शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

इन्स्टाग्राममा रिल्स बनाउन नदिएको भन्दै पत्नीले दिइन् उजुरी, पतिले गुमाए रोजगारी

शनिबार, २१ असार २०८२, १५ : २०
शनिबार, २१ असार २०८२

सारांश

  • नोएडामा एक महिलाले श्रीमानविरुद्ध सामाजिक सञ्जाल प्रयोग गर्न नदिएको भन्दै उजुरी दिइन्।
  • महिलाले रिल्स बनाउन नपाएको र फलोअर्स घटेको गुनासो गरेकी थिइन्, जसका कारण घर छाडेर माइत गएकी थिइन्।
  • प्रहरीले दुवैलाई मिलापत्र गराएपछि उनीहरू फेरि सँगै बस्न राजी भए, तर श्रीमानले जागिर गुमाए।

उत्तर प्रदेश । भारतको उत्तर प्रदेशस्थित नोएडामा बस्दै आएकी निशा नामकी युवतीले सामाजिक सञ्जाल प्रयोग गर्न नदिएको भन्दै आफ्नै श्रीमान् विरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन्। श्रीमान् विजेन्द्रले आफूलाई घरको काममा व्यस्त राखेपछि आफूले नियमित रूपमा इन्स्टाग्राममा बनाउने रिल्स बनाउन समय नपाएको र त्यसका कारण फलोअर्स घटेको उनले दाबी गरेकी थिइन् ।

३० वर्षीया निशाले प्रहरीले दिएको बयानमा भनिन्, ‘म भाँडा धुने र घर सफा गर्ने काममा लागिरहेकी थिएँ। श्रीमानको दबाबका कारण मैले रिल्स बनाउन सकिनँ, जसले गर्दा मेरा फलोअर्स घटे।’

उनका अनुसार, उनी दिनमा कम्तीमा दुई वटा इन्स्टाग्राम रिल्स बनाउँथिन्, तर श्रीमान्ले फोन कम चलाउन सुझाव दिएपछि त्यो सम्भव भएन। उनले त्यसपछि घर छोडिन् र आफ्नो बुबाआमासँग अर्को गाउँ फर्किइन्।  त्यसपछि उनले महिलाहरूको उजुरी हेर्ने हापुर जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइन्। 

उता श्रीमान् विजेन्द्रले पनि निशाविरुद्ध उजुरी दर्ता गराए। उनकी श्रीमती दिनभर इन्स्टाग्राममै व्यस्त रहने र घरको कामकाजमा ध्यान नदिने उनले आरोप लगाए ।

प्रहरीले दुबैलाई बोलाएर एकआपसमा मिलापत्र गराए। परामर्श सत्रपछि उनीहरू फेरि एकसाथ बस्न राजी भए। यद्यपि निशाले दर्ता गराएको उजुरी र त्यसपछिको तनावका कारण विजेन्द्रले जागिर गुमाए र अहिले उनी वैकल्पिक रोजगारीको खोजीमा छन्।

प्रहरीका अनुसार, दम्पतीबिच हाल मेलमिलाप भएको छ र दुबैले आपसी समझदारीमा जीवन अघि बढाउने प्रयास गरिरहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप