बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपराध

टिकटक लाइभ बस्ने, महिला प्रयोग गरेर पुरुषलाई ‘फिसिङ’

महिलासँग कमिसन, पुरुषसँग बार्गेनिङ
सोमबार, २३ असार २०८२, ०७ : ३५
सोमबार, २३ असार २०८२

सारांश

  • काठमाडौँ प्रहरीले टिकटक लाइभमा महिला प्रयोग गरी फिसिङ गर्ने युवकलाई अनुसन्धान गरिरहेको छ।
  • सुर्खेतका रमेश थापाले टिकटक लाइभबाट कमिसन लिने र पुरुषसँग बार्गेनिङ गर्ने गरेको आरोप छ।
  • प्रहरीले थापालाई पक्राउ गरी उनको बैंक खाता र रकमको विवरण खोजिरहेको छ, जसमा उनले धेरै पुरुषबाट रकम लिएका थिए।

काठमाडौँ । टिकटक लाइभ बस्ने महिलाहरूसँग मिलेर पुरुषलाई ‘फिसिङ’ गर्ने र कमिसन खाने गरेको आरोपमा एक जना युवकमाथि काठमाडौँ प्रहरीले अनुसन्धान गरिरहेको छ ।

उनी हुन्, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ घर भएर टोखा स्थित ग्राण्डीमा बस्ने २९ वर्षीय रमेश थापा । उनलाई प्रहरीले असार १३ देखी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

थापा असार १३ मा आफ्नो समस्या लिएर प्रहरी वृत्त बौद्धमा पुगेका थिए । उनलाई एउटा समूहले कुटपिट गरेको थियो ।

बौद्ध प्रहरीले ‘रेस्पोन्स’ नगरेको भन्दै उनी भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा पुगे । अनुहारमा निलडाम लिएर प्रहरीकहाँ गएका थापा आफैँ अनुसन्धानको दायरमा तानिएका हुन् ।

टिकटकबाट आउने कमिसनमा विवाद भएपछि टिकटक लाइभ बस्ने महिलाहरूका आफन्तहरूले उनलाई कुटपिट गरेको भेटिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । तर, उनलाई कुटपिट गर्नेहरूको अहिलेसम्म पहिचान खुलेको छैन ।

टिकटकमा लाइभ बस्ने महिलाहरूलाई पुरुषहरूले स्वेच्छाले ‘क्वाइन’ हाल्ने गर्छन् । ती महिलाहरूलाई थापाले नै परिचालन गरेर सो क्वाइनबाट कमिसन लिने गरेको अनुसन्धानबाट खुलेको छ ।

अनि, लाइभ बस्ने महिला र क्वाइन हाल्नेहरूलाई थापाले टेलिग्राम ग्रुप बनाएर कुरा गराउँछन् । टेलिग्राम ग्रुपमा हुने अश्लील कुराकानीको भिडियो बनाएर उनले पुरुषलाई पठाउने र ‘बार्गेनिङ’ गर्ने गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । उनले भने, ‘उनले बार्गेनिङ गर्ने नियतले गुगल ड्राइभमा स्टोर गरेर राखेको भिडियोहरू पनि फेला परेको छ ।’

आरोपीले १५–२० वटा इमेल आइडी र गुगल ड्राइभमा त्यस्ता भिडियोहरू सेभ गरेर राखेका हुन् । महिला प्रयोग गरेर ‘फिसिङ’ गरेपछि भिडियो बनाएर आरोपीले ‘मिलाउँछु’ भनेर बार्गेनिङ गर्ने गरेका थिए । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘धेरै पुरुषहरूलाई उनले रकम जम्मा गर्न भन्दै बैंक खाताको क्यूआर कोड पठाएको भेटिएको छ ।

थापाले हालसम्म बार्गेनिङ गरेर कत्ति रकम लिए भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । अनुसन्धानमा संलग्न अधिकृत भन्छन्, ‘उनको बैंक खाता र त्यहाँ जम्मा भएको रकमको विवरण मागेका छौँ ।’

आरोपीले ‘जांगी एप’ मार्फत पनि ग्रुप बनाएर महिलाहरूलाई अश्लील कुराकानी गर्न लगाएर भिडियो बनाउने गरेका थिए । सो ग्रुपमा आफू पनि बसेर भिडियो रेकर्ड गरेर उनले ‘बार्गेनिङ धन्दा’ चलाएका हुन् । गुगलबाट सहजै डाउनलोड गर्न सकिने जांगी एप मार्फत ग्रुप बनाउँदा प्रयोगकर्ताले एडमिनबारे सहजै थाहा पाउँदैनन् ।

आरोपी विरुद्ध प्रहरीले मुलुकी अपराध संहिता २०७४ को दफा–१२१ अनुसार अश्लील किताब र पर्चा बनाउन वा बिक्री गर्न नहुने कसुरमा अनुसन्धान गरिरहेको छ । एसपी बोहरा भन्छन्, ‘अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेका छौँ ।’

सामाजिक सञ्जाल टिकटक लाइभ मार्फत अश्लीलता प्रदर्शन गर्ने र अश्लील कुराकानी गर्ने महिलाहरूबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप