१२ बजे १२ समाचार: कीर्तिपुर रंगशाला असारभित्र नबन्ने, सुनकोसी–मरिण डाइभर्सनमा ठेक्का तोड्दै सरकार
आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
१. क्रिकेट रंगशाला
प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेपछिको पहिलो निर्णय नै तोकिएको समयमा पूरा नहुने भएको छ । कीर्तिपुरस्थित क्रिकेट रंगशाला थपिएको समयभित्र पनि निर्माण सम्पन्न नहुने निश्चित भएको हो ।
२. ओझेलमा विद्यालय शिक्षा विधेयक
निजामती सेवा सम्बन्धी विधेयकमा ‘कुलिङ पिरियड’को विवादले राष्ट्रिय राजनीतिमै हलचल ल्याएपछि विद्यालय शिक्षा विधेयक ओझेलमा परेको छ । सरकार तथा सांसदहरूको ध्यान प्रतिनिधि सभाबाट पारित भएको निजामती सेवा विधेयकमै केन्द्रित छ ।
३. मुग्लिन–पोखरा सडक
मुग्लिन–पोखरा सडक विस्तार आयोजना निर्धारित समयमा सम्पन्न नहुने भएको छ । आयोजनालाई दुई खण्डमा विभाजन गरी काम भइरहेकोमा पूर्वी खण्डको म्याद सकिन १० दिन मात्र बाँकी छँदा ८५ प्रतिशत र पश्चिम खण्डको म्याद ६ महिना बाँकी रहँदा ५४ प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।
४. संघीय निजामती विधेयक
प्रतिनिधिसभा अन्तर्गतको राज्य, व्यवस्था तथा सुशासन समितिले ‘कुलिङ पिरियड’सम्बन्धी व्यवस्थामा राखिएको त्रुटि भएको भन्दै राष्ट्रियसभालाई सच्याउन आग्रह गर्ने निर्णय गरेको छ ।
५.अमेरिकाबाट डिपोर्ट
अध्यागमन विभागले अमेरिकाबाट डिपोर्ट भई नेपाल छिरेका चार भुटानी शरणार्थीलाई देश निष्कासनको निर्णयसहित प्रक्रिया अघि बढाएको छ । गत असार ६ गते विभागले अमेरिकाबाट डिपोर्ट भई नेपाल छिरेका आशीष सुवेदी, अशोक गुरुङ, सन्तोष दर्जी र रोशन तामाङलाई देश निष्कासन गर्ने निर्णय गरी अध्यागमन कार्यालय काँकरभिट्टामा पत्र पठाएको हो ।
६. स्वास्थ्य बीमा
सरकारलाई स्वास्थ्य बीमा कार्यक्रम अगाडि बढाउन चुनौती थपिएको छ । कार्यक्रमलाई दिगो रूपमा सञ्चालन गर्न स्रोतको पहिचान गर्न नसक्दा बीमा कार्यक्रम धरासायी बन्दै गएको छ ।
७. विकास
बाराको सिम्रौनगढ नगरपालिका–७ खजानी टोलदेखि ब्रह्म बाबा मन्दिरसम्मको सडक ढलानमा कवाडी रड प्रयोग भएको भेटिएको छ । मधेस प्रदेश सरकारको ४५ लाख लागतमा निर्माणाधीन सडकमा गुणस्तरहीन काम भएको भन्दै स्थानीयहरूले विरोध गरेपछि अनुसन्धानको क्रममा कवाडबाट सङ्कलन गरिएको रड प्रयोग भएको भेटिएको हो ।
८. बजेटमा विवाद
संघीय संरचना अनुसार देशभरका ७६१ वटा सरकार अहिले आर्थिक वर्ष २०८२/८३ को बजेटको प्रक्रियामा छन् । साउनदेखि सुरु हुने नयाँ आर्थिक वर्षमा राजस्व उठाउन तथा खर्च गर्ने म्यान्डेट लिने प्रक्रियास्वरुप सबै सरकारले आफ्नो व्यवस्थापिकामा यस्तो बजेट पेस गरेका छन् । केही स्थानीय तहले भने विवादका कारण अहिलेसम्म यस्तो प्रक्रिया सुरु गर्न सकेका छैनन् ।
९. कपी–पेस्ट
कर्णाली प्रदेश सरकारको समग्र प्रशासनिक पुनर्संरचनाका लागि गठित ‘उच्चस्तरीय सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण समिति’ले ‘रिफर्म’ अनिवार्य रहेको निष्कर्ष निकालेको छ । समितिको ठहर छ—५४ करोडको आन्तरिक आयले ३३ अर्बको बजेट धान्ने संरचनाले प्रदेशलाई दिगो बनाउन सक्दैन र यो सधैँ अनुदानमा निर्भर रहन्छ ।
१०. सुनकोसी–मरिण डाइभर्सन
राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन आयोजना गम्भीर संकटमा पर्ने देखिएको छ । आयोजनाको सबैभन्दा महत्त्वपूर्ण मानिएको बाँध र विद्युत् गृह निर्माणको ठेक्का पाएको भारतीय कम्पनी पटेल र नेपाली रमण कन्स्ट्रक्सनको जोइन्ट भेन्चरसँगको ठेक्का सम्झौता तोड्ने अन्तिम तयारीमा आयोजना कार्यालय पुगेको छ ।
११. महासचिव पोखरेलको दाबी
नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पार्टीमा हाल चर्चामा रहेको दुई कार्यकालको कार्यकारी व्यवस्था र ७० वर्षे उमेर हद दुवै प्रावधान विधानबाट हटाइसकिएको खुलासा गरेका छन् ।
१२. रास्वपाको सचिवालय बैठक बस्दै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ । बिहीबार बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी सचिवालय बैठक बोलाइएको रास्वपाले जनाएको छ ।
थप:
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण