समस्याग्रस्त सहकारीको ३ अर्ब ७१ करोड बचत फिर्ता, ३४ अर्बभन्दा बढी अझै बाँकी
सारांश
- समस्याग्रस्त २२ सहकारीका ६१ हजार बचतकर्तालाई ३ अर्ब ७१ करोड रुपैयाँ फिर्ता गरिएको छ।
- फिर्ता गरिएको रकम कुल मागदाबीको १० प्रतिशत मात्रै हो, अझै ३४ अर्बभन्दा बढी रकम फिर्ता हुन बाँकी छ।
- समितिले दुई वर्षमा ३ अर्ब ७१ करोड रुपैयाँ बराबरको बचत फिर्ता गरेको जनाएको छ।
काठमाडौँ । २२ वटा समस्याग्रस्त सहकारीको ३ अर्ब ७१ करोड ६६ लाख रुपैयाँ फिर्ता तथा मिलान भएको छ ।समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हालसम्म विभिन्न २२ वटा सहकारीका ६१ हजारभन्दा बढी बचतकर्तालाई सो बराबरको बचत फिर्ता तथा हिसाब मिलान गरिएको हो ।
समितिले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै स्थापनाकालदेखि हालसम्मको प्रगति विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।यद्यपि, अहिलेसम्म फिर्ता भएको यो रकम कुल मागदाबीको करिब १० प्रतिशत मात्र हो। पीडितहरूको अझै ३४ अर्ब ७१ करोड रुपैयाँभन्दा बढी रकम फिर्ता हुन बाँकी रहेको छ ।
समितिका अनुसार हालसम्म ६१ हजार ९४ जना मागदाबीकर्ताको कुल मागदाबी रकम ३८ अर्ब ४२ करोड ९६ लाख ३२ हजार रुपैयाँको मागदाबी परेको छ ।यसमध्ये समितिले आफ्नो दुई वर्षे कार्यकालमा विभिन्न प्रक्रियामार्फत ३ अर्ब ७१ करोड ६६ लाख ५ हजार ६५४ रुपैयाँ बराबरको बचत फिर्ता तथा दायित्व मिलान गरिएको जनाएको हो । यो असार १५ गतेसम्मको तथ्याङ्क हो ।
गत आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्म १२ हजार ९९९ बचतकर्तालाई ८३ करोड ६५ लाख २० हजार रुपैयाँ फिर्ता गरिएको थियो । चालु आर्थिक वर्षको साढे ११ महिनामा ३ हजार ६८९ बचतकर्तालाई २ अर्ब ५८ करोड १८ लाख ७६ हजार रुपैयाँ फिर्ता तथा मिलान गरिएको समितिले जनाएको छ ।
त्यसबाहेक ५६ हजार १०६ जनाले आंशिक रूपमा २९ करोड ८२ लाख रुपैयाँ बराबरको बचत फिर्ता तथा हिसाब मिलान गरिएको जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण