सामाजिक लाञ्छना सहनुपर्दा एचआईभी सङ्क्रमितलाई उपचारमा समस्या
सारांश
- एचआईभी संक्रमितहरू स्वास्थ्य जाँच र उपचारका लागि कम आउन थालेका छन्, जसको मुख्य कारण समुदायमा हुने भेदभाव हो।
- भेदभावका कारण संक्रमितहरू खुलेर स्वास्थ्य संस्थामा जान नसक्दा परीक्षण र उपचारको दर घट्दै गएको छ।
- नेपालले २०३० सम्म एड्स अन्त्यको लक्ष्य राखेको छ, तर भेदभाव र दातृ निकायको सहायता घट्दा जोखिम बढेको छ।
काठमाडौँ । एचआईभी सङ्क्रमण भए पनि उपचार गर्न जानेहरूको संख्यामा कमी आउन थालेको देखिएको छ । राष्ट्रिय एचआईभी तथा यौनरोग नियन्त्रण केन्द्रको आँकडाले नै सङ्क्रमण पुष्टि भएकाहरू स्वास्थ्य संस्थामा फलोअफमा जाने दर घट्न थालेको देखाएको हो ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको एआरटी सेन्टरका पूर्वकर्मचारी डाक्टर लिना देवकोटा यसलाई पुष्टि गर्दै भन्छिन्, ‘एचआईभी संक्रमितमाथि समुदायमा हुने भेदभावले यस्तो समस्या देखिएको हो, जसका कारण उनीहरू खुलेर स्वास्थ्य संस्थामा नियमित फलोअफका लागि जान सकेका छैनन् ।’ सङ्क्रमित भएको घर तथा अरूले थाहा पाउँछन् कि भनेर पनि यस्तो समस्या निम्तिएको उनी बताउँछिन् ।
‘सङ्क्रमितहरूमाथि चरम भेदभाव भइरहेको छ , डा. देवकोटा थप्छिन्, ‘उनीहरूलाई कामबाट निकालिदिने, एकदमै नकारात्मक दृष्टिकोणले हेर्ने, नराम्रा व्यवहार गर्ने हाम्रो समाज छ ।’
भेदभावको उदाहरण दिँदै उनले भनिन्, ‘पोखरामा बस्दै आएका सङ्क्रमित औषधि तथा परीक्षणका लागि काठमाडौँ आउनुपर्ने र काठमाडौँका सङ्क्रमित पोखरा वा अन्य ठाउँमा जानुपर्ने अवस्था छ ।’
परिवार र समुदायले गर्ने डरलाग्दो भेदभाव नै यसको प्रमुख कारण भएको उनी तर्क गर्छिन् । ‘औषधि खानुपर्छ भन्ने पनि थाहा छ । औषधि पनि खाइरहनुभएको छ, तर धेरैजसो मान्छे एकदम लुकेर आउनुहुन्छ,’ डा. देवकोटा बताउँछिन्, ‘कोही चिनजानको मान्छे भेटिएला, कसैले केही भन्दिएला, बाहिर मेरोबारे खुल्यो भने कस्तो व्यवहार गर्लान् भनेर डराएर उहाँहरू फलोअपमा जानुहुन्न ।’
त्यसैले धेरै एचआईभी सङ्क्रमितहरूले आफू बसेको ठाउँभन्दा अन्तै गएर लुकेर स्वास्थ्य परीक्षण तथा औषधि गराइरहेका उनले बताइन् । जसका कारण सङ्क्रमित कम देखिएको उनको बुझाइ छ ।
पहिला भन्दा एचआईभी सङ्क्रमणपछि पनि नियमित स्वास्थ्य परीक्षण गर्नु पर्छ, औषधि सेवनले अन्य मानिस सरह बाच्न सकिन्छ भन्ने चेतनाको विकास भएको छ । यद्यपि समुदायमा अझैपनि सङ्क्रमण पुष्टि भइसकेपछि पनि भेदभावका डरले स्वास्थ्य संस्था नपुग्नेहरू रहेको उनी बताउँछिन् ।
केन्द्रको आँकडालाई केलाउँदा एचआईभी सङ्क्रमित २०८१ साल मंसिरसम्म जम्मा ९ सय ८१ जनाले परीक्षण गराएको पाइएको छ । २०८०-८१ मा २ हजार ४०६ जनाले परीक्षण गराएका थिए । सङ्क्रमण भइसकेपछि आर्थिक वर्ष २०७७-७८ मा २ हजार ३४७ ले उपचार सेवा लिएका थिए । भने आ.व २०७८-७९ मा २ हजार ८४१ ले परीक्षण सेवा लिएका थिए । यस्तै, आ.व २०७९-८० मा २ हजार ५७८ जना ले परीक्षण गराएको थिए ।
समुदायमा एचआईभी सङ्क्रमित खुलेर औषधि परीक्षणका एउटै स्वास्थ्य संस्थामा उपस्थित हुन नसकेकोले परीक्षण र औषधि खाने दर एउटै नभएको उनको भनाई छ ।
जोखिम बढ्यो
नेपालले २०३० सम्ममा एड्सक अन्त्यको लक्ष्य राखेको छ । जसमा अनुमानित एचआईभी सङ्क्रमितमध्ये ९५ प्रतिशत पहिचान गर्ने, सङ्क्रमण पुष्टि भएका मध्ये ९५ प्रतिशतको उपचार गर्ने, एआरटी (एन्टी रेट्रो भाइरल थेरापी) सेवा लिइरहेका सङ्क्रमितमध्ये ९५ प्रतिशतमा भाइरल लोड कम गर्ने लक्ष्य राखिएको छ । तर दातृ निकायबाट सहायता घट्दै गएपछि एचआईभी सङ्क्रमणको जोखिम बढ्दै गएको छ । सरकारले देशभरका ९२ वटा एआरटी सेन्टरबाट परीक्षण, औषधि, वितरण भाइरल लोड जाँच सेवा दिँदै आएको छ । यस्तै, कन्डम, लुब्रिकेन्ट पहुँच पनि घट्न थालेकाले सङ्क्रमणको जोखिम बढेको उनी जिकिर गर्छिन् ।
नेपालमा एक वर्षमा ६ सय १४ जना नयाँ सङ्क्रमित भेटिने र एकै वर्षमा ५ सय ६९ जनाको मृत्यु हुने गरेको अनुमान छ ।
तर यौन व्यवसायमा संलग्न, ट्रान्सजेन्डरहरूसँग यौनसम्पर्क गर्ने पुरुष, सुई प्रयोग गर्ने लागुऔषध प्रयोगकर्ताहरूलाई जोखिमबाट बचाउन सरकारले सेवाको पहुँच ल्याए पनि सरकारको दीर्घकालीन नीतिको अभावले संक्रमितमाथि भेदभाव कायमै रहेको राष्ट्रिय एचआईभी तथा यौनरोग नियन्त्रण केन्द्रकी प्रशासक अस्मिता ओझा बताउँछिन् ।
‘उनीहरूको स्थायित्वका लागि सरकारको दीर्घकानीन नीति अपरिहार्य छ, संक्रमितमाथि समुदायमा हुने भेदभाव र लाञ्छानाले मानिस खुल्न सकेनन्,’ ओझा भन्छिन्, ‘सङ्क्रमणको जोखिम झन् बढ्ने नै भयो ।’
एचआईभी पनि मधुमेह र मुटुजन्यजस्तै दीर्घरोग भएको तर सामाजिक भेदभावकै कारण सङ्क्रमितहरूलाई समस्या परिहेको देवकोटोको तर्क छ ।
‘एचआईभी बाहेकका अन्य रोगीले नजिकै फार्मेसीमा गएर औषधि किनेर खानुहुन्छ, त्यसमा संकोच हुँदैन, पाइलापाइलामा एचआईभीको केन्द्र छ, औषधि वितरण गर्ने पनि छन्, तर उहाँहरू जान सक्नुभएको छैन,’ देवकोटाले तर्क गरिन्, ‘त्यहाँको मान्छेले चिन्ला, टोलको मान्छेले चिन्ला, अरूले देख्ला भन्ने डर उहाँहरूमा छ ।’
नेपालमा एक वर्षमा ६ सय १४ जना नयाँ सङ्क्रमित भेटिने र एकै वर्षमा ५ सय ६९ जनाको मृत्यु हुने गरेको अनुमान छ ।
कुन प्रदेशमा कति सङ्क्रमित ?
सात प्रदेशमध्ये सबैभन्दा धेरै मधेश प्रदेशमा एचआईभी सङ्क्रमित रहेका पाइएका छन् । आर्थिक वर्ष २०८०/८१ मा मधेश प्रदेशमा ७४ हजार ६ सय ९६ जनामा परीक्षण गर्दा ५ हजार १ सय १० जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
दोस्रोमा भने कोशी प्रदेश छ । कोशीमा ७२ हजार ३ सय ४९ जनामा एचआईभी परीक्षण गर्दा २२ सय ८३ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
यस्तै क्रमशः बागमतीमा ४९ हजार १ सय ९ जनामा परीक्षण गर्दा ८ सय २ जनामा सङ्क्रमण देखियो भने लुम्बिनीमा १ लाख ६५ हजार ९ सय ६६ जनामा परीक्षण गर्दा ४ सय १२ जना एचआईभी देखिएको थियो ।
यस्तै गण्डकीमा ३६ हजार ८ सय २७ जनाले परीक्षण गर्दा २ सय १० जनामा सङ्क्रमण भएको पाइएको थियो । सुदूपश्चिममा १ लाख ७ हजार १ सय ५८ जनाले परीक्षण गर्दा २ सय १८ जनामा एचआईभी भएको पाइएको थियो ।
कर्णाली भने १७ हजार ९ सय ८५ जनामा परीक्षण गर्दा ४० सङ्क्रमित फेला परेका राष्ट्रिय एचआईभी तथा यौनरोग नियन्त्रण केन्द्रले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण