शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : कलाकारको ‘एक्सपोज’ अभियानदेखि विद्याबारे ओलीको मुड बुझ्ने प्रयाससम्म

बिहीबार, १२ असार २०८२, २२ : ००
बिहीबार, १२ असार २०८२

 काठमाडौँ । आज मिति २०८२ साल असार महिनाको १२ गते बिहीबार । आज दिनभर भएका मुख्यमु्ख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा ‘१० बजे १० समाचार’ लिएर हाजिर भएका छौँ–

१. समिति बैठक

यो वर्षको मनसुनमा मात्रै करिब २० लाख मानिस प्रभावित हुने देखिएको छ । राष्ट्रिय जोखिम तथा विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो वर्षामा मात्रै ४ लाख ४७ हजार घरधुरीका १९ लाख ९७ हजार मानिसहरू कुनै न कुनै रूपले प्रभावित हुने अनुमान गरेको हो ।

२. भिजिट भिसा प्रकरण

सरकारले पूर्वमुख्यसचिव शंकरदाश बैरागीको नेतृत्वमा बनाएको ‘अध्यागमन र भिजिट भिसा सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन एवं छानबिन समिति’ले अनियमितताबारे छानबिन नगर्ने भएको छ ।

३.  कलाकारको ‘एक्सपोज’ अभियान

केही अघिसम्म कलाकारहरू आफूमाथि सामाजिक सञ्जालमा हुने गरेका अभद्र टिप्पणीमा चुप लागेरै बस्थे । प्रतिक्रिया जनाउँदा विषय अझै बल्झिँदै जाने चिन्ताले उनीहरू यस्ता कुरालाई सार्वजनिक गर्न डराउँथे । आफ्नो सामाजिक प्रतिष्ठामा असर पुग्ने डरले पनि उनीहरू त्यस्ता दुव्र्यवहारमा कुनै प्रतिक्रिया दिँदैनथे ।

अहिले समय फेरिएको छ । सामाजिक सञ्जालमा हुने गरेका दुव्र्यवहार र नकारात्मक टिप्पणी लुकाउने र सहने मानसिकताबाट कलाकार बाहिर निस्कन थालेका छन् । उनीहरू आफूमाथि हुने साइबर दुव्र्यवहारविरुद्ध खुलेर प्रतिवाद गर्न थालेका छन् ।

४. शिक्षा विधेयक

विद्यालय शिक्षा विधेयक पारितको अन्तिम चरणमा पुगेको छ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समितिले विधेयकलाई भोलिसम्ममा पारित गर्ने तयारी गरेको हो ।

विधेयक अन्तिम चरणमा पुगिरहेको वेला विधेयकमा सुरुदेखिको विवादित विषय भने झन पेचिलो बन्दै गएको छ । निजी विद्यालयको सञ्चालन तथा व्यवस्थापनको विषय थप पेचिलो बनेको हो । निजी विद्यालयलाई निश्चित समयभित्रमा सार्वजनिक गुठी तथा नाफारहित बनाउने वा निर्वाध रूपमा सञ्चालन गर्न दिने विषयमा समिति सदस्यहरूबिच रस्साकस्सी भएको हो ।

५. जनमतको असन्तुष्टि

डा सीके राउत नेतृत्वको जनमत पार्टीले सचिवालय बैठक बोलाएको छ।  मधेसमा सरकारको नेतृत्वकर्ता दल जनमतलाई नै बाइपास गरेर बजेट ल्याउने काम भएको भन्दै आक्रोशित उक्त पार्टीले आइतबार दिउँसो १ बजेका लागि सचिवालय बैठक बोलाएको हो ।

६. अदालत

गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवादसम्बन्धी थप दुई मुद्दा पूर्ण इजलासमा पेस गर्न आदेश भएको छ । बिहीबार सर्वोच्च अदालतका न्यायाधीशत्रय तिलप्रसाद श्रेष्ठ, अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको इजलासले अभियन्ता आरके शर्माले दायर गरेको दुई मुद्दा पूर्ण इजलासमा पेस गर्न आदेश दिएको हो ।

७. मलको सधैँ सकस

देशैभरि धमाधम रोपाइँ भइरहेको छ । तर मुख्य रोपाइँको वेला यस वर्ष पनि मल पर्याप्त मल नपाइएको गुनासो किसानहरूबाट आउन थालिसक्यो । धान रोप्नुपर्ने वेला किसानहरू रासायनिक मलको जोहो गर्न भौँतारिनुपर्ने अवस्था छ ।

८. विद्या भण्डारीको चर्चा

नेकपा एमालेको ५३ औँ केन्द्रीय सचिवालय बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कने वा नफर्कने भन्नेबारे चर्चा भएको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकमा सदस्यहरूले पछिल्ला दिनमा पूर्वराष्ट्रपति भण्डारीले गरेका विभिन्न जिल्ला भ्रमण, भेटघाट, संवाद र अभिव्यक्ति एमालेको आन्तरिक राजनीतिमा जोडिएको भन्दै अध्यक्ष केपी शर्मा ओलीको मुड बुझ्ने प्रयास गरेका थिए ।

९. उपचारमा लापरबाही प्रकरण

उपचारमा लापरबाहीका कारण बिरामीको मृत्यु भएको घटनामा उपभोक्ता अदालतले हालसम्मकै ठुलो क्षतिपूर्ति तिराउने फैसला गरेको छ ।

बिहीबार न्यायाधीशत्रय रामप्रसाद शर्मा, गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको संयुक्त इजलासले हिमाल हस्पिटल प्रालि र उपचारमा संलग्न डाक्टरलाई १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने फैसला गरेको हो ।

१०. खेलकुद

नेपाली महिला राष्ट्रिय टोली एएफसी एसियन कप छनोट २०२६ खेल्न बुधबार उज्बेकिस्तान पुगेको छ । उक्त टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले भव्य बिदाइ गरेको थियो ।

 तर, नेपाली प्रतियोगिता खेल्नका लागि कप्तान नै नतोकेको पाइएको छ । फुटबलको इतिहासमा पहिलो पटक कुनै राष्ट्रिय टोली अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जाँदा कप्तान विनै नेपाली टोली पुगेको हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप