बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
पप्पुले १२ वर्षमा पनि बनाउन नसकेको तीनकुने र टेकु पुल (तस्बिरहरू)
फोटो फिचर

पप्पुले १२ वर्षमा पनि बनाउन नसकेको तीनकुने र टेकु पुल (तस्बिरहरू)

शुक्रबार, १३ असार २०८२

काठमाडौँ । आजभन्दा १२ वर्ष अगाडि एकै समयमा निर्माण सुरु भएका काठमाडौँको तीनकुने र टेकु-कालीमाटी पक्की पुल अहिलेसम्म अलपत्र छन् । त्यहीबेला काम थालिएका बिजुलीबजार र डल्लुको पुल सञ्चालनमा आएको लामो समय भइसक्यो तर तीनकुने र टेकु पुलको अवस्था भने दर्दनाक छ ।

२०७१ सालमा पप्पु कन्स्ट्रक्सन प्रालिले काठमाडौँका चार पक्की पुलको ठेक्का पाएको थियो । एउटा प्याकेजमा टेकु र डल्लु पुल अनि अर्को प्याकेजमा तीनकुने र बिजुलीबजार पुल ठेक्का लगाइएको थियो । 

पप्पु कन्स्ट्रक्सनले चारवटै पुलको निर्माण २०७४ सालमा सक्ने गरी सम्झौता भएको थियो । म्याद थप्दैथप्दै २०७६ सालमा बिजुलीबजारको पुल सञ्चालनमा आयो । डल्लु पुल २०७८ मा तयार भएर प्राविधिक जाँचपछि कम्पनीले सरकारलाई हस्तान्तरण गर्‍यो र सञ्चालनमा आयो ।

टेकु पुलमा भने निर्माण कम्पनीको बदमासी फेला पर्‍यो । त्यसपछि प्राविधिक समस्या आएको भन्दै सरकारले तयार भएको पुल बन्द गर्‍यो । ठेकेदार कम्पनीले कमसल गुणस्तरको सामग्री प्रयोग गर्दा पुल सवारी चलाउन अयोग्य भएको हो । अहिले पनि यो पुलमा सवारीसाधन चलाउन पाइँदैन ।

Teku Kalimati Bridge (2)

अलपत्र पुल सञ्चालन गर्ने कि भत्काउने भन्ने विषय अझै अन्योलमा छ । गत जेठ २० गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पुलको लोड टेस्ट गरेर सञ्चालन गर्नेतर्फ सरकार लागिरहेको बताएका थिए । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री दाहालले सञ्चालन गर्न योग्य भएको खण्डमा लोड टेस्ट गरेर सञ्चालनमा ल्याउने तयारीमा आफूहरू लागिपरेको बताएका हुन् ।  

Teku Kalimati Bridge (3)

तीनकुनेको पुल त झन् बन्दै बनेन । २०७१ सालमै ठेक्का लगाइएको यो पुल निर्माणमा ठेकेदारले चरम लापरबाही गरेको प्रमाणित भइसकेको छ । तोकिएभन्दा फरक डिजाइन र कमसल तरिकाले निर्माण सुरु थालेपछि बिचमै सडक विभागले काम रोकिदिएको थियो । 

Teku Kalimati Bridge (4)

२०७७ सालमा काम रोकिएकोमा अहिलेसम्म सुचारु भएको छैन । गुणस्तरहीन काम भएपछि ढलान गर्ने अवस्थामा पुगेको पुल सरकारले भत्काएको छ । अहिले पुलको वारिपारि दुईवटा पिलर र बेसमेन्ट मात्र देखिन्छ।

Teku Kalimati Bridge (5)

अलपत्र संरचना सवारीसाधन र पैदल यात्रुका लागि जोखिम बनेको छ । पुल बनाउन खनिएको खाल्डोमा मोटरसाइकल खस्दा २०८० असोज १४ गते एक जनाको मृत्यु भएको थियो ।

Teku Kalimati Bridge (6)

पप्पुसँगको ठेक्का तोडेर नयाँ प्रक्रिया अघि बढाउन लागेको सरकारी अधिकारीहरूले बताएका छन् । टेकु र तीनकुने पुलमा सवारीसाधन सञ्चालन नहुँदा त्यस क्षेत्रमा बिहान र बेलुकी सवारीसाधनको जाम हुने गरेको छ । तस्बिरहरू :  नेपाल फोटो लाइब्रेरी

Teku Kalimati Bridge (7)Teku Kalimati Bridge (8)Teku Kalimati Bridge (9)Teku Kalimati Bridge (10)Teku Kalimati Bridge (11)Teku Kalimati Bridge (12)Teku Kalimati Bridge (13)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया