बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
समिति बैठक

क्यान टुक्र्याउने विधेयकबारे समितिमा छलफल, सरकार र सांसद एकमत

शुक्रबार, २० असार २०८२, १५ : ०८
शुक्रबार, २० असार २०८२

सारांश

  • प्रतिनिधि सभा समितिले नागरिक उड्डयन प्राधिकरण (क्यान) टुक्र्याउने दुई विधेयक छिटो अघि बढाउन जोड दिएका छन्।
  • मन्त्री र सांसदहरूले क्यान विभाजनलाई तत्काल कार्यान्वयन गर्नुपर्ने र यसलाई छिटो पारित गर्नुपर्नेमा जोड दिए।
  • विधेयकमाथि छलफल र संशोधनका लागि सांसदहरूले चासो व्यक्त गर्दै हवाई सुरक्षामा सुधारको अपेक्षा गरेका छन्।

काठमाडौँ ।  प्रतिनिधि सभा अन्तरगतको ‘अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति’का सदस्यहरूले सरकारले ल्याएको नागरिक उड्डयन प्राधिकरण (क्यान) टुक्र्याउने दुई वटा विधेयक छिटो अघि बढाउनुपर्नेमा जोड दिएका छन् । 

शुक्रबार सिंहदरबारमा बसेको समिति बैठकमा सांसदहरुले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक’ र ‘नेपाल हवाई सेवा प्राधिकरण सम्बन्धी विधेयक, २०८१’ लाई तत्काल अगाडि बढाउनुपर्नेमा जोड दिएका हुन् ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले समेत क्यान टुक्र्याउने विधेयकलाई छिटो टुंग्याइनुपर्नेमा जोड दिए । 

बैठकमा सांसद भीम प्रसाद आचार्यले विधेयक तत्काल अगाडि बढाउनुपर्ने बताए । ‘यसलाई छलफल गरेर छिटो पारित गरौँ । यदि सकिएन भने अध्यादेशबाट पनि ल्याउनुपर्छ । तर यो कार्यान्वयन गर्न ढिला गर्नु हुँदैन,’ उनले भने ।

 उनले ऐन छिटो ल्याउनुपर्ने आवश्यकता भएकोले तत्काल अगाडि बढाउन सरकारलाई समेत आग्रह गरे । 

यस्तै सांसद एकनाथ ढकालले विभाजन गर्ने भइसकेपछि कार्यतालिका बनाएरै छिटो अगाडि बढाउनुपर्ने मत राखे । ‘अब छुट्याउने नै भइसकेपछि किन विलम्ब गर्ने हो र ? कार्यतालिका बनाऔँ । अगाडि बढाऔँ’, उनले भने । 

पूर्वपर्यटनमन्त्री रहेका माओवादी सांसद सुदन किराँतीले यो विधेयक वर्षे अधिवेशनबाटै पास गर्नुपर्ने बताए । ‘हवाई सेवा भनेको प्लेन उड्ने कुरा मात्रै होइन, देशको कूटनीतिक छविको विषय पनि हो । अन्तर्राष्ट्रिय क्यालेन्डर बनाएर हवाई सेवालाई व्यवस्थित गर्नुपर्छ,’ उनले भने, ‘अहिले निगमलाई विभिन्न कारणले रोकिराखेको छ । अब विधेयकबाट सबै कुराको हल हुनुपर्छ ।’

यस्तै आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले देशको आवश्यकता अनुसार कानुन बनाउनुपर्ने बताए । उनले अन्य एयरलाइन्स र नेपाल एयरलाइन्समा कर्मचारी तुलना गर्दै धेरै कर्मचारीले कसरी थोरै काम गरिरहेको भन्दै पर्यटनमन्त्री बद्री पाण्डेलाई प्रश्न गरे । 

यस्तै पूर्वपर्यटनमन्त्री हितबहादुर तामाङले भने दुवै विधेयक अगाडि बढाउँदा आर्थिक सर्त एक अर्कामा बाझिन नहुनेमा जोड दिए । ‘विधेयक छिटो अगाडि बढाऔँ, यसमा कुनै समस्या छैन ।  तर हतार गर्दा विधेयकका महत्त्वपूर्ण पक्षहरू छुटाउनचाहिँ मिल्दैन,’ तामाङले भने ।

रास्वपाका सांसद शिशिर खनालले हवाई सेवा प्रदायक र नियामक एकै हुँदा दुवै काम राम्रो हुन नसकेको तर्क गरे । ‘अहिले क्यानले भैरहवा र पोखरा विमानस्थल चलेन भनेर चिन्ता लिनुपरेको छ । त्यही संस्थाले फेरि हवाई सुरक्षाको पनि चिन्ता गर्नुपर्ने प्रावधान छ । यसले अहिले राम्रो भएको छैन,’ खनालले भने ।

‘यात्रुको हवाई सुरक्षा हेर्नेले नियमनको मात्रै काम गरोस्, अनि विमानस्थल हेर्नेले सञ्चालन र विस्तारको मात्रै काम गरोस् अनि अहिलेको भन्दा सुधार हुन्छ,’ उनले थपे । खनालले विधेयक सकेसम्म राम्रो बनाएर पारित गर्नुपर्ने भन्दै तर्क गरे । 

मन्त्री भन्छन् ‘आवश्यकताको आधारमा ल्याएका हौँ, सकेसम्म छिटो गरौँ’ 

समितिमा उठेका विषयहरूमा बोल्दै  मन्त्री पाण्डेले दुवै विधेयक आवश्यकताको आधारमा ल्याएको भन्दै अब ढिलाइ गर्न नहुने बताए ।

‘प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायको रूपमा छुट्टाछुट्टै संरचना आवश्यक छ,’ मन्त्री पाण्डेले भने, ‘आईकाओ लगायतका अन्तर्राष्ट्रिय निकायको सिफारिस र नेपालको आवश्यकताका आधारमा विधेयक ल्याइएको हो ।’ 

नेपालमा हवाई सुरक्षासम्बन्धी चुनौती कायमै रहेको उल्लेख गर्दै  पाण्डेले विधेयक विभाजनको विषयमा कुनै अन्योल नरहेको दाबी गरे ।  

मन्त्री पाण्डेले विधेयक तयार पार्ने क्रममा सरोकारवाला निकाय र विज्ञहरूसँग पटक–पटक छलफल र परामर्श गरिएको भन्दै  नियामक र सेवा प्रदायक निकाय छुट्टिएर स्वायत्त रूपमा सञ्चालनमा आए मात्र हवाई सुरक्षामा सुधार आउने बताए ।

मन्त्री पाण्डेका अनुसार  विधेयकमाथि प्रतिनिधि सभाका ७५ जना सांसदहरूले सक्रिय रूपमा भाग लिएर छलफल गरिसकेका छन्  । यस्तै  संशोधनमाथि गहन छलफल  गर्ने तयारी रहेको उनको भनाइ छ ।   

समितिका सभापति राजकिशोर यादवले विधेयक महत्त्वपूर्ण भएको उल्लेख गर्दै आफूले पनि यसलाई छिटो पारित गराउने सन्दर्भमा च्यालेन्ज कै रूपमा लिएको बताए ।  उनले थप छलफलका लागि आइतबार बिहान ८ बजे समितिको अर्को बैठक प्रस्ताव गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप