बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अन्तर्वार्ता

डा. जस्मिन श्रेष्ठलाई प्रश्न : गर्भवती महिलाले कुनै पनि औषधि खानै मिल्दैन हो ?

‘सुरुको तीन महिनामा गर्भपतन हुने सम्भावना धेरै हुन्छ’
शनिबार, २१ असार २०८२

‘आमा’ सुन्दै आत्मीय लाग्ने शब्द हो । आमा बन्न एउटा महिलाले कति धेरै सङ्घर्ष गर्नुपर्छ भन्ने कुरा एउटा आमा बनिसकेकी महिलालाई मात्रै थाहा हुन्छ ।  

तर कतिपय अवस्थामा गर्भमा रहेको बच्चाको ख्याल गर्ने तरिका नजान्दा महिलाले गर्भवती भएर पनि ‘आमा’ भन्ने अवसर गुमाउने गर्छिन् । यो भोगाइ साह्रै पीडादायी हुन्छ । 

यो अवस्था आउन नदिन गर्भवती महिलाले धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । अनि मात्र स्वस्थ शिशुको जन्म सम्भव छ ।  

त्यसैले गर्भ रहेको समयदेखि नौ महिनासम्मको अवधिमा एउटा आमाले ध्यान दिनुपर्ने कुरा के हो ? भनेर हामीले प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर जस्मिन श्रेष्ठसँग हामीले कुराकानी गरेका छौँ । 

फर्स्ट ट्राइमेस्टर : गर्भ रहेको समयदेखि तीन महिनासम्मको समयलाई फर्स्ट ट्राइमेस्टर भनिन्छ । 

  • गर्भ रहेको थाहा पाउने बित्तिकै के गर्ने ? 

गर्भ रहेको सुरुको तीन महिनालाई फर्स्ट ट्राइमेस्टर भनिन्छ । यो समय निकै संवेदनशील हुन्छ । त्यसैले गर्भवती भएको थाहा पाउने बित्तिकै स्वास्थ्य संस्थामा जँचाउन गइहाल्नुपर्छ । तर कतिपय महिलाहरू बजारबाट किट किनेर ल्याएर गर्भवती भएको थाहा पाएपछि घरमा नै चुप लागेर बस्ने गर्नुहुन्छ । किनभने गर्भवती भएको समयमा औषधी खानु हुँदैन भन्ने भ्रम छ । धेरै महिलाहरू गर्भ रहेको तीन महिनापछि मात्रै अस्पताल आउने गर्छन् । 

DR

  • गर्भ रहेको थाहा पाउने बित्तिकै अस्पताल जाँदा के फाइदा हुन्छ ? 

गर्भ रहने बित्तिकै अस्पताल जाँदा त्यहाँ पाठेघरको जाँच हुन्छ । पाठेघरमा केही सङ्क्रमण छ भने गर्भपतन हुने सम्भावना हुन्छ । त्यसैले सुरुमा नै सङ्क्रमण भएको थाहा पायौँ भने त्यसको उपचार समयमा नै हुन्छ र गर्भपतन हुनबाट जोगाउन सकिन्छ । अल्ट्रासाउन्ड गरिन्छ, अल्ट्रासाउन्ड गर्‍यो भने बच्चा पाठेघरभित्र बसेको छ कि पाठेघर बाहिर बसेको छ कि त्यो छुट्टिन्छ । पाठेघरबाहिर बसेको छ भने पछि निक्कै जोखिम हुन्छ । यस्ता कुरा थाहा पाउन पनि गर्भ रहने बित्तिकै अस्पताल गइहाल्नुपर्छ । 

  • गर्भवती महिलाले के-के कुरामा ध्यान दिने ? 

सुरुको तीन महिनामा गर्भपतन हुने सम्भावना धेरै हुन्छ । त्यसैले भारी सामान नउचाल्ने, सकेसम्म सुरुको तीन महिनामा शारीरिक सम्पर्क नगर्ने, टुसुक्क नबस्ने जस्ता कुरामा ध्यान दिनुपर्छ । 

  • सुरुवाती चरणमा बान्ता हुने धेरै हुन्छ भनिन्छ । यसलाई कम गर्ने केही उपाय छ ? 

गर्भवती महिलाले सुरुवाती चरणमा चिल्लो, अमिलो, पिरो खानुहुँदैन। तर महिलाहरूलाई यो समयमै हो- पिरो, अमिलो खान मन लाग्ने । यो कम गरियो भने धेरै सहज हुनसक्छ । हुन त तीन महिनापछि अधिकांश महिलाहरूलाई बान्ता हुने समस्या कम हुँदै जान्छ । 

  • गर्भवती महिलाले कुनै पनि औषधि खानै मिल्दैन हो ? 

औषधि खानै नहुने भन्ने होइन । खान मिल्छ,  तर कुन सुरक्षित छ, कुन असुरक्षित छ भनेर चिकित्सकसँग सोधेर मात्रै खाने गर्नुपर्छ । तर हामी नेपालीहरूको चलन के छ भने चिकित्सककोमा जान झन्झट मान्छौँ र फार्मेसीमा गएर सिटामोल किनेर खाने, रुघाखोकीको औषधि खाने  गर्छौँ । त्यसो गर्नुहुँदैन । चिकित्सकको सल्लाह लिएर सुरक्षित किसिमका औषधिहरू खाँदा हुन्छ । 

dr jasmin shrestha (3)

सेकेन्ड ट्राइमेस्टर : ४ महिनादेखि ६ महिनासम्मको समयलाई सेकेन्ड ट्राइमेस्टर भनिन्छ । यो अलि सेफ पिरियड पनि हो । 

  • गर्भवती भएको चार महिना लागेपछि के-के कुरामा ध्यान दिनुपर्छ ? 

यो समय पेट ठुलो हुँदै आउँछ । यो बेला बच्चा चले नचलेको याद गर्नुपर्छ । बस्दा सहज रूपमा बस्ने गर्नुपर्छ। कुनै पनि औषधि चिकित्सकको सल्लाह विना खानुहुँदैन । चिकित्सकले जँचाउन आउनु भनेको समयमा अस्पताल जानैपर्छ । किनभने चिकित्सकले तपाईँलाई त्यत्तिकै बोलाएको हुँदैन, त्यसका पनि कारणहरु हुन्छन् । कुन बेलामा भिडियो एक्स-रे गर्दा राम्रो हुन्छ, कुन बेला गर्दा राम्रो हुँदैन भन्ने चिकित्सकलाई थाहा हुन्छ । त्यसैले चिकित्सकले बोलाएको समयमा बहाना बनाएर अस्पताल नजाने गर्नुहुँदैन । यसो गर्दा बच्चालाई जोखिम हुन्छ । 

थर्ड ट्राइमेस्टर : थर्ड ट्राइमेस्टर भनेको ७ महिनादेखि ९ महिनाको समय हो । 

  • यो अवस्थामा के-के समस्या हुन्छन् ? 

७ महिनादेखि बच्चा ठुलो हुँदै जान्छ । हेभिनेस हुने, ढाडको समस्या हुन सक्छ । पिसाबको थैलोमा दुख्ने समस्या हुन्छ । पिसाबमा सङ्क्रमण हुने देखिने सम्भावना धेरै हुन्छ । धेरै जना यो अवस्थामा पेट दुख्यो भनेर अस्पताल आउने गर्छन् । त्यसैले पानी धेरै खाने, योनी निरन्तर सफा गर्ने, घरमा नै पाकेको खानेकुरा खाने गर्नुपर्छ । माछामासु खाने, भेजिटेरियनले तोफु, पनिर लगायतका खानेकुरा खाने, राम्रो खानामा जोड दिने गर्नुपर्छ । 

dr jasmin shrestha (2)

  • बाहिर गएर खान मिल्छ कि मिल्दैन ?

कहिलेकाहीँ खाँदा केही हुँदैन । भोजभतेर तथा सामाजिक कार्यमा जानुपर्ने हुन्छ । त्यस्तो अवस्थामा आफ्नो स्वास्थ्यलाई राम्रो गर्ने खानेकुरा खानुपर्छ । तर चिल्लो, पिरो, अमिलो खानेकुरा खानुहुँदैन । यसले एसिडिटी बढाउँछ । 

  • अरू के-के कुरामा ध्यान दिनुपर्छ ? 

विशेष गरी यो अवस्थामा बच्चा चलेको छ कि छैन भन्ने कुरा विशेष ध्यान दिनुपर्छ । किनभने सामान्यतया पेटको बच्चा यो समयमा ८ देखि १० पटकसम्म चल्नुपर्छ । कतिपयलाई बच्चा चलेकै याद हुँदैन अनि आमाको गर्भमा नै बच्चाको मृत्यु भैसकेको हुन्छ । त्यसैले बच्चा कम चलेको छ भने तुरुन्तै अस्पताल गइहाल्नुपर्छ । बच्चा पेटमा चलिरहेको छ भने बच्चा स्वस्थ छ भन्ने सङ्केत हो भने बच्चा कम चल्नु भनेको पेटभित्रको बच्चा बिरामी छ भन्ने सङ्केतका रूपमा बुझ्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया