शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय

पर्यटकका पर्खाइमा म्याग्दीको टिकोट

बिहीबार, १९ असार २०८२, ०१ : २६
बिहीबार, १९ असार २०८२

सारांश

  • म्याग्दीको टिकोट गाउँ, प्रकृति र संस्कृतिको संगम हो, जहाँ पुन मगर समुदायको बसोबास छ।
  • कोरोनाकालमा सुस्ताएको टिकोटको पर्यटन व्यवसाय अझै लयमा फर्कन सकेको छैन, तर होमस्टे र पदमार्गको सुविधा छ।
  • टिकोटमा हिमाल, स्थानीय परिकार र सांस्कृतिक कार्यक्रमको अनुभव गर्न सकिन्छ, साथै संग्रहालय निर्माण हुँदैछ।

म्याग्दी। पहाडको टुप्पोमा भिरालो पाखामा मौलिक ढुङ्गेघरहरु भएको झुरुप्प बस्ती । पृष्ठभूमिमा हिमाल र वरपर अग्ला डाँडापाखा । गाउँको फेदी देखि शिरसम्म ढुङ्गा चिनेर बनाएको सफा सुग्घर पदमार्ग । मौरखी र मिजासीला गाउँलेको न्यानो आतिथ्यता । 

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ मा पर्ने हिस्तान टिकोट गाउँ प्रकृति र संस्कृतिको सङ्गम हो । पुन थरका मगर समुदायको बाहुल्य बसोबास रहेको सुन्दर, शान्त र रमणीय टिकोट पर्यटकको पर्खाइमा छ । 

होमस्टे सञ्चालक समेत रहेका टिकोट माविका प्रअ ठगराज पुनले (प्रदिप) कोरोनाकालमा सुस्ताएको टिकोटको पर्यटन व्यवसाय अझै लयमा फर्कन नसकेको बताए । “महाविर पुनको योजनामा सन् २०११ मा शुरु भएको अन्नपूर्ण–धौलागिरी पर्यावरणीय पदमार्गमा समेटिएको टिकोटमा कोरोना महामारी अघिसम्म पर्यटक आगमन राम्रै थियो,” उनले भने “पछिल्लो पाँच वर्षयता फाट्टफुट्ट मात्र पर्यटक आउने गरेका छन् ।”

समुन्द्री सतहदेखि दुई हजार दुई सय ५० मिटर उचाइमा रहेको टिकोटको पृष्ठभूमिमा धौलागिरी, मानापाथी, निलगिरी, अन्नपूर्ण र बराह शिखर हिमालको दृष्य अवलोकन गर्न सकिन्छ । टिकोट देखि ३० मिनेट (हाइकिङ) उकालो पैदल यात्रा गरेपछि पुगिने पञ्चबल डाँडादेखि हिमशृङखलाको अलावा सूर्योदय, म्याग्दीका ग्रामीण बस्ती र पहाडी भूगोल देखिन्छ । 

टिकोटका १० वटा घारमा होमस्टे (घरबास) सुविधा छ । यहाँको होमस्टेमा एक दिनमा ४० जना भन्दा बढी पाहुना बास बस्न सक्छन् । विदेशी पर्यटक आउँदा सामुदायिक लजमा खाना खुवाउने र आलोपालो गरेर व्यक्तिका घरमा सुताउन लैजाने नियम छ । होमस्टेका कोठाको झ्यालबाट हिमाल देखिन्छ । 

नेपाली पाहुनाहरु व्यक्तिगत सम्पर्क गरेर सिधै होमस्टेमा जान्छन् । लघुउद्यम विकास कार्यक्रमको सहयोगमा घरबास र सामुदायिक लज स्थापना भएको थियो । स्थानीय जंगलमा पाइने च्याउ, टुसा, ढकायो सागको गुन्द्रुक, लोकल कुखुराको मासु, फापर, कोदोको ढिँडो, गाईभैसीको दूध, दही, विषादी र रासायनिक मलको प्रयोग बिना उत्पादन गरिएको प्राङगारिक तरकारीका परिकारको स्वाद चाख्न पाइन्छ । आमा र पुर्ख्यौली समूहले मौलिक गीत तथा नृत्यले स्वागत गर्छन् । कृषि पेसामा आधारित टिकोटबासीको जिवनशैली पनि पर्यटकको थप आकर्षण हो । 

अन्नपूर्ण–धौलागिरी सामुदायिक पर्यावरणीय पदमार्गको बेनी– मल्लाज– बाँसखर्क– डाडाकटेरी– नागी– मोहरेडाडा– फुलबारी– ठूलाखर्क हुदै पाँचौ दिनमा पुगिने टिकोटबाट बेनी–जोमसोम सडकको तिप्ल्याङ र खिवाङ हुदै खोप्रातर्फ जान सकिन्छ । बेनी देखि तिप्ल्याङ, महभिर हुदै दुई घण्टा जिप अथवा मोटरसाइकलमा कच्ची सडकको यात्रा गरेर पनि टिकोट पुगिन्छ । 

अन्नपूर्ण गाउँपालिकाले टिकोटमा पर्यटक आकर्षित गर्न, भुलाउन र परम्परागत मौलिक सामग्रीहरूको संरक्षण गर्न सङ्ग्रहालय स्थापनाका लागि भवन बनाएको छ । पछिल्लो दुई आर्थिक वर्षमा विनियोजन भएको रु. २९ लाख बजेटबाट निर्माण भएको दुई तले भवनमा दैनिक जीवनयापनमा प्रयोग हुने परम्परागत मौलिक सामग्री सङ्कलन गरेर राखिने अन्नपूर्ण गाउँपालिका–७ का वडा अध्यक्ष मइलन पुर्जा पुनले बताए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप

छुटाउनुभयो कि ?