असारमा फिल्म छायाङ्कन रहर कि बाध्यता ?
सारांश
- असार महिनामा फिल्म छायांकन प्रायः प्रतिकूल भए पनि, आधा दर्जनभन्दा बढी नेपाली फिल्म फ्लोरमा छन्।
- कलाकार र प्राविधिकको व्यस्तताका कारण, असारमा मौसम प्रतिकूल भए पनि फिल्म छायांकन गर्नुपर्ने बाध्यता छ।
- यस वर्ष 'ऐरी', 'किन लाग्छ माया', 'बाटुलो जुन', 'परिवर्तन', 'परी' र 'मिर्मिरे' लगायतका फिल्महरू छायांकनमा छन्।
काठमाडौँ । असार वर्षाको महिना हो । वर्षामा बाढी–पहिरोको डरसमेत हुने भएकाले मानिसहरू यात्रा गर्न समेत रुचाउँदैनन् ।
तर, नेपाली फिल्म उद्योगको एउटा तप्का भने यही झरी, बादल र हिलोलाई छिचोल्दै लाइट्स, क्यामेरा, एक्सन’ भन्न तल्लीन छ । असार महिना फिल्म छायाङ्कनका लागि सबैभन्दा प्रतिकूल मानिन्छ । यद्यपि यस वर्ष आधा दर्जनभन्दा बढी फिल्म यही महिना फ्लोरमा छन् ।
पानी पर्ने र कालो बादल लाग्ने भएकाले प्राकृतिक प्रकाशको अभाव हुनासाथ छायाङ्कन प्रभावित हुने भएर पनि कतिपयले असार महिनामा फिल्मको काम रोक्छन् । एउटा सिन खिच्नका लागि घण्टौँ कुर्नुपर्ने, बारम्बार छायाङ्कन रोक्नुपर्ने र निर्धारित समयमा काम सम्पन्न गर्न नसक्दा निर्माताको लाखौँ रुपैयाँ खर्च बढ्ने गर्छ । यस्तै कारण अधिकांश निर्माता–निर्देशक असारमा फिल्म खिच्न रुचाउँदैनन् ।
तर, यो असारमा ‘ऐरी’, ‘किन लाग्छ माया’, ‘बाटुलो जुन’, ‘परिवर्तन’, ‘परी’ र ‘मिर्मिरे’ जस्ता फिल्म छायाङ्कनमा व्यस्त छन् । केही फिल्म अघिल्ला महिनादेखि नै छायाङ्कनमा थिए भने केहीले असारबाटै छायाङ्कन थालेका हुन् । फिल्म ‘मिर्मिरे’ शनिबारदेखि फ्लोरमा निस्किएको छ ।
रहर होइन, बाध्यता
पछिल्लो समय फिल्म निर्माणको सङ्ख्या ह्वात्तै बढेको छ । यसले गर्दा कलाकार र प्राविधिकको व्यस्तता पनि बढेको छ । त्यसैले चलेका कलाकार पाउनु र दक्ष प्राविधिक पाउन निर्मातालाई कठिन हुने गरेको छ । त्यसैले पनि असारलाई प्रतिकूल मौसम भनेर जान्दाजान्दै पनि कतिपय निर्देशकले कलाकार र प्राविधिक फुर्सदमा रहेको मौका छोप्दै फिल्मलाई फ्लोरमा लैजाने गरेका छन् ।
करिब दुई दशकदेखि प्रोडक्सन म्यानेजरको रूपमा सक्रिय सुवास काफ्ले यसलाई ‘शतप्रतिशत बाध्यता’ बताउँछन् । उनी संलग्न रहेको फिल्म ‘परी’ पनि अहिले फ्लोरमै छ । ‘अहिले कलाकारहरू यति व्यस्त हुनुहुन्छ कि उहाँहरूको डेट मिलाउनै गाह्रो छ । ६ महिनाअघि मागेको समय बल्लतल्ल पाइन्छ,’ काफ्लेले भने, ‘त्यसैले असार भए पनि समय मिलेको वेला काम गर्नुको विकल्प छैन ।’
मौसम विभागले विगत ३० वर्षयताकै बढी पानी अहिले पर्ने बताएकोबारे फिल्मकर्मी पनि जानकार छन् । यद्यपि छायाङ्कन गर्नुपर्ने बाध्यता रहेका काफ्ले सुनाउँछन् ।
काफ्लेको भनाइसँग निर्माता दीपक सिवाकोटी पूर्ण सहमत छन् । उनको फिल्म ‘परिवर्तन’ हाल झापामा छायाङ्कन भइरहेको छ । फिल्म युनिट १५ दिन मोरङको छायाङ्कन सकेर झापा पुगेको हो ।
‘मेरो फिल्म जेठमै सक्ने योजना थियो, तर कलाकारको व्यस्तताले गर्दा भनेको समयमा सुटिङ सुरु हुन सकेन’, सिवाकोटीले पीडा पोखे, ‘असारमा छायाङ्कन गर्नुपर्दा अनेकन कठिनाइ भोग्नुपरेको छ । पानीले गर्दा प्याकअप गर्नुपर्ने, लाइट नमिल्ने समस्याले गर्दा मेरो अनुमानित बजेटभन्दा ४० लाख रुपैयाँभन्दा बढी खर्च बढ्ने देखिइसकेको छ ।’
आफ्नोमात्र नरहेर अहिले छायाङ्कनमा रहेका सबै निर्माताको अवस्था यस्तै रहेको उनको भनाइ छ ।
फ्लोरमा कति फिल्म ?
‘ऐरी’ गत वैशाखदेखि नै छायाङ्कनमा रहेको फिल्म हो । बहुप्रतीक्षित मानिएको यो फिल्ममा अभिनेता प्रदीप खड्का, भुटानी अभिनेत्री (बिग बोस फेम) छुम दरङ र सोनम लामा मुख्य भूमिकामा छन् । फिल्ममा बलिउडको ‘जवान’मा काम गरेका कलाकार साङ्गे पनि छन् ।

जीवन थापा निर्देशित फिल्म नेपाली र हिन्दीसहित दक्षिण भारतीय भाषाहरूमा पनि रिलिज गर्ने योजना निर्माण पक्षको छ ।
‘किन लाग्छ माया’ असारको पहिलो सातादेखि छायाङ्कनमा छ । पारिवारिक कथावस्तुमा आधारित फिल्ममा धिरेन शाक्य, राजेन्द्र खड्गी, सञ्जित भण्डारी, ऋचा थापा, हिउँवाला गौतमजस्ता पुराना र नयाँ कलाकारको अभिनय रहनेछ । फिल्मले दाजुभाइको सम्बन्ध, त्याग र जिम्मेवारीको कथा भन्नेछ ।
त्यस्तै, ‘बाटुलो जुन’ अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म हो । असार १४ गतेदेखि धादिङबाट छायाङ्कन थालेको फिल्मका निर्देशक भुवन केसी हुन् । जिया केसीको लगानीमा बनिरहेको फिल्ममा अनमोलसँगै प्रिन्सी खतिवडाको मुख्य भूमिका छ ।

‘परिवर्तन’ पूर्वी नेपालका विभिन्न स्थानमा छायाङ्कन भइरहेको फिल्म हो । एक इमानदार प्रहरी अधिकृतको कथा रहेको फिल्म विजय केरुङले निर्देशन गरिरहेका छन् । फिल्ममा सुशील श्रेष्ठ, अञ्जना बराइली, सुनील थापा, बुद्धि तामाङ, करिश्मा मानन्धरजस्ता कलाकार छन् । फिल्मले सीमा सुरक्षा, भ्रष्टाचार र सामाजिक न्यायजस्ता गम्भीर विषयलाई उठाएको बताइन्छ ।
‘परी’ पनि जेठदेखि नै छायाङ्कनमा रहेको फिल्म हो । छायाङ्कन अन्तिम चरणमा पुगेको फिल्मका निर्देशक गोविन्द गौतम छन् । फिल्ममा किरण केसी, दीपाश्री निरौला, लक्ष्मी गिरी, प्रियंका कार्की, दिनेश डिसीजस्ता स्थापित कलाकारहरूको बाक्लो उपस्थिति छ ।
फिल्म ‘मिर्मिरे’को शुक्रबारदेखि काभ्रेबाट छायाङ्कन सुरु भएको छ । दयाहाङ राई र प्रकाश सपूतलाई पहिलो पटक एकैपटक यो फिल्ममार्फत पर्दामा देख्न पाइनेछ । फिल्मका निर्देशक यम शेर्पा हुन् । फिल्ममा दयाहाङ र प्रकाशसँगै सिर्जना निङलेखु, माओत्से गुरुङ लगायतको अभिनय रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण