बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
स्थानीय तहकाे बजेट

वीरेन्द्रनगरको खाका : उपमहानगर योजनादेखि ‘स्मार्ट सिटी’ सम्मको समृद्ध नीति

लाइनमा होइन, अनलाइनमा, जमिन बाँझो नराखौँ, सक्नेलाई खेती गर्न दिऊ जस्ता अभियान सञ्चालन गरिने
मङ्गलबार, १० असार २०८२, २२ : ०८
मङ्गलबार, १० असार २०८२

सारांश

  • वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्‍यो, जसमा उपमहानगरपालिकामा स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ।
  • कार्यक्रममा डिजिटल प्रविधिको प्रयोग, सुशासन, र युवा रोजगारीलाई जोड दिइएको छ, जसले नागरिक सेवालाई सहज बनाउने लक्ष्य राखेको छ।
  • वीरेन्द्रनगरलाई समृद्ध बनाउन कृषि, वातावरण संरक्षण, र सांस्कृतिक पहिचानलाई पनि प्राथमिकता दिइएको छ, जसमा नगर बस सञ्चालनको योजना पनि छ।

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि एक महत्त्वाकाङ्क्षी र दूरगामी दृष्टिकोणसहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

नगरप्रमुख मोहनमाया ढकालले १७ औँ नगरसभामा प्रस्तुत गरिएको यो नीति तथा कार्यक्रमले नगरलाई उपमहानगरपालिकामा स्तरोन्नति गर्ने दृढ सङ्कल्पदेखि डिजिटल प्रविधिमार्फत नागरिक सेवालाई सहज बनाउने र दिगो विकासका आयामहरूलाई समेट्ने बहु आयामिक खाका अघि सारेको छ ।

‘हाम्रो सहर समृद्ध वीरेन्द्रनगर बनाउने रहर’ भन्ने मूल आकाङ्क्षालाई आत्मसात् गर्दै, नागरिकका सुझावलाई प्राथमिकतामा राखेर तयार पारिएको यो दस्ताबेजले वीरेन्द्रनगरको भविष्यको स्पष्ट मार्गचित्र कोरेको छ ।

नगरप्रमुख ढकालले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भनिन्, ‘प्रदेशको राजधानीको रूपमा रहेको यस नगरपालिकालाई प्राप्त स्रोत र साधनको अधिकतम उपयोग गर्दै पूर्वाधार तथा सामाजिक र समावेशीकरण विकासको क्षेत्रलाई अगाडि बढाएका छौँ ।’

नेपाल सरकारको मापदण्डअनुसार नगरपालिकालाई स्तरोन्नति गर्न आवश्यक पूर्वाधार, जनसङ्ख्या र राजस्व पुर्याउन सफल भइसकेको उनले बताइन् ।साथै नगरपालिकालाई उपमहानगरपालिकाको रूपमा विकास गर्न प्रदेश सरकारसमक्ष प्रक्रिया अगाडि बढाइसकेको पनि उनको भनाइ छ ।

उपमहानगरको सपना र बढ्दो बसाइँसराइको व्यवस्थापन

ढकालका बुझाइमा नीति तथा कार्यक्रमको सबैभन्दा प्रमुख र महत्त्वाकाङ्क्षी लक्ष्य वीरेन्द्रनगरलाई उपमहानगरपालिकामा स्तरोन्नति गर्नु हो । त्यसका लागि आवश्यक मापदण्ड पूरा भइसकेको दाबी उनको छ । 

यो स्तरोन्नतिले नगरको विकास, बजेट र प्रशासनिक क्षमतामा गुणात्मक वृद्धि ल्याउने अपेक्षा उनको छ । यद्यपि उपमहानगर घोषणा हुन भने समय लाग्ने देखिन्छ । नीति तथा कार्यक्रममा बसाइँबसाइको विषयमालाई ध्यानमा राखिएको छ।

‘राजधानी भएसँगै कर्णाली र अन्य जिल्लाहरूबाट वीरेन्द्रनगरमा तीव्र गतिमा भइरहेको आन्तरिक बसाइँसराइलाई नगरपालिकाले अवसरको रूपमा उपयोग गर्ने नीति लिएको छ,’ उनले भनिन्, ‘सम्भावनाको खोजी गर्दै बसाइँसराइ भई आएकाहरूलाई स्वागत गरिने छ ।’

साथै उनीहरूसँग भएको रैथाने सीप र क्षमता नगरको विकास र समृद्धिमा उपयोग गर्न ज्ञान बैंक स्थापना गरी नगरलाई समृद्ध बनाउँदै लैजान थप सृजनात्मक भएर नगरपालिका अघि बढ्ने नीति तथा कार्यक्रममा उल्लेख छ । 

‘ज्ञान बैंक’ को अवधारणाले विभिन्न क्षेत्रबाट आएका दक्ष जनशक्तिको तथ्याङ्क सङ्कलन गरी उनीहरूको सीपलाई नगरको आवश्यकतासँग जोड्ने पुलको काम गर्नेछ ।

डिजिटल युगमा वीरेन्द्रनगरः ‘लाइनमा होइन, अनलाइनमा’

वीरेन्द्रनगको यो पटकको नीति तथा कार्यक्रमले डिजिटल प्रविधिका कुराहरू बढी समेटिएका छन् । सुशासन र द्रुत सेवा प्रवाहलाई केन्द्रमा राख्दै नगरपालिकाले डिजिटल पूर्वाधारमा क्रान्तिकारी फड्को मार्ने घोषणा गरेको छ ।

‘सेवाग्राही लाइनमा हैन, अनलाइनमा’ भन्ने नीतिलाई कार्यान्वयन गर्न एकीकृत डिजिटल सेवा प्रवाह प्रणाली लागू गरिने नगरप्रमुख ढकालको भनाइ छ । उक्त प्रणालीमार्फत नागरिकले घरबाटै कर तिर्ने, सिफारिस लिने र अन्य नगरपालिकासँग सम्बन्धित सेवाहरू प्राप्त गर्न सक्नेछन्, जसले समयको बचत र प्रशासनिक झन्झटको अन्त्य गर्ने उद्देश्य राखिएको छ ।

‘शीघ्र सेवा, तीव्र विकास’ को मान्यतालाई आत्मसात् गर्दै यो प्रणालीले सरकारी सेवालाई पारदर्शी र नागरिकमैत्री बनाउने लक्ष्य राखेको छ ।

यसैगरी, वीरेन्द्रनगरलाई आधुनिक, स्मार्ट र दक्ष सेवा प्रदायक संस्थाको रूपमा विकास गर्दै ‘आईटी हब’ का रूपमा स्थापित गर्ने योजना पनि अघि सारिएको छ ।

घण्टाघर पार्कको दक्षिण र मध्यपश्चिम विश्वविद्यालयको उत्तरतर्फको क्षेत्रलाई ‘आईटी जोन पार्क’ का रूपमा विकास गरी सूचना प्रविधिको अध्ययन, अनुसन्धान र व्यवसायका लागि खुला वातावरण सिर्जना गरिने छ । 

‘डिजिटल रोजगारीमा युवाको रहर, यही बाटो हो बन्ने समृद्ध नगर’ भन्ने नारासहित उद्यमशीलता र सूचना प्रविधिलाई जोड्ने कार्यक्रमले युवाहरूलाई स्थानीय स्तरमै रोजगारीका अवसर प्रदान गर्ने विश्वास लिइएको छ ।

सुशासन र सुरक्षित नगर

प्रधानमन्त्री केपी शर्मा ओलीको ‘समृद्ध नेपाल, सुखारी नेपाली’ तथा कर्णाली सरकारको ‘समृद्ध कर्णाली, सुखारी कर्णालीबासी’ को नारा सिको गर्दै वीरेन्द्रनगर नगरपालिकाले पनि ‘समृद्ध वीरेन्द्रनगर, सुखी वीरेन्द्रनगरवासी’ को नारा तय गरेको छ ।  

उक्त लक्ष्य प्राप्तिका लागि सुशासन र पारदर्शितालाई नीति तथा कार्यक्रमले उच्च प्राथमिकतामा राखेको छ । ‘भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको राष्ट्रिय नीतिलाई कडाइका साथ कार्यान्वयन गर्न नगरपालिकाले आफ्नै भ्रष्टाचारविरुद्धको रणनीति र कार्य योजना निर्माण गर्ने घोषणा गरेको छ,’ नगरप्रमुख भण्डारी भन्छिन् ।

नगरको सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन ‘नगर सुरक्षा, जनताको भरोसा’ नीतिअन्तर्गत बजार क्षेत्र र अन्य प्रमुख स्थानहरूमा सीसीटीभी क्यामरा विस्तार र मर्मत सम्भारलाई निरन्तरता दिइने छ । 

यसका लागि नेपाल टेलिकमसँग समझदारी गरी समन्वयमा काम गरिनेछ, जसले अपराध न्यूनीकरण र शान्ति सुरक्षा कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने नीति तथा कार्यक्रममा उल्लेख छ । 

दिगो पूर्वाधार र वातावरणीय सन्तुलन

नीति तथा कार्यक्रमले सहरी विकाससँगै वातावरणीय पक्षलाई पनि उत्तिकै महत्त्व दिइएको छ । रत्न राजमार्गको मंगलगढी चोकमा भइरहने दुर्घटना जोखिमलाई न्यूनीकरण गर्न आकाशे पुल निर्माण कार्यलाई यसै आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यो गत वर्षदेखि सुरु भएको महत्त्वपूर्ण योजना हो । साथै, एरिचोक र एयरपोर्ट चोकको विस्तार गरिने कार्यक्रम पनि समावेश छ ।

ढकालका अनुसार बढ्दो सहरीकरणले भूमिगत पानीको स्रोतमा पारेको असरलाई न्यूनीकरण गर्न एक नौलो र प्रभावकारी नीति अघि सारिएको छ । ‘अबदेखि नगर क्षेत्रभित्र बन्ने नयाँ भवनहरूमा आकाशे पानी, भान्सा र बाथरुमको पानी व्यवस्थापनका लागि ‘वाटर रिचार्ज पिट’ (पानी पुनर्भरण खाडल) बनाउन घरधनीलाई प्रोत्साहन गरिने छ,’ उनी भन्छिन्, ‘यसले भूमिगत जलभण्डारलाई बढाउन र वर्षा याममा हुने डुबान समस्यालाई कम गर्न मद्दत पुग्ने छ ।’

कृषिमा क्रान्ति र युवा रोजगारी

  कृषि क्षेत्रलाई आधुनिकीकरण र व्यावसायिक बनाउन नीति तथा कार्यक्रमले विशेष जोड दिएको छ । ‘वीरेन्द्रनगरको रहर, विषादी मुक्त सहर’ भन्ने नारालाई सार्थक बनाउन प्राङ्गारिक खेतीलाई व्यापक रूपमा प्रोत्साहन गरिने नीति तथा कार्यक्रम छ । ‘जैविक मल तथा विषादी निर्माणका लागि अनुदान दिने र बजारमा भित्रिने तरकारी तथा फलफूलमा द्रुत विषादी अवशेष परीक्षणलाई तीव्रता दिइनेछ, जसले नगरवासीको स्वास्थ्य सुनिश्चित गर्नेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ ।

खेतीयोग्य जमिन बाँझो रहने प्रवृत्तिलाई निरुत्साहित गर्न ‘जमिन बाँझो नराखौँ, सक्नेलाई खेती गर्न दिऊ’ अभियान सञ्चालन गरिने योजना पनि ढकालले ल्याएकी छन् । यसअन्तर्गत जग्गा भाडामा लिएर (लिज र करारमा) खेती गर्ने कृषकलाई भाडामा अनुदान दिने र सम्भावित ठाउँहरूमा सिँचाइ र सडकजस्ता पूर्वाधार निर्माण गर्ने नीति लिइएको छ । ‘यसले उत्पादन वृद्धि र खाद्य सुरक्षामा योगदान पुर्‍याउने छ,’ ढकालको भनाइ छ ।

साथै वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई स्वदेशमै टिकाउन ‘बिदेसिने युवा घटाऔँ, स्वदेशमै रोजगारी बढाऔँ’ भन्ने नारासहित विशेष कार्यक्रम ल्याइएको छ । 

कृषि व्यवसाय गर्न चाहने यस्ता युवाहरूलाई पुँजी र प्रविधिमा अनुदान उपलब्ध गराइने छ। यस्तै ‘युवा जागौँ, उद्यम बढाऔँ’ नीतिअन्तर्गत युवामैत्री उद्यमशीलता कार्यक्रमलाई अभियानकै रूपमा सञ्चालन गरी स्वरोजगारी सिर्जनामा जोड दिइने नीति तथा कार्यक्रममा भनिएको छ ।

सांस्कृतिक पहिचान र हरित सहर

आधुनिकतासँगै आफ्नो मौलिक पहिचान जोगाउन नगरपालिका सचेत देखिएको छ । यसै सन्दर्भमा, हप्ताको एक दिन (शुक्रबार) नगरपालिका र वडा कार्यालयका कर्मचारी तथा जनप्रतिनिधिले स्थानीयता झल्किने पोसाक अनिवार्य रूपमा लगाउने व्यवस्था गरी अलग पहिचान प्रवर्द्धन गरिने नीति छ ।

नगरलाई सुन्दर र हराभरा बनाउन ‘हरित सहर बनाउने रहर, सफा सुन्दर हाम्रो वीरेन्द्रनगर’ अभियान सञ्चालन गरिने छ । कालोपत्रे भएका सडकका किनारमा सौन्दर्य र बहु उपयोगी फूल तथा बिरुवा रोपण गर्न सङ्घीय सरकार, प्रदेश सरकार, विकास साझेदार र स्थानीय संघसंस्थाहरूसँग सहकार्य गरिने नगरप्रमुख ढकालको भनाइ छ ।

‘वीरेन्द्रनगर नगरपालिकाले प्रस्तुत गरेको यो नीति तथा कार्यक्रमले नगरको भौतिक विकास, आर्थिक समृद्धि, वातावरणीय दिगोपना, डिजिटल सुशासन र सांस्कृतिक पहिचानलाई एकसाथ अगाडि बढाउने एक सन्तुलित र महत्त्वाकाङ्क्षी खाका प्रस्तुत गरेको छ,’ ढकाल भन्छिन्, ‘नागरिकको सहभागितामा निर्मित यी नीतिहरूको सफल कार्यान्वयनले वीरेन्द्रनगरलाई कर्णाली प्रदेशको एक नमुना र समृद्ध राजधानी सहरको रूपमा स्थापित गर्ने विश्वास लिएको छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप