आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय
किताब

विमुक्ति : विविधतायुक्त रोचक विषयहरू समेटिएको एक सामाजिक उपन्यास

शनिबार, १४ असार २०८२, १९ : ३६
शनिबार, १४ असार २०८२

सधैँजस्तै कार्यालयको आफ्नै कार्यकक्षमा काममा रहेकै अवस्थामा बैंकका सहकर्मी मित्र झम्क तिमल्सिना कोठामा प्रवेश गर्नुहुन्छ र एउटा किताब मलाई दिँदै भन्नुहुन्छ, ‘सर मेरो साना प्रयास, हजुरलाई सम्झना स्वरूप ।’ किताब प्राप्त गरेपछि धन्यवाद नदिइरहन सकिनँ र धन्यवाद भनेँ । निज यसअघि विज्ञानमा आधारित रहेर मानवताको पक्षमा लेखिएको उपन्यास ‘अन्धकूप’बाट आफूलाई सफल उपन्यासकारका रूपमा साहित्यिक पहिचान दिन सफल भई सक्नुभएको थियो । ‘विमुक्ति’ उहाँको दोस्रो कृतिको रूपमा हालै प्रकाशनमा आएको रहेछ । 

लेखकसँग केही समय गरेको छलफलबाटै मलाई उपन्यास पढ्ने आतुरता बढाएको थियो । मूलतः कुनै पुस्तकका बारेमा स्थापित समीक्षकबाट सार्वजनिक रूपमा गरिएका समालोचना आउनुभन्दा पहिले नै पुस्तक पढेर आफ्नो धारणा बनाउन र विभिन्न समीक्षकबाट आएको समीक्षा र आफ्नो विचारमा तादात्म्यता हुन्छ हुँदैन, सोको जाँच परख गर्ने आकांक्षाका कारण विमोचनपूर्व नै किताब पढ्ने आतुरता ममा उब्जन्छ । के होला ? कस्तो होलाको कुतूहलताका बिचमा उपन्यास ‘विमुक्ति’ पढ्दै जाँदा नेपाली साहित्यको उपन्यास विधामा यो एउटा उल्लेख्य पुस्तकको रूपमा आएछ भन्ने निष्कर्षमा पुग्न मलाई अप्ठेरो लागेन । 

साहित्य सिद्धान्तले उपन्यास तथा कथा एवं लेखहरूलाई कसरी समीक्षा गर्न निर्देशित गर्छ, त्यो विषयको विज्ञता मसँग छैन । तथापि उपन्यासमा के लेखिन्छ र त्यो कसका लागि लेखिन्छ भन्ने कुरालाई केन्द्रीय विषय बनाएर हेर्ने हो भने ‘विमुक्ति’ उपन्यासमा समेटिएका विभिन्न विषय वस्तुहरूमा हामीले हाम्रै समाजका विविधायुक्त र जीवन्त चरित्र चित्रण पाउँछौँ भन्दा अतिशयोक्ति नहोला । यसरी भन्दा यसलाई हामी एउटा सफल सामाजिक उपन्यासको रूपमा लिन सक्छौँ ।

नामकरणका हिसाबले हेर्दा ‘विमुक्ति’ उपन्यासभित्रको कथनले शीर्षकको पुष्टि गरेकै देखिन्छ । पिताको मृत्युको क्षणमा समेत उपस्थित हुन नसकेको छोराका मनमा पिताले मृत्युको मुखमा बसेर लेखेको डायरी पढ्दाका उकुसमुकुसबाट विमुक्त हुन गरेको प्रयास नै कथाको शीर्षकको रूपमा आएको छ । एउटा पाठकको निजात्मक अनुभूतिका आधारमा भन्नुपर्दा यस उपन्यासमा सेमटिएका विषवस्तु उम्दा छन् । उपन्यासले देशको मूल समस्याको रूपमा रहेको शिक्षित युवाहरूको विदेश पलायनबाट उसका बाबुआमाले वृद्धा अवस्थामा भोग्नुपरेको पीडा र मृत्युपछि मुर्दाघरमा एक्लै सन्तान कुरेर बस्नुपरेको लासको दुर्दान्त कथा छ । अर्कोतिर विदेश पलायनपछि परिबन्दमा जेलिएर आफ्नै बाबुआमा बिरामी हुँदा अझ मृत्यु नै हुँदा समेत उपस्थित हुन नसकेको सन्तानको निरीह अनुहार पनि गजबले देखिन्छ उपन्यासमा । 

वितेका केही दशकमा थुप्रै नेपाली बिदेसिएका छन् र तिनीहरूमध्ये केहीले उतै घरजम गरेर बसेको देखिन्छ । स्वभावतः मान्छे भौतिक सुःख सुविधाका निम्ति ऊर्जावान् उमेरमा देश विदेशतिर भौँतारिन्छ । प्रकारान्तरले त्यस्ता मान्छेहरू लामो समयसम्म विदेशतिरै अल्झिन्छन् । परिबन्दले उनीहरूले चाहे पनि मान्छेलाई उम्किन दिँदैन । एउटा निश्चित उमेरसम्म मान्छे यस्तैमा रमाएको पनि देखिन्छ तर त्यस्ता अधिकतर मान्छेको आत्मामा आफू जन्मी–हुर्केको माटो र समाजप्रतिको माया अमिट भएर बसेको हुन्छ । यद्यपि उनीहरूलाई भौतिक रूपमा सुख सुविधाको कमी त हुँदैन । एक्लै जीवन बिताइरहेका आमाबाबुको जस्तै परिबन्दमा परेर विदेशमै पलायन भएकाहरूकोे मनोदशालाई समेत यो उपन्यासले उजागर गरेको छ । त्यसैले वृद्ध मातापिता वा सन्तान कसैप्रति पनि पूर्वाग्रही देखिँदैन उपन्यास । 

यो सानो आलेखमा उपन्यासका विविध पक्षको बारेमा टिप्पणी गर्न सम्भव छैन । मूलतः लेखकको हरेक लेखनले समाजलाई केही न केही सन्देश दिन सक्नुपर्छ । लेखनको सार्थकता पनि यही मूल्य र मान्यतामा टेकेर खोज्नुपर्छ । उपन्यासकार यो आधारमा सचेत भएझैँ लाग्छ, उपन्यास रोचक छ । विषयवस्तुको गम्भीरता र प्रस्तुतिको वैचारिक पक्ष सशक्त छ । उपन्यासको विषयवस्तु हाम्रै समाजका र हामीले भौग्दै आएका विषय प्रसङ्ग छन् । उपन्यासले उठान गरेको विषयवस्तु समकालीन समाज नै रहेको छ । 

यसको अर्थ यो होइन कि उपन्यासमा कमजोर पक्ष छँदै छैनन् । उपन्यासभित्र विभिन्न प्रसंगका कथा उपकथाहरू घुसेका छन् । त्यसले गर्दा उपन्यासको मूल विषयवस्तु कुन हो भनेर कहिलेकाहीँ पाठक अलमलमा पर्न सक्छ । यद्यपि उपन्यासभित्र समेटिएका कथा, उपकथा तथा प्रसंगहरूको प्रस्तुति त्यत्तिकै बलियो छ । त्यसरी नै उपन्यासको संगठन पक्ष केन्द्रीकृत नभई कतिपय अवस्थामा त्यो छिरोलिएको देखिन्छ ।

मकवानपुरबाट उठान गरिएको कथामा सानो उपकथा जोडेर सुदूरपश्चिममा बोलिने डोटेली भाषिका समेत प्रयोग भएकोे छ । स–साना उपकथा बनाएर लेखक कहिले नुवाकोट र कहिले काभ्रेसम्मको भूगोलमा पुगेको देखिन्छ । लामो जागिरे जीवनको यात्राको भूगोल यसको प्रभाव हो भन्ने मान्न सकिएला । एकै उपन्यासभित्र बहुआञ्चलिकताको प्रयोग कतिसम्म गर्न सकिन्छ, त्यसका बारेमा मतैक्यता नहुन पनि सक्छ । कतिपय स्थानमा वर्णनात्मक शैलीको प्रयोग पाइन्छ । यसले पात्रभन्दा लेखक हाबी भएको हो कि भन्ने भान हुन्छ ।

एक वाक्यमा भन्नुपर्दा उपन्यास पढ्न थालेपछि पाठकहरूको मन तान्न सफल हुनेछ । अर्थात् सुरुचिपूर्ण तवरले उपन्यास पढेर सकिन्छ । यति भन्न सकिन्छ, किताब पढिसक्दा किताबको मूल्य तिरेकोमा कुनै पश्चाताप हुँदैन । 

नेपाली उपन्यास विधामा यो उपन्यास एउटा गनिने र पढिने कृतिको रूपमा स्थापित हुने देखिन्छ । झम्क तिमल्सिनाजीलाई शुभकामना । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मीनराज पोखरेल
मीनराज पोखरेल
लेखकबाट थप