मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
आश्चर्यजनक खेलाडी

हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा

३९ वर्षको उमेरमा मेस्सीले कसरी बदले फुटबलको परिभाषा ?
मङ्गलबार, ३० असार २०८३, २१ : ५३
मङ्गलबार, ३० असार २०८३

एट्लान्टा । अर्जेन्टिना सन् १९६२ यता विश्वकपको उपाधि रक्षा गर्ने पहिलो राष्ट्र बन्न सफल भयो भने त्यसको केन्द्रमा लियोनेल मेस्सी नै हुनेछन् । ३९ वर्ष पुगिसकेका मेस्सीले आफ्नो छैटौँ विश्वकपमा पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । 

पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र मेक्सिकोका गुइलेर्मो ओचोआसँगै सबैभन्दा धेरै विश्वकप खेल्ने कीर्तिमान बनाएका उनले यस पटक ८ गोल र ३ असिस्ट गरिसकेका छन् । गोल्डेन बुटको दौडमा फ्रान्सेली स्ट्राइकर किलियन एम्बाप्पेसँगै अगाडि रहे पनि सन् २००३ मा बार्सिलोनाबाट डेब्यु गर्दाको मेस्सी र अहिलेको मेस्सीमा आकाश–जमिनको फरक देखिन्छ ।

बुधबार एट्लान्टा स्टेडियममा हुने सेमिफाइनलमा अर्जेन्टिनाले आफ्नो ऐतिहासिक प्रतिद्वन्द्वी इंग्ल्याण्डको सामना गर्दै छ । यो खेलमा पुनः सबैको नजर मेस्सीमाथि नै हुने निश्चित छ । बढ्दो उमेरसँगै धेरैजसो खेलाडीको प्रदर्शन ओरालो लाग्छ तर मेस्सी जस्ता उत्कृष्ट खेलाडीले भने समयअनुसार आफूलाई ढाल्न जानेका छन् । 

रोनाल्डोले आफ्नो गति कम भएपछि आफूलाई पेनाल्टी बक्स भित्रको सिकारीका रूपमा स्थापित गरे । तर मेस्सीले भने आफ्नो गिरावटलाई रोकेका मात्र छैनन्, बरु खेललाई नै आफ्नो नियन्त्रणमा राख्न नयाँ रणनीति अपनाएका छन् । 

यस विश्वकपमा मेस्सीले दौडधुप कम तर अवसर सिर्जना बढी गरिरहेका छन् । उनले अहिलेसम्म ३३ पटक गोलको प्रयास गरेका छन् भने २१ वटा अवसर सिर्जना गरेका छन् । सन् १९८६ को विश्वकपमा डिएगो म्याराडोनाले बनाएको कीर्तिमानपछि यो सबैभन्दा उत्कृष्ट तथ्याङ्क हो । 

messi-walking

अचम्मको कुरा त के छ भने, मैदानमा रहँदा उनी ४७ प्रतिशत समय हिँडेरै बिताउँछन्, जुन अन्य कुनै पनि खेलाडीको तुलनामा धेरै हो । उनी प्रति ९० मिनेट औसत ८.२ किलोमिटर मात्र दूरी तय गर्छन्, जुन अर्जेन्टिनी टिममा सबैभन्दा कम हो । तथ्याङ्कले के पनि भन्छ भने चार वर्षअघि प्रतिखेल ५.३ पटक तीव्र गतिमा कुद्ने मेस्सी अहिले केवल २.७ पटक मात्र कुद्छन् । 

इंग्ल्यान्डका लागि मेस्सीलाई रोक्नु सबैभन्दा ठुलो चुनौती हुनेछ, किनभने पछिल्ला १५ विश्वकप खेलमा पोल्यान्डबाहेक अरू कसैले उनलाई गोल गर्न वा असिस्ट गर्नबाट रोक्न सकेका छैनन् । 

मेस्सीको यो यात्रा १६ वर्षको उमेरमा जोसे मोरिन्होको पोर्टो विरुद्धको मैत्रीपूर्ण खेलबाट सुरु भएको थियो । दायाँ विङ्गबाट खेल्ने त्यसबेलाका मेस्सी र अहिले इन्टर मियामी वा अर्जेन्टिनाका लागि खेल्ने मेस्सीका बिचमा उनले आफूलाई कम्तीमा पाँच पटक नयाँ स्वरूपमा ढालेका छन् । 

पेप ग्वार्डिओलाले सुरुमा मेस्सीलाई रक्षात्मक कमजोरीका कारण विङ्गबाट हटाएर मैदानको बिच भागमा ल्याएका थिए । उनले मेस्सीलाई 'फल्स नाइन'को भूमिका दिए, जहाँ उनले परम्परागत स्ट्राइकरले जस्तो एकै ठाउँमा नबसी मैदानभरि डुलिरहने र अवसर सिर्जना गर्ने जिम्मेवारी पाए । सन् २००९ मा रियल मड्रिड विरुद्धको ६–२ को ऐतिहासिक जितमा यही रणनीति सफल भएको थियो । 

सन् २०११ देखि २०१३ को बिचमा मेस्सीले ला लिगाका ६९ खेलमा ९६ गोल गरे । सन् २००९ मा पहिलो पटक बेलोन ड’ओर जितेका उनले हालसम्म आठ पटक यो सम्मान पाइसकेका छन् । मेस्सी भन्छन्, ‘मैले सुरुमा रणनीतिमा खासै ध्यान दिने गरेको थिइनँ, तर ग्वार्डिओलासँग काम गर्दा मैले मैदानको खाली ठाउँ र बललाई कसरी नियन्त्रणमा राख्ने भन्नेबारे धेरै कुरा सिकेँ ।’ 

जब जाभी र इनिएस्टा जस्ता हस्तीहरूले बार्सिलोना छोडे, मेस्सीको काँधमा गोल गर्ने मात्र नभई पूरै खेल सञ्चालन गर्ने जिम्मेवारी आयो । उनले आफूलाई खेल जोड्ने कडीका रूपमा विकसित गरे । त्यसपछि उनको खेलमा गोलसँगै असिस्टको सङ्ख्या पनि बढ्न थाल्यो । 

अर्जेन्टिनाको राष्ट्रिय टिममा उनको यात्रा सहज थिएन । सन् २०१४ को विश्वकप र २०१५ तथा २०१६ को कोपा अमेरिका फाइनलमा बेहोरेको हारले उनलाई निकै विक्षिप्त बनायो । एक समय उनले संन्यासको घोषणा समेत गरे तर फेरि मैदान फर्किए । सन् २०१९ को कोपा अमेरिकापछि मेस्सीमा नयाँ प्रकारको नेतृत्व क्षमता देखियो । उनले खुलेरै बोल्न र टिमको हकमा लड्न थाले । सन् २०२१ मा ब्राजिललाई उसकै मैदानमा हराएर कोपा अमेरिका जित्नु मेस्सीका लागि ठुलो राहत थियो । 

सन् २०२२ को विश्वकपमा त उनले आफ्नो करिअरकै उत्कृष्ट रूप देखाए । उनले क्रोएसिया विरुद्धको सेमिफाइनलमा गरेको त्यो अद्भुत ड्रिब्लिङ र फ्रान्स विरुद्धको फाइनलमा देखाएको संयमता फुटबल इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ । 

walking-messi

अहिले इन्टर मियामीमा खेल्दा होस् वा राष्ट्रिय टिममा, मेस्सी दौडिनुभन्दा बढी हिँड्न मन पराउँछन् । आलोचकहरूले यसलाई उनको कमजोरी ठाने पनि विज्ञहरूले यसलाई उनको 'मास्टरी' वा खेलप्रतिको गहिरो बुझाइ मान्छन् । उनी शक्ति बचाउँछन् र सही समयमा त्यसको प्रयोग गर्छन् । मेस्सीका बाल्यकालका आदर्श पाब्लो आइमार भन्छन्, ‘पछिल्लो मेस्सी नै सधैँ उत्कृष्ट मेस्सी हुन्छन् ।’ 

मेस्सीले दुई दशक लामो करिअरमा केवल ट्रफी र तथ्याङ्क थुपारेका छैनन्, बरु एक फुटबलरले आफ्नो करिअरको हरेक चरणमा आफूलाई कसरी नयाँ स्वरूपमा बदल्न सक्छ भन्ने उदाहरण पेस गरेका छन् । सुरुमा जादुमयी विङ्गर, त्यसपछि रणनीतिको नयाँ रूप 'फल्स नाइन', त्यसपछि अरूलाई खेलाउने मिडफिल्डर र अन्ततः देशलाई विश्वकप दिलाउने कप्तानका रूपमा उनले आफूलाई प्रमाणित गरे ।

अहिलेको मेस्सी मैदानमा कम दौडिन्छन्, तर उनले अरूले भन्दा धेरै कुरा देख्छन् । यो विश्वकपले मेस्सीको खुबीको मात्र चर्चा गरेको छैन, बरु उनले पटक–पटक आफूलाई कसरी नयाँ रूपमा जन्म दिए भन्ने कुरालाई स्थापित गरेको छ ।​ 

बीबीसीबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप