मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार

मङ्गलबार, ३० असार २०८३, २१ : ५०
मङ्गलबार, ३० असार २०८३

सारांश

  • काठमाडौँका विभिन्न स्थानहरूबाट प्रहरीले अनलाइन सट्टाबाजी गर्ने ४ जनालाई पक्राउ गरेको छ।
  • पक्राउ परेकाहरूले 'Ime88' जस्ता बेटिङ वेबसाइट प्रयोग गरी अनलाइन जुवा खेलाउने र सामाजिक सञ्जालमा प्रचार गर्ने गरेको खुलेको छ।
  • प्रारम्भिक अनुसन्धानमा उनीहरूले २ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको देखिएको छ।

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानहरूमा अनलाइन सट्टाबाजी खेल्ने, खेलाउने र भिडियो बनाई सामाजिक सञ्जालमा प्रचार प्रसार गर्ने गरेको सूचनाका आधारमा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले सोमबार काठमाडौँ महानगरपालिका वडा नम्बर ११ माइतीघरबाट उनीहरूलाई पक्राउ गरेको हो। 

प्रहरीले उनीहरूको साथबाट ४ थान मोबाइल र ४ थान सिमकार्ड समेत बरामद गरेको छ। पक्राउ परेका व्यक्तिहरूमा रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ६ घर भई हाल काठमाडौँको बालुवाटार बस्ने ३३ वर्षीय प्रत्युश मान सिंह, बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ५ घर भई हाल ललितपुरको सातदोबाटो बस्ने २१ वर्षीय गौतम कुमार गुप्ता रहेका छन्। 

यसैगरी पाँचथरको याङवरक गाउँपालिका वडा नम्बर २ घर भई हाल काठमाडौँको टोखा नगरपालिका वडा नम्बर ९ बस्ने २५ वर्षीया सबनम बानियाँ र पाल्पाको तानसेन नगरपालिका वडा नम्बर १ घर भई हाल काठमाडौँको टोखा नगरपालिका वडा नम्बर ९ बस्ने २६ वर्षीय सुधन सुवेदी पनि पक्राउ परेका छन्।

प्रहरीका अनुसार नियन्त्रणमा लिई जाँचबुझ गर्दा उनीहरूले अनलाइन सट्टाबाजी गर्ने, गराउने भिडियो बनाई सामाजिक सञ्जालमा प्रचार प्रसार गर्ने गरेको र ‘Ime88’ लगायतका बेटिङ वेबसाइटहरू प्रयोग गरी अनलाइन जुवा खेलाउने गरेको खुलेको छ। उक्त बेटिङ वेबसाइट र मोबाइल बैंकिङ समेतबाट नेपाली नगद २ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। 

सट्टाबाजी गर्न र गराउन नहुने कसुरमा उनीहरूमाथि थप अनुसन्धान गर्नका लागि काठमाडौँ जिल्ला अदालतबाट ३ दिनको म्याद थप अनुमति लिई प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जनाएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप