काठमाडौँ महानगर : बिसौनीमा आकर्षक ‘फल्चा’को ओत
सारांश
- काठमाडौं महानगरपालिकाले विभिन्न स्थानमा फल्चा निर्माण गरेको छ, जसले यात्रुलाई ओत लाग्न र आराम गर्न सहयोग पुर्याएको छ।
- मेयर बालेन्द्र शाहले चुनावी घोषणापत्रमा फल्चा बनाउने प्रतिबद्धता जनाएका थिए, र हालसम्म ४५ वटा फल्चा बनिसकेका छन्।
- फल्चा काठमाडौंको सांस्कृतिक पहिचान र धरोहर हो, र यसको संरक्षण र पुनर्निर्माणमा महानगरपालिका लागिपरेको छ।
काठमाडौँ । तीन वर्षअघि काठमाडौँ छोडेका रौतहटका विपिन चौरासिया काठमाडौँ फर्किएका छन् ।
अहिले पठाओ चलाउँदै जापानी भाषा सिकिरहेका उनलाई तीन वर्षअघि देखेको काठमाडौँ र अहिले फरक लाग्न थालेको छ । उनले देखेको फरक हो– काठमाडौँ महानगरपालिकाले बनाएको ‘फल्चा’ । महानगरपालिकाले अहिले ठाउँठाउँमा बनाएको आकर्षक फल्चा देखेर उनी दङ्ग मात्र छैनन्, ओत लाग्न पनि पाएका छन् ।
‘पहिले म यहाँ पढ्न आउँदा कुनै कुनै ठाउँमा थोत्रा फलाम र सिसाहरूले बनेका बस कुर्ने ठाउँ थियो । तर अहिले त ठाउँ ठाउँमा राम्रा फल्चा बनेछन्,’ उनी खुसी हुँदै भन्छन्, ‘ठुलो पानी पर्यो भने उभिने ठाउँ पाइयो अब ।’
महानगरले फल्चा भएका केही ठाउँहरूमा खानेपानी पनि राखिदिएको छ । त्यो पनि उनलाई असाध्यै मन परेको छ । भन्छन्, ‘पार्किङ गर्ने ठाउँ मिल्दा कहिलेकाहीँ फल्चामा आराम समेत गर्ने गरेको छु ।’
तीनकुनेको फल्चामा भेटिएका विपिनजस्तै शान्तिनगरकी प्रतीक्षा सुवेदीलाई पनि यो फल्चा औधी मन परेको छ । उनको अफिस बालुवाटारमा छ । नेपाल यातायात चढेर ओहोरदोहोर गर्ने उनी भन्छिन्, ‘फल्चाले ठुलो सहयोग गरेको छ, पहिले बस कुर्न कति गाह्रो थियो ।’
तीनकुने पुल वारिपट्टिको फल्चाको तारिफ गर्दै उनी भन्छिन्, ‘खानेपानी, बस्ने ठाउँको व्यवस्था छ । गाडी आएपछि मात्रै फल्चाबाट निस्किँदा भयो ।’
काठमाडौँ महानगरभित्र परम्परागत फल्चा बन्न थालेपछि काठमाडौँ सांस्कृतिक सहर नै हो भन्ने अर्को चिनारी मजबुत भएको छ ।
तर धेरैले काठमाडौँ परिवर्तन नभएको भन्दै सामाजिक सञ्जालमा लेखेको देख्दा भने उनी अचम्म मान्छिन् । ‘सार्वजनिक यातायात र पैदल हिँड्नेलाई काठमाडौँमा के के परिवर्तन भयो भनेर सोध्यो भने केही छैन भनेर हल्ला गर्छन्,’ फल्चालाई उनीहरूले परिवर्तन नमानेकोमा भने दुःखी हुन्छिन् ।
चौरसिया र सुवेदी मात्र होइनन्, अहिले काठमाडौँका सडकमा पैदलै हिँड्नेहरूलाई फल्चाले ठुलो ओत दिएको छ । भलाकुसारी गर्ने, बस कुर्ने, घामपानीबाट ओत लाग्न पाएका छन् ।
काठमाडौँ महानगरभित्र परम्परागत फल्चा बन्न थालेपछि काठमाडौँ सांस्कृतिक सहर नै हो भन्ने अर्को चिनारी मजबुत भएको छ ।
बालेनको घोषणा पत्र, वडाको काम
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफ्नो चुनावी घोषणा पत्रमा नै बस बिसौनीहरूमा परम्परागत फल्चा बनाउने उल्लेख गरेका थिए । बालेन मात्रै नभई उपप्रमुख सुनिता डंगोलले पनि फल्चा, एम्फी थिएटरजस्ता घोषणा चुनावी प्रचारमा समेटेकी थिइन् । सुरुका वर्षको नीति तथा कार्यक्रममा उक्त विषय आए पनि कार्यान्वयन हुन सकेको थिएन । तर पछिल्लो वर्षमा भने वडा मार्फत फल्चा धमाधम निर्माण भइरहेका छन् ।
महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा नं. ८ का अध्यक्ष आशामान संगतका अनुसार नयाँ जनप्रतिनिधि आएपछि मात्रै ४५ वटा फल्चा बनिसकेका छन् । ‘वडाहरूले नै बजेट छुट्टाएर धमाधम फल्चाहरू बनाएका छन् । केही फल्चाहरू महानगरबाट पनि बनिरहेका छन्,’ संगतले भने । उनले महानगरको अहिलेको जनप्रतिनिधिको कार्यकाल भरिमा २ सय वटा फल्चा बनाउने योजना पनि सुनाए ।
कस्तो हुन्छ फल्चा ?
काठमाडौँ महानगरले बस बिसौनीहरुमा बनाएका फल्चा पनि परम्परागत शैलीकै अर्थात् भुइँतले र चारपाखे शैलीकै छन् l परापूर्व कालदेखि नै काठमाडौँ उपत्यकामा बाटोघाटो छेउ फल्चा बनाएको पाइन्छ l तर, जीर्ण भएको फल्चा क्रमशः भत्किँदै गए, पुनर्निर्माण भएनन् । जस्ताले घेरेर राखिएका त्यस्ता फल्चाहरू पनि अहिले उपभोक्तामार्फत पुनःनिर्माण हुन थालेका छन् । २०७९ यता सांस्कृतिक सम्पदा संरक्षणअन्तर्गत वडा कार्यालयले फल्चा पुनर्निर्माण गरिरहेको छ ।

महानगरले सांस्कृतिक क्रियाकलाप सञ्चालन हुने गरेको अतिक्रमित जग्गाको स्वामित्व फिर्ता लिई त्यस ठाउँमा भएका प्राचीन सम्पदा पुनरुत्थान गरिरहेको छ ।
बस बिसौनीदेखि पुस्तकालयसहितका फल्चा
१९९० सालको भूकम्पपछि हराएको जय वागेश्वरी नवाली टोलको ‘ग्वलः दे फल्चा’ खोजेर काठमाडौँ महानगरपालिकाको वडा नं. ८ ले पुनरुत्थान गरेको छ । ‘घरको भित्तामा पाइएको शिलापत्र अध्ययन र करिब ५० सालतिर तयार पारिएको विवरण पुस्तिकाको फोटो हेरेर फल्चा पुनरुत्थान गर्ने निर्णय गरेका थियौँ । शिलापत्रमा फल्चाको निर्माण नेपाल संवत् ८२० मा र पुनःनिर्माण ८७३ मा भएको उल्लेख छ । यसअनुसार फल्चा करिब ३२४ वर्ष पुरानो हो,’ संगतले भने, ‘स्थानीय पाका मानिसहरूका अनुसार ९० सालको भूकम्पपछि फल्चा हराएको थियो ।’

यस्तै हाँडीगाउँको भीमसेनस्थानमा फल्चासहितको पुस्तकालय भवन निर्माण भइरहेको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर ८ ले बछलेश्वरी जात्राका लागि फल्चा र डबली (दबू) निर्माण गरेको छ । पाशुपत क्षेत्रको प्रसिद्ध जात्रा भइकन पनि यसको आफ्नै फल्चा थिएन । यसकारण जात्राको व्यवस्थापनलाई सहज बनाउन फल्चा निर्माण गरिएको महानगरले जनाएको छ ।
अरनिको राजमार्गअन्तर्गत बबरमहलबाट बानेश्वरतर्फ बिजुलीबजारको पुल पार गरेपछिको सडक खण्डमा निर्माण भएको फल्चा शैलीको बस बिसौनी सुरु भइसकेको छ । यस्तै बानेश्वरको बुद्धनगर क्षेत्रमा फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी सञ्चालनमा छ । ‘हामीले परम्परागत निर्माण सामग्री र शैलीको प्रयोग गरेर नमुना बस बिसौनी बनाएका छौँ,’ वडाध्यक्ष रामकुमार केसीले भने ।
कार्यक्रममा निर्माण समितिका संयोजक एवं वडा सदस्य सतिश तण्डुकारले फल्चा निर्माणमा स्थानीय सहभागिता भएकाले यसको संरक्षणका लागि स्थानीयवासीले निगरानी गर्ने बताए । काठमाडौँ महानगरपालिका पशुपतिनाथ देवपत्तन, भकुंत्वमा रहेको दाफा भजन फल्चा करिब २१ लाख रुपैयाँ लागतमा पुनर्निर्माण भइसकेको छ । फल्चामा राखिएको शिलालेखमा यो फल्चा १८ औँ शताब्दीमा सिद्धिनरसिंह डंगोलले निर्माण गराएको उल्लेख छ ।
उपत्यकाको पहिचान हो फल्चा : बालेन
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले फल्चा केवल ऐतिहासिक संरचना नभएर काठमाडौँ उपत्यकाको पहिचान र सांस्कृतिक धरोहर भएको उल्लेख गरेका छन् । यसको संरक्षण र पुनर्निर्माणमा महानगर निरन्तर लागिपरेको उनले बताए ।
बिजुली बजारमा रहेको फल्चाको फोटो राख्दै सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘मलाई पहिलेदेखि लाग्थ्यो, फल्चाहरूको सामाजिक र सांस्कृतिक महत्त्व ठुलो छ तर यी विस्थापित हुँदै छन् । यसलाई तस्बिर र सङ्ग्रहालयमा राख्ने होइन, तिनको संरक्षण, उपयोग र प्रवर्धन आजको आधुनिक विकासको दौडमा पनि अपरिहार्य छ । त्यसैले सोच्थेँ, कम्तीमा, हरेक बस स्टपमा यात्रुहरूलाई हाम्रो आफ्नो मौलिकता भएको फल्चा राख्न पाए कति राम्रो हुन्थ्यो । अहिले त्यहीअनुरूप कामहरू भइरहेका छन् भनेर जानकारी गराउँदछौँ ।’
फल्चा प्राचीनकालदेखि नेवा संस्कृतिमा सामाजिक एकताको केन्द्र रहँदै आएको उनले उल्लेख गरेका छन् । चैत्य वा पाटीसँग जोडिएका फल्चामा भजन, पूजा र पर्वका तयारीसमेत हुने गरेको उनले स्मरण गरेका थिए ।
उनले लेखेका थिए, ‘प्राचीन समयमा यात्रु र तीर्थयात्रीका लागि विश्रामस्थल बनेका ती ठाउँहरूले काठमाडौँका गल्लीहरूमा थकित शरीरलाई विश्रामको मौका दिई फुर्तिलो बनाउँथे । बुढापाका मानिसहरूले फल्चामा बसेर कथा, इतिहास र परम्परा सुनाउँदा पुस्तान्तरण हुँदै मौलिक इतिहास संरक्षणमा ठुलो योगदान पुग्थ्यो । यसैले फल्चा केवल ऐतिहासिक संरचना मात्र होइन, काठमाडौँ उपत्यकाको पहिचान र सांस्कृतिक धरोहर हो ।’
काठमाडौँ महानगरपालिकाले विभिन्न सडकखण्डमा बस बिसौनी (फल्चा) निर्माण कार्य निरन्तर गर्दै आएको शाहले बताएका छन् । ‘आर्थिक वर्ष २०७९/८० देखि नै फल्चा बनाउन बजेट विनियोजन गरिएको हो । बिजुली बजारमा रहेका दुईवटा फल्चा आर्थिक वर्ष २०८०/८१ मा निर्माण सम्पन्न भई उद्घाटन भइसकेका छन् । माघ २०८१ मा जारी कार्यादेशअनुसार थप २४ वटा फल्चा निर्माणको तयारी भइरहेको छ, जसमध्ये आठवटाको निर्माण भइसकेको र ती माघ २०८२ भित्र सम्पन्न हुने जानकारी गराउँछौँ । यी सबै फल्चाको कुल लागत करिब ९ करोड रहेको छ,’ उनले भनेका थिए ।
शाह भन्छन्, ‘कंक्रिटाइजेसनले छोपेको यो समयमा काठमाडौँको सभ्यता झल्काउने झिंगटीको छानो, थामलगायत तथा बुट्टेदार अग्राखको काठबाट बनेका कलात्मक भागहरूसहितको फल्चा दृश्यका लागि पनि मनोरम बन्नेछ । सुविधाका लागि हरेक फल्चामा दुईतर्फी यात्रु विश्रामको सुविधा छ र बिचको बाटोबाट पैदल आवतजावत सहज हुने गरी डिजाइन गरिएको छ । यो अपाङ्गमैत्री पनि छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण