बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

एमाले बैठकमा विद्या भण्डारीको चर्चा, मुख नखोल्दा अन्योल

भँगालको सक्रियताले एमालेमा भँगालो फाट्ला कि एमालेको भलो होला ?
बिहीबार, १२ असार २०८२, १५ : २८
बिहीबार, १२ असार २०८२

सारांश

  • एमालेको सचिवालय बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिमा पुनरागमनबारे छलफल भयो।
  • अध्यक्ष ओलीले भण्डारीको सक्रिय राजनीतिमा फर्कने सम्भावनाबारे अस्पष्ट प्रतिक्रिया दिए, तर सहमतिमा आउने संकेत गरे।
  • बैठकमा सरकारको एक वर्षे कार्यकाललाई सन्तोषजनक मान्दै मन्त्रीहरूलाई अझ सक्रिय हुन निर्देशन दिइयो।

काठमाडौँ । नेकपा एमालेको ५३ औँ केन्द्रीय सचिवालय बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कने वा नफर्कने भन्नेबारे चर्चा भएको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकमा सदस्यहरूले पछिल्ला दिनमा पूर्वराष्ट्रपति भण्डारीले गरेका विभिन्न जिल्ला भ्रमण, भेटघाट, संवाद र अभिव्यक्ति एमालेको आन्तरिक राजनीतिमा जोडिएको भन्दै अध्यक्ष केपी शर्मा ओलीको मुड बुझ्ने प्रयास गरेका थिए ।

सदस्यहरूले प्रसङ्ग निकालेपछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली पूर्वराष्ट्रपति भण्डारीबारे मुख खोल्न बाध्य भएका थिए । त्यसक्रममा उनले लामो भूमिका बाँधेर विद्याबारे व्याख्या गरेका थिए ।

‘उहाँ (विद्यादेवी भण्डारी)बारे सञ्चारमाध्यमहरूमा भइरहेका चर्चा परिचर्चा मैले पनि सुनिराखेको छु । चर्चा परिचर्चा आ–आफ्नै ढंगले भइरहेका छन् । ती आ–आफ्नै स्वार्थ अनुकूल पनि देखिन्छन्,’ बैठकमा ओलीले राखेको धारणा उद्धृत गर्दै स्रोतले भन्यो ।

कतिपय सञ्चारमाध्यमले अब हुने ११ औँ महाधिवेशन र एमालेको नेतृत्व चयनसँग जोडेर त्यस्ता चर्चा परिचर्चा गरे पनि उहाँ आफैँले ‘म अब सक्रिय राजनीतिमा आउँछु र फलानो पदमा प्रतिस्पर्धा गर्छु’ भनेर नभनेको अवस्थामा अनुमानका भरमा यो र त्यो भन्नु उचित नहुने विश्लेषण ओलीले सुनाएका थिए । साथै उनले भण्डारी पार्टीको सक्रिय राजनीतिमा आउने नै हो भने पनि सहमतिमै आउने सङ्केत गरेका थिए ।

‘उहाँले म फलानो पदमा आउँछु भनेर अहिलेसम्म भनेको अवस्था छैन । न व्यक्तिगत रूपमा भन्नुभएको छ, न सार्वजनिक रूपमै भन्नुभएको छ, तर अनुमानका भरमा अनावश्यक चर्चा हुँदै आएका छन्’, ओलीले बैठकमा ब्रिफिङ गर्दै भनेका थिए ।

सम्बन्धित व्यक्तिले प्रस्ट निर्णय नगर्दा र मुख नखोल्दासम्म अनुमानका भरमा गरिने चर्चा परिचर्चाको कुनै अर्थ नरहेको समेत ओलीले बताएका थिए । ओलीले यसो भनेपछि एक सचिवालय सदस्यले ‘भण्डारी आफैँले मुख नखोल्दासम्म यो विषय ‘सस्पेन्स’ नै रहने देखियो’ भनेर आफ्नो मत राखेका थिए । त्यो मतमा अध्यक्ष ओलीले पनि समर्थन जनाएका थिए । 

‘उहाँ नबोलेको अवस्थामा हामी कसैले तपाईं आउनुस् वा नआउनुस् भन्न सक्ने अवस्था रहँदैन । व्यक्ति आफैँले सोचेर निर्णय लिने हो’, ओलीको भनाइ उद्धृत गर्दै एक सचिवालय सदस्यले भने, ‘तपाईं आउनुस् भनेर र नआउनुुस् भनेर पनि केही हुँदैन ।’

बैठकमा भण्डारीका बारेमा भएको चर्चा र अध्यक्ष ओलीले गरेको विश्लेषण सुनाउँदै ती सदस्यले रातोपाटीसँग भने, ‘विद्या भण्डारीका बारेमा बुधबारको बैठकमा कुरा उठ्यो । चर्चा भयो । उहाँले अहिलेसम्म म फलानो पदमा उठछु भनेर कतै भन्नुभएको छैन । फलानो पदमा म उठ्न चाहन्छु भनेर पनि सार्वजनिक वा व्यक्तिगत रूपमा भन्नुभएको छैन । पार्टीमा आवश्यक प¥यो भने तयार छु मात्र भन्नुभएको हो । त्यो आवश्यकता महसुस पार्टीले गर्ने हो ।’

अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीबारे बाहिर भइरहेका चर्चाबारे निष्कर्षका रूपमा सुनाउँदै थप भनेका थिए, ‘...त्यसैले हामी कसैले पनि तपाईं आउनुस् र नआउनुस् भन्न पनि मिल्दैन ।’

भण्डारी ७ वर्षसम्म राष्ट्रपति पदमा रहेर २०७९ साल फागुनमा शीतल निवासबाट बाहिरिएकी थिइन् । त्यस यता उनी बुढानीलकण्ठ, भँगालस्थित निजी निवासमा बस्दै आएकी छन् । उनी पछिल्लो समय विभिन्न सामाजिक कार्यक्रममा सहभागी हुने र विभिन्न जिल्ला पुगेर एमाले नेता–कार्यकर्तासँग भेटघाटमा पनि सक्रिय भएकी छन् । त्यसबाहेक उनले छिमेकी मुलुक चीनको भ्रमणसमेत गरेकी छन् ।

उनको जिल्ला भ्रमण, एमाले नेता–कार्यकर्ताहरूसँगको संवाद र छलफल अनि उत्तरी छिमेकी मुलुक चीन भ्रमणलाई कतिपयले एमालेको सक्रिय राजनीतिमा फर्कने ‘वामअर्प’का रूपमा अर्थ्याउने गरेका छन् । एमालेकै कतिपय नेता–कार्यकर्ता पनि त्यसलाई स्वीकार गरिरहेका छन् । यस्तो अवस्थामा अध्यक्ष ओलीले विश्राम लिनुपर्ने र भण्डारीले पार्टीको नेतृत्व लिनुपर्ने ती नेता–कार्यकर्ताको मत रहँदै आएको छ ।

तर एमाले अध्यक्ष ओली अहिले नै भण्डारीलाई नेतृत्व सुम्पन तयार देखिँदैनन् । ओलीका पछिल्ला अभिव्यक्तिमा पनि आफू अझै स्वस्थ, सक्रिय र क्रियाशील रहेकाले केही वर्ष आफ्नै नेतृत्वमा पार्टी चलाउने चाहना रहेको बुझ्न कठिन छैन ।

उता भण्डारीले विभिन्न सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै पार्टीमा आफ्नो आवश्यकता महसुस भए आफू सक्रिय राजनीतिमा फर्कने चाहना व्यक्त गर्दै आएकी छन् । भण्डारीले भन्ने गरेकी छन्, ‘म एमालेको सक्रिय राजनीतिमा फर्कंदा पार्टी अझ क्रियाशील हुन्छ र फाइदा हुन्छ भने र पार्टीले आवश्यकताबोध गर्छ भने ठिकै छ, तर मैले व्यक्तिगत रूपमा अब केही लिनुदिनु छैन ।’

हुन पनि दुईपटक राष्ट्रपति, पटक पटक सांसद र मन्त्री भइसकेकाले भण्डारीले व्यक्तिगत रूपमा पाउनु केही छैन । यद्यपि समकालीन नेताहरू सक्रिय राजनीतिमा रहेका कारण पनि उनी आवश्यकताका आधारमा पार्टी नेतृत्वको भूमिकामा फर्कन चाहन्छिन् । सकभर ओलीकै सहमतिमा र सर्वस्वीकार्य नेतृत्व गर्ने अवस्था आएमात्र पार्टी राजनीतिमा सक्रिय हुने भण्डारीको योजना छ ।

भण्डारीको सक्रियता, एमाले नेतृत्वमा उमेरहद र दुई कार्यकालको विषयबारे एमालेभित्र र बाहिर समेत व्याख्या र विश्लेषण भइरहेका छन् ।

यदि एमालेमा ७० वर्षे उमेरहद कायम रहे त्यसपछि पार्टीको नेतृत्व स्वतः भण्डारीले लिने कतिपयको बुझाइ छ । २०७८ सालमा ७० वर्षे उमेर हद लगाएको एमालेले गत वर्षमात्रै उक्त व्यवस्था केही समयलाई निलम्बन गरेको थियो । आगामी भदौमा हुने दोस्रो विधान महाधिवेशनले उक्त व्यवस्था कायम गर्ने वा हटाउने भन्ने निर्णय समेत गर्नेछ ।

एमाले सचिवालय बैठकमा उमेर हद र दुई कार्यकालबारे खासै छलफल नभएको र विधान महाधिवेशनबाट यो विषय टुङ्गो लाग्ने नेताहरू बताउँछन् । यद्यपि यो विषय प्राविधिकमात्र भएकाले धेरै छलफल गर्न जरुरी नरहेको उनीहरूको भनाइ छ ।

नेताहरूले यस्तो तर्क गरे पनि दोस्रो विधान महाधिवेशन र ११ औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा एमालेमा उमेरहदको विषय पेचिलो बन्दै गएको प्रस्टै देखिन्छ ।

अध्यक्ष ओली र उनी पक्षका नेताहरू कार्यकारी पद र उमेर हदको समय तोक्न नहुने पक्षमा देखिन्छन् भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायतका केही पदाधिकारी उमेर हद तोकेरै जानुपर्ने पक्षमा बोल्न थालिसकेका छन् ।

भदौ २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेस गर्नेछन् । उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रतिवेदन पेस गर्नेछन् । पौडेलले पेस गर्ने प्रस्तावमा यो विषय समेटिने नेताहरू बताउँछन् ।

विधान महाधिवेशनअघि तयारीका लागि एमालेले साउन २ गते पोलिटब्यूरो बैठक र साउन ५ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ । ती बैठकमार्फत विधान संशोधन प्रस्ताव तयार गरेर तल्ला कमिटीमा सुझावका लागि पठाउने र विधान महाधिवेशनबाट उमेरहद र दुई कार्यकालको छिनोफानो गर्नुअघि एमालेमा यिनै दुई विषय बहसको केन्द्रमा रहने देखिएको छ ।

‘एमालेमा उमेरहद र दुई कार्यकालको विषय बहसमा आइसकेको छ । यो बहसमा पूर्वराष्ट्रपति विद्या भण्डारी र उनको राजनीति गर्ने चाहना पनि कतै न कतै जोडिन्छ’, एमालेका एक पदाधिकारी भन्छन् । अध्यक्ष ओली अझै पनि आफैँ पार्टी अध्यक्ष बन्न खोजिरहेको र ‘भँगाल’को सक्रियता पनि त्यतिकै रहेको उनको भनाइ छ । ‘यसलाई एमाले नेता–कार्यकर्ताले समायोजन गर्न सके पार्टीको भलो होला नत्र एमालेमा भँगालो अझ फाट्न पनि सक्छ,’ उनले भने ।

  • सरकार सफल तर सोचेअनुसार भएन

एमाले सचिवालय बैठकमा विद्या भण्डारीबाहेक अध्यक्ष ओली नेतृत्वको कांग्रेस–एमाले गठबन्धनको एक वर्षे कार्यकालको समेत समीक्षा भएको थियो । बैठकले समग्रमा सरकारको एक वर्षे कार्यकाल सफल भएको निष्कर्ष निकालेको थियो ।

‘सरकार असफल छैन, सफल नै छ तर सोचेको र चाहेको जति काम हुन सकेको छैन’, उपाध्यक्ष युवराज ज्ञवालीले बैठकमा भएको समीक्षा सुनाउँदै भने, ‘तर सरकारका काम कारबाही अझ प्रभावकारी बनाउन समग्रमा मन्त्रीहरूले सक्रियता देखाउनुपर्छ । मन्त्रीहरूले मेहनत गर्नुपर्छ । ब्युरोक्रेसीका काममा अनुगमन र ताकेतामा ध्यान दिनुपर्ने देखिन्छ ।’

ज्ञवालीले सहमतिको सरकार भएकाले सरकारले चाहँदा चाहँदै पनि कतिपय काम गर्न नसकेको बताए । ‘दुई–तीन दल मिलेर बनेको सरकारले सबै चाहेको काम पनि गर्न सक्दैन, तर जनआकांक्षा अनुसारका काममा अझै ध्यान दिनुपर्छ भन्ने बैठकको निष्कर्ष छ’, उनले भने ।

उपमहासचिव प्रदीप ज्ञवालीले बैठकमा अध्यक्ष ओलीले मुलुकको बदलिँदो परिस्थिति, पार्टीको रणनीतिक कार्यदिशा, सरकारको कार्यसम्पादन र बजेट सम्बन्धी संक्षिप्त जानकारी गराएको बताए ।

‘बैठकले सरकारको एक वर्षे कार्यकाललाई सन्तोषजनक र प्रभावकारी ठहर गर्दै आर्थिक पुनःस्थापनादेखि जनविश्वास अभिवृद्धिसम्मका क्षेत्रमा उल्लेखनीय सफलता प्राप्त भएको निष्कर्ष निकालेको छ’, उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप