नेपाललाई लगातार दोस्रोपटक एसीसी पुरुष यू-१६ इस्ट जोन कपको उपाधि
सारांश
- एसीसी यू-१६ इस्ट जोन कप २०२५ को फाइनलमा नेपालले सिंगापुरलाई २ विकेटले पराजित गर्दै उपाधि जित्यो।
- नेपालले सिंगापुरलाई हराएर लगातार दोस्रो पटक उपाधि जितेको हो।
- सिंगापुरले दिएको १ सय १४ रनको लक्ष्य नेपालले २८.५ ओभरमा पूरा गर्यो।
काठमाडौँ । एसीसी पुरुष यू-१६ इस्ट जोन कप २०२५ को फाइनल खेलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले लगातार दोस्रोपटक उपाधि जित्न सफल भएको छ । नेपालले पछिल्लो संस्करणको फाइनलमा मलेसियालाई हराउँदै यो उपाधि जितेको थियो ।
सिंगापुरले जितका लागि प्रस्तुत गरेको १ सय १४ रनको लक्ष्य नेपालले २८.५ ओभरमा ८ विकेटको क्षतिमा पछ्यायो ।
मध्यम लक्ष्य पछ्याएको नेपालको सुरुवात राम्रो हुन सकेन । परिमर्जन यादवले तीव्र गतिमा ९ बलमा १३ रन बनाए पनि दोस्रो ओभरमा आउट हुन पुगे । उनले ३ चौका प्रहार गरे ।
त्यसपछि प्रसिद्ध जैसी र विकेटकिपर शिवांश बजगाईंले टोलीको इनिङ्स सम्हाले । दुवैले दोस्रो विकेटका लागि २३ बलमा २७ रन जोडे । छैटौँ ओभरमा बजगाईं १३ बलमा २० रन बनाउँदै आएट हुन पुगे । उनले २ चौका र १ छक्का प्रहार गरे ।
प्रतियोगितमा सबैभन्दा धेरै रन बनाएका रौनक श्रीवास्तव पहिलो बलमा नै कपिस वेंकटरामनको शिकार बने । त्यसपछि जैसी पनि १७ रन बनाएर आउट भए । उनले २८ बलको सामना गर्दै २ चौका प्रहार गरे ।
अर्को ओभरमा सुगम बुढाथोकी पनि मात्र १ रन बनाएर पभेलियन फर्किए । त्यसपछि शुभम खनाल र जोय थापाले नेपाललाई राहत दिए । २४ औँ ओभरमा खनाल १८ रन बनाएर आउट भए । उनले ३ चौका हात पारे ।
लगत्तै सचिन भट्ट पनि १ रन बनाएर आउट भए । कप्तान विपिन प्रसाद शर्मा पनि लामो समय टिक्न सकेनन् । उनी खाता नै नखोली पभेलियन फर्किए ।
खेलको अन्त्यतिर जोय थापाले ५३ बलमा २४ रन बनाउँदै नेपाललाई जितसम्म डोर्याए । उनले ३ चौका प्रहार गरे । त्यस्तै, अभय यादवले १२ बलमा १० रन जोड्दै उनलाई राम्रो साथ दिए । उनले १ छक्का हिर्काए ।
सिंगापुरका लागि कपिस वेंकटरामनले ४ विकेट लिए । युवान पाण्डेले २ विकेट लिए भने वेदांश गुप्ता र आकाश तेजाले १-१ विकेट हात पारे ।
यसअघि मलेसियाको बांगीस्थति वाईएसडी यूकेएम ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ४०.५ ओभरमा सबै विकेट गुमाएर १ सय १३ रन बनाएको थियो ।

टोलीका लागि ओपनर तथा विकेटकिपर रोहन अस्टिन अरुनले सर्वाधिक २३ रनको योगदान दिए । उनले ८४ बलमा २ चौका प्रहार गरे ।
कप्तान रियान नाइकले ११ बलमा १५ रन जोडे । उनले ३ चौका प्रहार गरे । वेदान्स गुप्ताले १२ रन प्रहार गरे भने आकाश तेजाले १० रन हिर्काए । आरभ अग्रवाल र युवान पाण्डेले ९-९ रन बनाए ।
सिंगापुरलाई सस्तोमा समेट्न सुशील बहादुर रावलले ८ ओभर बलिङ गर्दै ३८ रन खर्चेर ३ विकेट लिए । अभय यादवले १० ओभरमा ३४ रन दिएर ३ विकेट हात पारे । र शुभम खनालले २ विकेट तथा विपिन प्रसाद शर्माले १ विकेट लिए ।

नेपालले अपराजित रहँदै फाइनलसम्मको यात्रा तय गरेको थियो। फाइनलिस्ट रहेका नेपाल र सिंगापुर दुवै समूह चरणमा एउटै समूह ‘ए’ मा थिए ।
नेपाल समूहको विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो भने सिंगापुर उप–विजेता बनेर सेमिफाइनलमा पुगेको थियो । नेपालले पहिलो खेलमा पनि सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण