मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मकवानपुरकी सीडीओद्वारा पत्रकारलाई फोटो र भिडियो खिच्न रोक

बुधबार, १८ असार २०८२, २० : ४६
बुधबार, १८ असार २०८२

सारांश

  • मकवानपुर जिल्ला प्रशासन कार्यालयमा फोटो तथा भिडियो खिच्न रोक लगाइएको छ।
  • प्रजिअ श्रेष्ठले पत्रकार महासंघसँगको छलफलमा सुरक्षा संवेदनशीलताका कारण रोक लगाइएको बताइन्।
  • पत्रकार महासंघले यस निर्णयको विरोध जनाउँदै आगामी दिनमा यस्तो गतिविधि नदोहोर्याउन आग्रह गरेको छ।

हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा फोटो भिडियो खिच्न रोक लागाइएको छ । मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जिल्ला प्रशासन कार्यालय परिसर र आफ्नो कार्यकक्षमा फोटो भिडियो खिच्न रोक लगाएकी हुन् । 

जिल्ला प्रशासन कार्यालय मकवानपुर छिर्ने गेट र प्रजिअको कार्यकक्षबाहिर ‘अनुमति बिना फोटो भिडियो खिच्न मनाही छ’ लेखिएको पम्प्लेट टाँसिएको छ ।

बुधबार पत्रकार महासंघ मकवानपुरका प्रतिनिधिहरुसंगको छलफलका क्रममा प्रशासनको बाध्यताका कारण फोटो भिडियो खिच्न रोक लगाइएको प्रजिअ श्रेष्ठले बताइन् । आम नागरिकदेखि पत्रकारलाई समेत अनुमतिविना फोटो भिडियो खिच्न नपाइने बताइन् ।

पत्रकारलाई फोटो र भिडियो खिच्न रोक लगाइएको विषयमा ध्यानाकर्षण गर्न गएको पत्रकार महासंघ मकवानपुरको टोलीलाई प्रजिअ श्रेष्ठले अनुमतिविना प्रशासनको कुनै पनि गतिविधि खिच्न रोक लगाइएको प्रस्ट पारिन् । संसद्मा त सबै भिडियो खिच्न पाइन्छ, यहाँ किन नपाइने भन्ने पत्रकारहरूको जिज्ञासामा उनले प्रशासन कार्यालय सरकारको सुरक्षा दिने अड्डा भएकाले सुरक्षा संवेदनशीलता कारण भएको बताइन् । 

‘यहाँ धेरै किसिमका मानिसहरू आउँछन्, जे जस्तो पनि बोलिरहेका हुन्छन् । सबै विषयको भिडियो बनाउँदा उनीहरूलाई नै अप्ठेरो हुनसक्छ । त्यसैले मैले नोटिस नै टाँसेर यो विषयमा अनुमति लिनुपर्ने भनेको छु ।’ उनले भनिन्, ‘यो कार्यालय संसद् जस्तो पनि होइन, त्यहाँ त जिम्मेवार सांसदहरू हुन्छन् । संसद्मा बोलका विषयमा कुनै अदालतमा कुरा उठाउन पाइँदैन । प्रशासन कार्यालयमा जो जस्तो पनि मानिसहरू आएर जे जस्तो पनि बोलिरहेका हुन्छन् । सबै कुरा खिचेर सार्वजनिक गर्दा भोलि बोल्नै मानिसलाई नै अप्ठेरो हुन्छ । त्यसैले भिडियो खिच्न अनुमति लिनुपर्ने बनाएको हुँ ।’ 

गत असार ६ गते जिल्ला प्रशासन कार्यालय मकवानपुरमा समाचार संकलनका लागि पुगेका पत्रकारहरुलाई प्रजिअ श्रेष्ठले भिडियो खिच्न रोक लगाएकी थिइन् । सो विषयमा पत्रकार महासंघको जिल्लादेखि केन्द्रीय समितिसमेतले विज्ञप्तिमार्फत फोटो भिडियो खिच्न रोक लगाइनु प्रेस स्वतन्त्रताको हनन् भएको भन्दै विरोध जनाएको थियो ।

महासंघ मकवानपुरको असार १२ गते बसेको बैठकले प्रशासनमा फोटो भिडियो खिच्न रोक लगाएको विषयमा खेद प्रकट गर्ने निर्णय गरेको थियो । सो विषयमा भत्र्सना गर्दै आगामी दिनमा यस्तो गतिविधि नदोहोर्‍याउन प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउने कार्यक्रमअन्तर्गत महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीसहितको टोली बुधबार जिल्ला प्रशासन कार्यालय मकवानपुर पुगेको थियो ।

सो कार्यक्रममा प्रजिअ श्रेष्ठले पत्रकारमाथि फोटो भिडियो खिच्न बन्देज लगाइएको विषय जायज भएको भन्ने आशयले मन्तव्य दिई पत्रकारलाई थप बोल्न नदिई कार्यक्रम टुङ्ग्याइएपछि महासंघको टोली निस्किएको थियो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले कार्यालय परिसर र प्रजिअ कार्यकक्षमै फोटो भिडियो खिच्न रोक लगाइएको विषयमा नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले आश्चार्य प्रकट गरेका छन् ।

‘अनुमति लिनपर्ने एरिया कानुनले निर्धारण गर्छ नि, त्यो उहाँहरूले तोक्ने कुरा हैन नि, कुन सीडीओ अफिसमा यस्तो व्यवस्था छ ? प्रधानमन्त्री कार्यालयमा त यो बन्देज छैन ।’ दाहालले भने,‘सीडीओ सापले कुन कानुनअनुसार यो गर्नुभएको हो, त्यसको जवाफ दिनुपर्छ, पत्रकारलाई नै समाचार संकलनमै बाधा हुनेगरी यस्तो गर्नु गलत हो ।’ 

फोटो भिडियो खिच्न अनुमति लिनुपर्ने कार्यालयको गेटमै पम्प्लेट टाँसिएको विषयमा ध्यानाकर्षण गराउँदा प्रजिअ श्रेष्ठले त्यसलाई हटाउने प्रतिबद्धता जनाइन् । ‘कार्यकक्षमा चाहिँ अलाउड गर्दैनौँ, बाहिर मिटिङ हलमा अलाउ गरौँला, बाहिर कतै कहीँ त्यस्तो टाँसिएको भए म निकालौँला,’ उनले भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप