१३औँ सागका स्वर्णधारीहरूले छाडे देश
सारांश
- १३औँ सागमा स्वर्ण पदक विजेता खेलाडीहरू विदेश पलायन हुँदा नेपाली खेलकुदमा चिन्ता बढेको छ।
- तेक्वान्दोका स्वर्ण विजेता खेलाडीहरूले देशमा भविष्य नदेखेपछि विदेश पलायन हुनुपरेको गुनासो गरेका छन्।
- खेलाडी पलायन रोक्न संघको प्रयास असफल भएको र सरकारले खेलकुदलाई प्राथमिकता नदिएको आरोप छ।
काठमाडौँ । नेपालको खेलकुद इतिहासमा १३औँ दक्षिण एसियाली खेलकुद (साग) एक अविस्मरणीय र स्वर्णिम बनेको छ । घरेलु भूमिमा आयोजित उक्त प्रतियोगितामा नेपाली खेलाडीहरूले कीर्तिमानी र ऐतिहासिक ५१ स्वर्ण पदक अभूतपूर्व प्रदर्शन गरेका थिए ।
तेक्वान्दो विधामा मात्र नेपालले १२ स्वर्ण घरबाट जान दिएको थिएन । यो १२ स्वर्णमा १६ खेलाडी दिलाएका थिए ।
तर, आज त्यही स्वर्ण दिलाउनेमध्ये आधा खेलाडी नेपालमा छैनन्, उनीहरू पलायन भएका छन् । देशका लागि पसिना बगाएर स्वर्णधारीहरू नै यसरी धमाधम विदेश पलायन हुनुले नेपाली खेलकुदको दयनीय अवस्था देखाएको छ । र, यो क्रम नरोकिए खेल क्षेत्रकै बिजोग अवस्था आउन सक्ने खेल सरोकारहरू बताउने गर्छन् ।
नेपाल तेक्वान्दो संघका अनुसार १३औँ सागमा तेक्वान्दोअन्तर्गत पनि पुम्से उपविधा नेपाललाई सबैभन्दा बढी स्वर्ण पदक दिलाएको थियो । उक्त सफलता दिलाउने आयसा शाक्य, सन्जिवकुमार ओझा, निशा दर्नाल, स्वस्तिका तामाङ, निता गुरुङ, सुशीला राई, काजल श्रेष्ठ र वीरबहादुर महरा मात्रै हाल नेपालमा छन् ।
बाँकी खेलाडीहरू कमल श्रेष्ठ, सिना मादेन लिम्बू, पार्वती गुरुङ, सञ्जिला तिमल्सिना, प्रशंसा क्षेत्री, संगीता बस्याल र भुपेन श्रेष्ठसहित ८ जनाले देश छाडिसकेका छन् ।
वर्षौंको लगानी गरिएका यस्ता खेलाडीहरू पलायन भइरहे अन्तर्राष्ट्रिय खेलकुद मञ्चमा नेपालको झन्डा फहराउने नै बाँकी नहोलाल् भन्ने चिन्ता थपिएको छ ।
तर यसरी बिदेसिएका खेलाडीहरूको पनि आफ्नै बाध्यता छ । उनीहरू भनेका छन्, ‘नेपालमा खेल खेलेर भविष्य सुरक्षित देखिएन ।’
- ‘स्वर्ण नै पलायन भएजस्तो लाग्छ’
नेपालकी राष्ट्रिय तेक्वान्दो प्रशिक्षक तथा १३औँ सागकी दोहोरो स्वर्ण विजेता आयसा शाक्य अहिले नयाँ पुस्ताका खेलाडीहरूलाई प्रशिक्षण दिँदैछिन् । उनले उक्त सागमा एकल र समूहगत गरी दुवै इभेन्टमा स्वर्ण जितेकी थिइन् । आफ्नै सहकर्मी र साथीहरू धमाधम बिदेसिएको देख्दा उनको पनि मन दुखेको छ । भन्छिन्, ‘खेलाडीहरू विदेश पलायन हुँदा कसको सोचमा के आयो, त्यो मलाई थाहा भएन । तर, मलाई मेरा सबै स्वर्णहरू गुमेको जस्तो लाग्यो ।’
१३औँ साग सकिएलगत्तै विश्वव्यापी कोरोना महामारीले खेलकुद क्षेत्र ठप्प भयो । लामो समयसम्म खेलविहीन बनेका खेलाडीहरू आर्थिक अवस्था र अनिश्चित भविष्यप्रति चिन्तित थिए । र यही चिन्ताबिच उनीहरूले देश छाडेका थिए ।

आयसाका अनुसार उनीहरूलाई देशमै रोक्न सक्ने कुनै ठोस आधार वा कार्यक्रम राज्य वा सम्बन्धित संघले दिन सकेन । उनले रातोपाटीसँग भनिन्, ‘उनीहरूलाई रोकेर राख्न त्यस्तो कुनै आधार पनि बनेन । न त भविष्य सुनिश्चित गराइदिन्छु भनेर देश र संघले राख्न सक्यो ।’
आयसालाई खेलाडीले गरेको मिहिनेतको उचित कदर नभएको जस्तो लागेको छ । यही नै खेलाडी विदेश पलायन हुनुको मुख्य कारण मान्छिन् उनी ।
सरकार र संघले समयमै उनीहरूको भविष्यको ग्यारेन्टी गरिदिएको भए नेपालले अन्तर्राष्ट्रियस्तरमा अझै धेरै पदक जित्ने उनको विश्वास छ । ‘अहिले पनि खेलाडीले अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता खेल्नुपर्दा आफ्नै खर्चमा जानुपर्ने अवस्था छ । उनीहरूले आफैँले नै भविष्य सुनिश्चित गर्छु भन्ने कुनै आधार पनि छैन’, यस्तो वातावरणमा खेलाडीहरूलाई देशमै बस्न प्रेरित गर्न नसकिने उनी तर्क गर्छिन् ।
- संघले पनि रोक्न सकेन खेलाडीलाई
नेपाल तेक्वान्दो संघले खेलाडीहरूको पलायन रोक्न प्रयास गरे पनि सफल हुन नसकेको स्विकारेको छ । संघका महासचिव दीपराज गुरुङका अनुसार संघले खेलाडीहरूलाई देशमै बस्नका लागि विभिन्न आधारहरू भने प्रस्तुत गरेको थियो ।
‘कुनै पनि संघलाई आफ्नो खेलाडी विदेश पलायन होस् भन्ने लाग्दैन । हामीले खेलाडीलाई नेपालमै रहन धेरै आधार दिएका थियौँ । देशका लागि स्वर्ण जितेका खेलाडीहरू संघका लागि पनि एक बलियो आधार हुन्,’ गुरुङ भन्छन्, ‘तर हामीले जुनसुकै आधार देखाए पनि उनीहरू रोकिने अवस्थामा थिएनन् ।’
महासचिव गुरुङले संघको तर्फबाट प्रयास भएको बताए पनि पछिल्लो समय तेक्वान्दोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको कमी, खेलाडीहरूका लागि नियमित प्रशिक्षण र प्रोत्साहनको अभाव, र सरकारको उदासीनताजस्ता कारण खेलाडीहरूमा निराशा बढेको हो भन्न सकिन्छ ।
भविष्य सुरक्षित गर्न नसक्दा र आफ्नो खेल जीवनपछि के गर्ने भन्ने अन्योल हुँदा उनीहरू पलायन भएका बुझ्न सकिन्छ ।
- बाँकी खेलाडी पनि विदेश पलायनको बाटोमा
राष्ट्रिय टिम तयारीका संयोजक तथा तेक्वान्दोका कीर्तिमानी खेलाडी दीपक विष्ट खेलाडी पलायनको यो श्रृंखला नरोकिने बताउँछन् । देशमा खेल खेल्ने उचित वातावरण नहुनु र सरकारले खेल र खेलाडीलाई उपेक्षा गर्नुले बाँकी खेलाडी पनि देश छाड्ने अवस्था मा पुगेका उनको भनाइ छ ।

सागका स्वर्णधारीहरूको पलायनले राष्ट्रिय टिमको तयारीमा गम्भीर असर परेको पनि उनले बताए । ‘सागमा स्वर्ण जितेका खेलाडीहरू सबै विदेश पलायन हुँदैछन् । बाँकी भएका पनि विदेश पलायनकै बाटोमा छन् । यसले नयाँ खेलाडीहरूमा पनि नकारात्मक सन्देश गएको छ,’ विष्टले चिन्ता व्यक्त गरे ।
सरकारले पछिल्लो समय खेलकुदमा बजेट बढाए पनि त्यो देखावटी मात्र भएको उनी तर्क गर्छन् । ‘झट्ट हेर्दा अहिले सरकारले खेलकुदमा बजेट बढाएको देखिए पनि वास्तविकतामा खेल र खेलाडीका लागि कुनै बजेट छैन । अधिकांश बजेट भौतिक पूर्वाधारमा केन्द्रित छ,’ उनले भने ।
खेलाडीहरू विदेश पलायन भएको अवस्था देखेको सरकारले खेलाडीका लागि बजेट ल्याउनुपर्ने पनि सुझाव दिए । भने, ‘भौतिक पूर्वाधार मात्र नेपाली खेल र खेलाडीका लागि मुख्य पाटो होइन, सरकारले खेलाडीका लागि भनेर बजेटमा केही सोचेन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण