एसईईमा वेद विधा आश्रमको उत्कृष्ट प्रदर्शन : ८५ प्रतिशतभन्दा बढी विद्यार्थी ए प्लसमा
सारांश
- नेपाल वेद विधा आश्रम संस्कृति माध्यमिक विद्यालयले एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याएको छ, जसमा अधिकांश विद्यार्थी ए प्लस ग्रेडमा उत्तीर्ण भए।
- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले विद्यालयको सफलताको प्रशंसा गर्दै संस्कृत शिक्षाको महत्वबारे प्रकाश पारे।
- विद्यालयका प्राचार्यका अनुसार, विद्यालयले विगत १० वर्षदेखि एसईईमा शत प्रतिशत उत्तीर्णको नतिजा कायम राख्दै आएको छ।
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पशुपति क्षेत्र विकास कोषद्वारा सञ्चालित नेपाल वेद विधा आश्रम संस्कृति माध्यमिक विद्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ऐतिहासिक सफलता हासिल गरेको छ। विद्यालयका १४ जना परीक्षार्थीमध्ये ११ जनाले ए प्लस र ३ जनाले ए ग्रेड हासिल गरेका छन्।
संस्कृत भाषा र साहित्यमा आधारित शिक्षालय नेपाल वेद विधा आश्रमले यस पटक ८५ प्रतिशतभन्दा बढी विद्यार्थीलाई ए प्लसमा पुर्याउनुका साथै सम्पूर्ण विद्यार्थीलाई उत्तीर्ण गराएर शिक्षा क्षेत्रमा अनुकरणीय उदाहरण प्रस्तुत गरेको हो।
उक्त उपलब्धिप्रति खुसी व्यक्त गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले विद्यालयलाई एक औपचारिक समारोहमार्फत बधाई तथा शुभकामना दिए । कार्यक्रममा मन्त्री पाण्डेले संस्कृत विषयको अध्ययन आफैँमा चुनौतीपूर्ण रहेको उल्लेख गर्दै भने, ‘संस्कृत व्याकरण र साहित्यजस्ता कठिन विषयमा समेत ३.९५ सम्मको जीपीए ल्याउनु गौरवको विषय हो।’
उनले अझ भने, ‘नेपाल वेद विधा आश्रमले यस पटक जुन प्रेरणादायी नतिजा देखायो, यो संस्कृत शिक्षाको उज्यालो सम्भावनाको सङ्केत हो। संस्कृत र अङ्ग्रेजी दुवैमा दक्ष विद्यार्थी संसारको जुनसुकै कुनामा काम लाग्ने हुन्छन्।’
त्यस अवसरमा मन्त्री पाण्डेले मन्त्रालय अन्तर्गतका अन्य निकायहरूको प्रगतिको चर्चा गर्दै भने, ‘सांस्कृतिक संस्थानले मात्रै ७० प्रतिशत नाफा कमाउन सफल भएको छ भने वेद विधा आश्रमले प्राप्त गरेको शैक्षिक सफलता संस्थागत प्रतिबद्धताको सशक्त उदाहरण हो।’
विद्यालयका प्राचार्य केशवप्रसाद अधिकारीले विगत १० वर्षदेखि एसइईमा शत प्रतिशत उत्तीर्णको परम्परा कायम राख्दै आएको जानकारी गराए । उनले सीमित स्रोत साधनबीच पनि संस्कृत अध्ययनतर्फ विद्यार्थीको आकर्षण बढ्दो रहेको बताए ।
प्राचार्य अधिकारीका अनुसार विद्यालयमा हाल कक्षा ४ देखि १२ सम्म अध्यापन हुँदै आएको छ। विद्यालयमा १५ जना शिक्षकमध्ये ७ जना आंशिक शिक्षक छन् भने उनी स्वयम् मात्र स्थायी शिक्षक हुन् ।
पशुपति क्षेत्र विकास कोष अन्तर्गत सञ्चालनमा रहेको विद्यालयमा हाल १०९ जना छात्र छात्रावासमा बसेर अध्ययनरत छन् भने २१५ जना छात्र छात्रावास बाहिरबाट अध्ययन गरिरहेका छन्।
विद्यालयको निरन्तर शैक्षिक उन्नयन सुनिश्चित गर्न कोषबाट कुनै कसर बाँकी नराखिने कोषका निमित्त सचिव सुभाष जोशीले जानकारी दिए । उनले संस्कृत शिक्षाको विस्तार र प्रवर्द्धनमा वेद विधा आश्रमले खेलेको भूमिकालाई थप प्रभावकारी बनाउन मन्त्रालयको तर्फबाट निरन्तर सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण