शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हिट्लरबारे गीतका कारण कान्ये वेस्टलाई अस्ट्रेलिया प्रवेशमा रोक

बुधबार, १८ असार २०८२, १६ : ०९
बुधबार, १८ असार २०८२

सारांश

  • अमेरिकी र्‍यापर कान्ये वेस्टलाई अस्ट्रेलियाले नाजी नेताको प्रशंसा गरेपछि प्रवेश अनुमति दिएन।
  • अस्ट्रेलियाको गृह मामिला मन्त्रालयले 'हेल हिट्लर' गीत सार्वजनिक गरेपछि वेस्टको भिसा रद्द गर्‍यो।
  • मन्त्री टोनी बर्कले वेस्टको भिसा रद्द गरिएको र उनलाई अब अस्ट्रेलिया प्रवेशको वैधता नभएको बताए।

सिड्नी । प्रसिद्ध अमेरिकी र्‍यापर कान्ये वेस्टलाई अस्ट्रेलियाले प्रवेश अनुमति नदिने निर्णय गरेको छ। उनले नाजी नेता एडोल्फ हिट्लरको प्रशंसा गर्ने गीत ‘हेल हिट्लर’ सार्वजनिक गरेपछि अस्ट्रेलियाको गृह मामिला मन्त्रालयले उनको वैध भिसा रद्द गरेको हो।

अस्ट्रेलियाका गृह मामिला मन्त्री टोनी बर्कले अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) सँगको अन्तर्वार्तामा वेस्टको भिसा रद्द गरिएको जानकारी दिएका हुन्। यो विषय उनले इस्लामविरोधी टिप्पणी गर्ने अर्का व्यक्तिको भिसा खारेजी सन्दर्भमा उल्लेख गरेका थिए।

उनले कान्ये वेस्टको विषय उठाउँदै भने, ‘उनले विगतमा पनि धेरै आपत्तिजनक टिप्पणीहरू गरेका छन्। उनी लामो समयदेखि अस्ट्रेलिया आउँदै जाँदै गरेका थिए, तर उनले ‘हेल हिट्लर’ गीत रिलिज गरेपछि मेरा अधिकारीहरूले भिसा पुनः समीक्षा गरे र उनलाई अब अस्ट्रेलिया प्रवेशको वैधता छैन भन्ने निर्णय गरे।’

विवादास्पद गीत मे महिनाको सुरुमा सार्वजनिक भएको थियो । अधिकांश प्लेटफर्महरूले यसलाई प्रतिबन्ध लगाइसकेका छन्। 

वेस्टले खुलेरै आफूलाई नाजी भनेर चिनाउने गरेका छन् र विगतमा यहूदीविरोधी अभिव्यक्तिहरू दिँदै आएका छन्। उनी अस्ट्रेलिया डिजाइनर बियांका सेन्सोरीसँग विवाह गरेका छन्।

हाल वेस्टलाई स्थायी रूपमा प्रतिबन्ध लगाइएको हो वा होइन भन्ने स्पष्ट भएको छैन। मन्त्री बर्कका अनुसार, कानुनी प्रक्रियाअनुसार भिसा आवेदन प्रत्येक पटक पुनः मूल्याङ्कन गरिनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप