शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

एक सिजनपछि नै ओलिभिए जिरूले छाडे एलएएफसी

शनिबार, १४ असार २०८२, ०८ : २८
शनिबार, १४ असार २०८२

सारांश

  • फ्रान्सेली स्ट्राइकर ओलिभिए जिरू र लस एन्जलस एफसीबीचको सम्झौता आपसी सहमतिमा भंग भएको छ।
  • जिरूले २०२४ मा एलएएफसीलाई यूएस ओपन कप जिताउन निर्णायक गोल गरेका थिए।
  • अब जिरू फ्रेन्च क्लब लिलसँग एक वर्षको सम्झौता गर्ने तयारीमा छन्।

लस एन्जलस । फ्रान्सेली स्ट्राइकर ओलिभिए जिरू र अमेरिकी फुटबल क्लब लस एन्जलस एफसी (एलएएफसी) ले आपसी सहमतिमा सम्झौता भंग गरेका छन्। क्लबले दिएको जानकारी अनुसार जिरूको सम्झौता जुन ३० बाट औपचारिक रूपमा अन्त्य हुनेछ।

३८ वर्षीय जिरूले सन् २०२४ मा एमएलएस क्लब एलएएफसीमा प्रवेश गरेका थिए र सबै प्रतियोगितामा पाँच गोल गरेका थिए। तर पछिल्ला १६ नियमित खेलमध्ये उनले केवल पाँच खेलमा मात्र सुरुवाती टोलीमा स्थान पाए।

एलएएफसीका सह–अध्यक्ष तथा महाप्रबन्धक जोन थोरेन्टनले भने, ‘ओलिभिए एक आदर्श व्यावसियक खेलाडी हुन्। उनले क्लबमा विनम्रता र विजयी मानसिकता ल्याए, जसले सबैलाई सकारात्मक असर पार्‍यो। क्लबभित्र र बाहिर उनी उत्कृष्ट प्रतिनिधि बने। हामी उनको योगदानप्रति आभारी छौं र उनलाई र उनकी पत्नी जेनिफर तथा परिवारलाई भविष्यका लागि शुभकामना दिन्छौं।’

जिरूले २०२४ मा एलएएफसीलाई इतिहासमै पहिलो पटक यूएस ओपन कप जिताउन मद्दत गरेका थिए। फाइनल खेलमा उनले निर्णायक गोल गर्दै क्लबलाई पहिलो ट्रफी दिलाएका थिए।

विदाइ सन्देशमा जिरूले भने, ‘एलएएफसीमा बिताएको समय मेरा लागि रमाइलो रह्यो। प्रशंसक, टोलीका साथी र स्टाफ सबैप्रति आभारी छु। क्लबको सफलतामा सहभागी हुन पाउनु सौभाग्यको कुरा हो।’

जिरूको फुटबल यात्रा फ्रान्स, इङ्ल्यान्ड र इटाली हुँदै आएको छ। उनले मोन्टपेलिए, आर्सनल, चेल्सी, र एसी मिलानजस्ता ठूला क्लबमा खेलेका छन्। करिब ३०० गोल गर्दै उनले ७०० भन्दा बढी क्लब खेल खेलेका छन् र ११ वटा प्रमुख उपाधि जितेका छन्।

अब उनी फ्रेन्च क्लब लिलसँग एक वर्षको सम्झौतामा सहमति पुगेको बताइएको छ। लिग १ क्लब लिलमा उनको पुनरागमन पक्कापक्की जस्तै देखिन्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप