ऐन विपरीत महानगर प्रहरीलाई दंगा नियन्त्रणको तालिम
सारांश
- काठमाडौँ महानगरपालिकाको नगर प्रहरी बललाई दंगा नियन्त्रणको तालिम दिइएको छ, जुन उनीहरूको अधिकार क्षेत्रभित्र पर्दैन।
- नगर प्रहरी बलका एक उच्च अधिकृतले महानगरले कार्यसम्पादनमा अवरोध आएको भन्दै लाठी र ढाल प्रयोगको तयारी गरेको बताए।
- सामाजिक अभियान्ताहरू र फुटपाथ व्यवसायीहरूले नगर प्रहरीको यो कदमको विरोध गरेका छन्, भने नगर प्रहरीले भने आत्मरक्षाको लागि तालिम भएको जनाएका छन्।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर प्रहरी बललाई अधिकार नै नभएको दंगा नियन्त्रणको तालिम दिइएको छ । महानगर प्रहरी बलका १६० नगर जवानलाई बागदरबारस्थित कार्यालयमा सोमबार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गर्नेखालको तालिम दिइएको हो ।
काठमाडौँ महानगर प्रहरी बलका एक उच्च अधिकृत भन्छन्, ‘महानगरपालिकाले आफूले गर्ने कार्यसम्पादनमा अवरोध आएको भन्दै लाठी र ढाल बोक्ने तयारी गरिरहेको छ । सोही अनुसार हामी तालिम गर्दै छौं ।’ सोमबार एक दिन भएको तालिम आगामी दिनमा पनि निरन्तर सञ्चालन हुने उनको भनाइ छ ।
ती अधिकृतका अनुसार सोमबार १० जना प्रशिक्षकहरूबाट १६० नगर प्रहरी जवानलाई दंगा नियन्त्रणको तालिम प्रदान भएको थियो छ । ‘मुख्यतः आत्मसुरक्षा कसरी गर्ने, दंगा नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने विषय प्रशिक्षणमा सिकाइन्छ,’ ती अधिकृतले भने ।
प्रशिक्षण लिनेहरू अधिकांश नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको वैकल्पिक सूची मार्फत छानिएकाहरूबाट नगर प्रहरी बलमा आएकाहरू छन् । काठमाडौँ महानगरपालिकाले नगर प्रहरी बलमा भर्ना गर्दा तीन वटा सुरक्षा निकायका संगठनहरुबाट वैकल्पिक सूचीमा परेकाहरूलाई प्राथमिकता दिएको थियो ।
- ऐनमा छैन दंगा नियन्त्रण
काठमाडौँ महानगरको नगर प्रहरी ऐन २०८०को परिच्छेद ३ को दफा ७ मा महानगर प्रहरीको काम कर्तव्य र अधिकार तोकिएको छ । उक्त दफाको उपदफा १ अन्तर्गत २८ वटा बुँदामा नगर प्रहरीको अधिकार र जिम्मेवारी तोकिएको छ तर दंगा नियन्त्रणको विषय भने रहेको छैन ।

यस्तै उपदफा २ मा नगर प्रहरी बलले प्रमुख प्रशासकीय अधिकृत,वडाध्यक्ष, विभागीय प्रमुखसँग समन्वय गरेर काम गर्नुपर्ने उल्लेख भएपनि महानगर प्रहरीले उक्त ऐनलाई बेवास्ता गरेको छ ।
के भन्छन् प्रमुख प्रशासकीय अधिकृत ?
महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं भने आफ्नै मातहतमा रहेको नगर प्रहरी बलको गतिविधिबारे जानकारी नभएको बताउँछन् । ‘नगर प्रहरीले लाठी र ढाल सहितको तालिम लिएको मैले पनि सुने, त्यो के रहेछ म बुझ्दै छु । नगर प्रहरी बलले दंगा नियन्त्रणको लागि निर्माण भएको होइन,’ रातोपाटीसँग गुरागाईंले भने ।
यस्तै सामाजिक अभियान्ताहरुले नगर प्रहरीले लाठी र ढाल सहित तालिम गरेकोमा आपत्ति प्रकट गरेका छन् । महानगर प्रहरी बलले फुटपाथ व्यवसायीलाई अमानवीय व्यवहार गरेको भन्दै विगतमा उभिएर विरोध गरेका अभियन्ता ईःईले सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका छन् । उनले नेपाल प्रहरी र सशस्त्र प्रहरी जस्तै संरचना र तालिम दिनलाई महानगरलाई कुनै कानुनी आधार नभएको बताए ।
यस्तै फुटपाथ व्यवसायीको पक्षमा काम गर्ने नेपाल स्वरोजगार व्यापार श्रमिक संघकी अध्यक्ष माया गुरुङ नगर प्रहरी बलले सशस्त्र बल प्रयोग कसको लागि भन्दै प्रश्न गरिन् । उनले कानुनमा नै नभएको अधिकार कसको निर्देशनमा प्रयोग हुन लागेको भन्दै रोष प्रकट गरिन् ।
- नगर प्रहरीको जिकिर : ‘आत्मरक्षाको लागि’
काठमाडौँ महानगर प्रहरी बलका नगर प्रहरीले भने यो तालिम आत्मरक्षाको लागि भएको तर्क गरेको छ । नगर प्रहरीका प्रहरी उपरीक्षक (एसपी) दिनेश अर्यालले तालिम आधारभूत कुरा भएको भन्दै यसलाई अतिरञ्जित गर्न आवश्यक नरहेको बताए ।
‘हामीले कसैलाई दमन गर्न ल्याएको होइन, कहिलेकाहीँ जटिल परिस्थिति पर्छ, त्यो बेलामा आत्मसुरक्षाको लागि सुरक्षाको सामान प्रयोगमा ल्याउन लागिएको हो,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण