गरेपछि समीक्षा बास्कोटा अध्यक्ष बनेकी थिइन् ।

यद्यपि कुन पार्टीसँग सहकार्य र एकता गर्ने भनेर किटान नभइसकेको उपाध्यक्ष मानुषी भट्टराईले बताइन् ।

‘कुन पार्टीसँग एकता र सहकार्य गर्ने भनेर किटान गरिएको छैन । तर रास्वपा, नाउपा, जपा लगायत दलहरूसँग सहकार्य हुनसक्छ । त्यसको पहलकदमी र नेतृत्व हामीले गर्ने गरी बैठकले निर्णय गरिसकेको छ’, उनले भनिन् ।

उपाध्यक्ष तथा कार्यदलका संयोजक सोबले देशमा देखिएको जल्दाबल्दा राष्ट्रिय मुद्दामा मोर्चाबन्दी वा कार्यगत एकता गरेर जान सकिन्छ कि भनेर विभिन्न नयाँ र वैकल्पिक दलहरूसँग छलफल भइरहेको जानकारी दिइन् ।

तत्काल एकता गरेर जाने पक्षमा आफूहरू नरहे पनि विचार मिल्ने दलहरूसँग सहकार्यपछि एकता हुन सक्ने उनले स्पष्ट पारिन् ।

‘कम्युनिस्टहरूले विकल्प दिन सक्दैनन् । यिनीहरू कहिल्यै मिल्दा पनि मिल्दैनन् । हाम्रो चाहना पछिल्लो क्रान्तिको नेतृत्व गरेका शक्तिहरूलाई नै रुपान्तरित गरेर जाउँ भन्ने हो’, सोबले  भनिन्, ‘उनीहरू सुध्रिने छाँटकाँट नदेखिएपछि नयाँ दल र वैकल्पिक विचार राख्नेहरूसँग सहकार्य गरी नेतृत्वको पहल कदमी लिउँ भन्ने नै हो ।’

रास्वपाका प्रवक्ता एवं कार्यदल संयोजक मनिष झाले सम्भव भएसम्म पार्टीको वैचारिक कुरा मिलेसम्म वा मिसन–८४ को लक्ष्य मिलेसम्म एकता र सहकार्य हुने बताए । तर पार्टी एकताको विषयमा नयाँ शक्तिसँग कुनै कुराकानी नभएको उनले जानकारी दिए ।

‘सम्भव भएसम्म, वैचारिक कुरा मिलेसम्म मिसन–८४ को लक्ष्य मिलेसम्म एकता गरेर नै जाने भन्ने छ । अहिले बाबुरामको पार्टीसँग कुनै छलफल भएको छैन । कार्यदल गठन भएपछि सबैसँग सहकार्य अगाडि बढाउँछौँ’, झाले भने ।

यसैबिच जसपा नेपालसमेत सरकारको काम–कारबाहीप्रति असन्तुष्ट देखिएको छ । जसपा नेपालका प्रवक्ता मनिष कुमार सुमनका अनुसार पार्टीको हालै सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको बैठकले ओली नेतृत्वको सरकार देशमा भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति, संविधान संशोधन, आर्थिक अवस्थामा सुधार लगायतका कार्यमा पूर्णतः असफल रहेको निष्कर्ष निकालेको छ ।

स्मरणीय छ, कुनै वेला बाबुराम भट्टराई र उपेन्द्र यादव एउटै दलमा थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप