आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय

समालोचनात्मक चिन्तन र नेपाली समाज

बुधबार, ११ असार २०८२, १४ : ५६
बुधबार, ११ असार २०८२

विचारको व्युत्पत्ति मात्र संसारको अत्यन्त उपलब्धिमूलक कार्य होइन विचारले समाजलाई कुन दिशानिर्देश गर्छ र कस्तो बाटोतर्फ डोर्‍याउँछ भन्ने कुरा झनै महत्त्वपूर्ण हुन्छ । विचारहरू मानवीय सोच्ने क्षमताबाट व्युत्पन्न हुने सूत्र हुन् । यी सूत्रहरू कल्पनाका माध्यमबाट जन्मिन्छन् र तर्कको सहारामा बाँच्छन् ।

प्राचीन ग्रिक दार्शनिक सुकरातले सर्वप्रथम सिर्जनात्मक चिन्तनलाई बुद्धिको एउटा महत्त्वपूर्ण अध्याय भनेर व्याख्या गरेको पाइन्छ । यही कुराका बारेमा प्लेटोले आफ्नो पुस्तक ‘द रिपब्लिक’मा सुकरात प्रश्नोत्तर शैली भनेर त्यही प्रश्नोत्तर शैलीका माध्यमबाट न्यायको सिद्धान्त प्रदान गरेका थिए । न्याय, राज्य र सदाचार जस्ता विषयमा प्रश्नोत्तर शैलीमा तर्क गर्दै जानु समालोचनात्मक चिन्तनको आरम्भिक अभ्यास थियो ।

मानिसको सोच सर्वप्रथम कल्पनाबाट सुरु हुन्छ । उदाहरणका लागि हामीले नेपालका बारेमा सोच्नुपरेमा, हामी हाम्रो कल्पनामा नेपालको नक्सा, जनसंख्या, भूगोल, राजनीति, भाषा, धर्म, संस्कृति र इतिहासका आयाम खिच्न थाल्छौँ । यसरी हेर्दा कल्पना सोचको पहिलो सिँढी हो, जसका आधारमा विचारहरू जन्मन्छन् । त्यसपछि मात्र ती विचारहरू ज्ञान, तथ्य, प्रमाण र सूचनाका आधारमा तर्कका माध्यमबाट स्पष्ट रूप पाउँछन् । धेरैले कल्पनालाई केवल मनगढन्ते वा अवास्तविक मान्छन् तर कल्पना सत्यताको आधार बन्न योग्य समेत हुन्छन् । विज्ञान, दर्शन, साहित्य वा सामाजिक विचारको जन्म कल्पनाबाट भएको हुन्छ । यसैले कल्पनाले जन्म दिएका विचारलाई परीक्षण गरेर सत्य वा असत्य छुट्ट्याउने माध्यम हो, समालोचनात्मक चिन्तन ।

समालोचनात्मक चिन्तन भन्नाले कुनै पनि विचार, धारणा वा मान्यतालाई यथास्थितिमा स्वीकार नगरी त्यसको गहिरो विश्लेषण र परीक्षण गर्नु हो । यो प्रक्रिया केवल आलोचना होइन एक गहन बौद्धिक मूल्यांकन हो, जसले विश्लेषणात्मक पद्धतिबाट नयाँ दृष्टिकोण जन्माउँछ ।

प्राचीन ग्रिकका दार्शनिक सुकरातले सर्वप्रथम सिर्जनात्मक चिन्तनलाई बुद्धिको एउटा महत्त्वपूर्ण अध्याय भनेर व्याख्या गरेको पाइन्छ । यही कुराका बारेमा प्लेटोले आफ्नो पुस्तक ‘द रिपब्लिक’मा सुकरात प्रश्नोत्तर शैली भनेर त्यही प्रश्नोत्तर शैलीका माध्यमबाट न्यायको सिद्धान्त प्रदान गरेका थिए । न्याय, राज्य र सदाचारजस्ता विषयमा प्रश्नोत्तर शैलीमा तर्क गर्दै जानु समालोचनात्मक चिन्तनको आरम्भिक अभ्यास थियो ।
नेपाली समाजमा यसको आवश्यकता झनै आवश्यक महसुस गर्न सकिन्छ । हाम्रो समाज बहुविविधता र रूढिवादी परम्पराले भरिएको छ । यस्तो समाजमा जुनसुकै धारणा वा परम्परालाई चुनौती दिनु सजिलो छैन । परम्परागत सोच, सामाजिक मान्यता, धार्मिक विश्वास र जातीय संरचनाले धेरै कुरालाई ‘क्वेस्चनिङ’बाट बाहिर राखिदिएका छन् । यही कारण  समालोचनात्मक चिन्तनको आवश्यकता झल्किन्छ । उदाहरणका लागि हाम्रो समाजमा अझै पनि जातीय भेदभाव, छुवाछुत, महिला हिंसा, बालविवाह, अशिक्षा, लैंगिक असमानता तथा धार्मिक कट्टरता जस्ता समस्या यथास्थितिमै कायम रहेको अवस्था छ । यस्ता समस्याको जरा हाम्रो सोचकै कारण उखेल्न सकिएको छैन, तिनको अन्त्यका लागि राज्यले केवल कानुन मात्र बनाएर हुँदैन, हामीले आफ्नो सोचमै परिवर्तन ल्याउन आवश्यक हुन्छ ।

हाम्रो समाजमा बालविवाह, छोरीलाई शिक्षा नदिनु, अशुद्धताका नाममा भेदभाव गर्नु, धर्मका नाममा हिंसा गर्नुजस्ता कुरा युगौँदेखि चल्दै आएका छन् । यस्ता सोचलाई केवल भावनाले होइन तथ्य, वैज्ञानिक प्रमाण, अनुभवजन्य तथ्यांक र मानवीय मूल्यका आधारमा परख गर्नु आवश्यक छ ।

समालोचनात्मक चिन्तनले मानिसलाई प्रश्न गर्न सिकाउँछ— किन यस्तो व्यवस्था बन्यो ? कसका लागि यो प्रणाली उपयोगी छ ? के यो विचार यथार्थमा आधारित छ कि केवल भावनामा ?

यस्ता प्रश्नले समाजका जटिल तहहरूमा प्रवेश गर्छन् र परिवर्तनको ढोका खोल्छन् । शिक्षा प्रणाली यो परिवर्तनको महत्त्वपूर्ण माध्यम हो तर हाम्रो शिक्षा प्रणाली अझै पनि रटानमुखी, परीक्षामुखी र एकपक्षीय जानकारी प्रदान गर्ने दिशामा केन्द्रित छ । विद्यार्थीलाई विचार गर्न, प्रश्न गर्न, बहस गर्न र समाधान सोच्न सिकाउनुको सट्टा तथ्यमाथि विश्वास गरेर रट्न बाध्य पारिएको छ । समालोचनात्मक शिक्षाको अभ्यासले मात्र शिक्षालाई यथार्थपरक र उपयोगी बनाउन सक्छ । हामीले यही रटानमुखी शिक्षालाई प्राथमिकता दिइरहने हो भने समालोचनात्मक चिन्तनको विकास हुन वर्षौं लाग्न सक्छ । 

नेपालमा पछिल्ला वर्षमा सामाजिक सञ्जाल र प्रविधिको विकाससँगै विचार–विमर्शको गति बढेको देखिन्छ । विचारहरूको गुणस्तर, तर्कको स्पष्टता र विवेकको प्रयोग अपेक्षाकृत कम देखिन्छ । एकथरी मानिस जुनसुकै कुरा भावनामा बहकिएर बोल्छन्, अर्काथरीले कुनै पनि कुरालाई अन्ध आलोचना गर्छन् । यस्तो परिस्थितिमा समालोचनात्मक चिन्तनको अभ्यास अझ जरुरी हुन्छ । समालोचनात्मक चिन्तनले कुनै विचारको समर्थन वा विरोध होइन उसको गहिरो परीक्षण गर्नुपर्छ भन्ने कुराको विकास गर्छ । यसले एउटै प्रश्नका धेरै उत्तर हुन सक्ने सम्भावनालाई स्विकार्छ । यसले बहसलाई दिशा दिन्छ, समाधानतर्फ डोर्‍याउँछ ।

सामाजिक दृष्टिकोणमा हेर्दा समालोचनात्मक चिन्तनले परम्परागत संरचनाहरूको पुनरवलोकन गर्न मद्दत गर्छ । हाम्रो समाजमा बालविवाह, छोरीलाई शिक्षा नदिनु, अशुद्धताका नाममा भेदभाव गर्नु, धर्मका नाममा हिंसा गर्नुजस्ता कुरा युगौँदेखि चल्दै आएका छन् । यस्ता सोचलाई केवल भावनाले होइन तथ्य, वैज्ञानिक प्रमाण, अनुभवजन्य तथ्यांक र मानवीय मूल्यका आधारमा परख गर्नु आवश्यक छ । साहित्य, कला र पत्रकारिता क्षेत्रले पनि समाजको आलोचनात्मक विमर्शलाई अघि बढाउने ठुलो जिम्मेवारी बोकेको छ । समसामयिक यथार्थको चित्रण गर्ने माध्यम भएर तिनले समाजका समस्यालाई उजागर गर्न, समाधानको संकेत गर्न र नयाँ चेतनाको बिउ रोप्न सक्छन् ।

राजनीतिक वृत्तमा पनि समालोचनात्मक चिन्तन आवश्यक छ । नेताहरूको निर्णय, नीति–निर्माण र वक्तव्यलाई अन्धसमर्थन वा अन्धविरोधबाट होइन तथ्यमा आधारित विश्लेषणद्वारा मूल्यांकन गर्न सक्नुपर्छ । लोकतन्त्रको आधार नै आलोचना, बहस र पारदर्शितामा निर्भर छ । जब नागरिकहरू विचारको परीक्षण गर्न सिक्छन् तब मात्र शासन उत्तरदायी बन्न सक्छ ।

नेपाल अहिले संविधान कार्यान्वयन, संघीयता, समावेशिता, शिक्षा, रोजगारी, विकास, भ्रष्टाचार, जलवायु परिवर्तनजस्ता थुप्रै चुनौतीसँग जुधिरहेको छ । यस्ता जटिल र बहुआयामी समस्यालाई हल गर्न पनि सतही सोचले कुनै कार्य गर्दैन त्यसका लागि पनि गहिरो विश्लेषण आवश्यक पर्छ ।

युवा पुस्ताले समालोचनात्मक चिन्तनलाई आत्मसात गर्न सक्यो भने नेपाल नयाँ दिशामा अघि बढ्न सक्छ । युवा ऊर्जा केवल जोश होइन सोच पनि हुनुपर्छ । सोचले मात्र दीर्घकालीन परिवर्तन ल्याउँछ । अहिलेको पुस्ताले देखिएको परिवर्तनलाई परीक्षण गर्न, ऐतिहासिक दृष्टिकोणबाट मूल्यांकन गर्न र भविष्यका लागि उत्तरदायी निर्णय लिन सक्नुपर्छ ।

अन्ततः, समालोचनात्मक चिन्तन कुनै पनि समाजको बौद्धिक स्वास्थ्यको सूचक हो । सोच्न सक्ने, प्रश्न गर्न सक्ने, विश्लेषण गर्न सक्ने नागरिक हुनु भनेको लोकतन्त्र, समानता र समृद्धिका लागि जग बसाउनु हो ।
समालोचनात्मक चिन्तन केवल बौद्धिक अभ्यास होइन समाज परिवर्तनका आधार हो । कल्पनाबाट जन्मिएका विचारहरूलाई तर्क र प्रमाणका आधारमा परीक्षण गरी सत्य–असत्य छुट्ट्याउने क्षमता नै यो चिन्तनको मूल सार हो । नेपाली समाज विविधताले भरिएको, रूढिवादी परम्पराले गाँजिएको र परिवर्तनको चाहना बोकेको समाज हो । यस्तो समाजलाई नयाँ युगमा लैजान हामीलाई समालोचनात्मक चिन्तनको गहिरो आवश्यकता छ । शिक्षा, राजनीति, साहित्य, विज्ञान, सञ्चारदेखि सबै क्षेत्रमा यस्तै सोचको विकास भए मात्र नेपाल आत्मनिर्भर एवं समावेशी राष्ट्र बन्न सक्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ईश्वरदत्त भट्ट
ईश्वरदत्त भट्ट
लेखकबाट थप