आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
बाढीको वितण्डा : दिनभर के-के भए ? (विस्तृतमा)
LIVE UPDATES

LIVE UPDATES : बाढीको वितण्डा : दिनभर के-के भए ? (विस्तृतमा)

मङ्गलबार, २४ असार २०८२, २० : ३६
Live

काठमाडौँ । रसुवामा गएराति एक्कासि आएको बाढीमा परेर २० जना सम्पर्कविहीन भएका छन् । 

यस्तै ५५ जनाको उद्धार भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।  गोसाइकुण्ड गाउँपालिका वडा नम्बर २ स्थित रसुवागढीमा चीनतर्फबाट एकाएक आएको बाढीमा परेर उक्त घटना भएको प्रहरीको भनाइ छ । 

बाढीले नेपाल र चीन नाका जोड्ने मितेरी पुल बताएको छ ।  यससँगै मानिस र सवारी साधनमा आगत जावत बन्द भएको प्रहरीको भनाइ छ ।

बाढीबारे विस्तृत अपडेट हेर्नुहोस्-

हिमताल फुटेर भोटेकोशीमा बाढी आएको हुनसक्ने इसिमोडको आशङ्का

काठमाडौँ ।  अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले वर्षाका कारण नभई कुनै हिमताल फुटेर रसुवाको भोटेकोशी नदीमा बाढी आएको हुनसक्ने आशङ्का गरेको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै इसिमोडले हिमताल फुटेको हुनसक्ने बताएको हो । 

आज दिउँसो जल तथा मौसम विज्ञान विभागले पनि नेपाल र चीन आसपासका क्षेत्रमा ठूलो वर्षा नभएकाले हिमताल फुटेर बाढी आएको हुनसक्ने अनुमान रहेको बताएको थियो । “रासुवामा सोमबार आएको बाढीको खास कारण पहिचान गर्न अझै समय लाग्नेछ, तर प्रारम्भिक अनुसन्धानबाट उक्त बाढी अत्यधिक वर्षाका कारण आएको थिएन । मौसमी बादलको आवरण हटेपछि मात्रै उपग्रह चित्रमार्फत थप अध्ययन गरेर विस्तृत अनुसन्धान गर्न सकिनेछ”, जारी विज्ञप्तिमा भनिएको छ, “भूगर्भविद्, हिमनदी विशेषज्ञ, जलवायुविज्ञलगायत सहभागी बहुक्षेत्रीय टोलीले बाढीको वास्तविक कारणको अनुसन्धान गर्नुपर्ने आवश्यकता छ ।”

इसिमोडका वरिष्ठ जलविज्ञान अनुसन्धानकर्ता प्रदीपमान डङ्गोलले हिमताल विस्फोट भएको शङ्का गरिएको  बताए । हालसम्म यसको ठोस प्रमाण भने नरहेको उनको भनाइ छ । उनले भने, “इसिमोडको सन् २०२१ को अध्ययनअनुसार तिब्बतस्थित त्रिशूली नदीको माथिल्लो क्षेत्रको एक हिमताल उच्च जोखिमयुक्त श्रेणीमा रहेको थियो । सन् १९९० देखि २०२० सम्म त्रिशूली नदीको जलाधार क्षेत्रमा हिमतालको आकार ३३ प्रतिशत र सङ्ख्या १६ प्रतिशतले बढेको छ । बाढीअघि लिइएका उपग्रह चित्रहरूमा पनि हिमतालहरूको सङ्ख्या बढेको देखिन्छ, तर हाल बादलको कारण उपग्रह विश्लेषणमा अवरोध पुगेको छ ।”

रसुवा अपडेट: ९ जनाको शव फेला, १९ जना सम्पर्कविहीन

काठमाडौँ । चीनबाट एकाएक आएको बाढीका कारण रसुवागढी क्षेत्रमा ९ जनाको मृत्यु भएको छ । बाढीले बगाएका उनीहरुको शव विभिन्न स्थानमा फेला परेको छ ।

 मंगलबार बिहानको समयमा आएको बाढीले बगाएर ९ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस्तै अन्य १९ जना अझै बेपत्ता छन् ।

प्रहरीका अनुसार बेपत्ता हुनेमा २ जना प्रहरी, ६ जना चिनियाँ नागरिक र १६ जना सर्वसाधारण छन् । 

बाढीमा फसेकाको उद्धारमा खटिएका असईको शव त्रिशुली नदीमा फेला

हेटौँडा । चितवनको १५ किलोमा एक प्रहरीको शव फेला परेको छ । भरतपुर महानगरपालिका–२९ स्थित १५ किलोमा त्रिशुली नदीमा तैरिरहेको अवस्थामा शव मंगलबार फेला परेको हो ।

फेला परेको शव प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक रविन्द्र खनालका अनुसार मृतक श्रेष्ठ रामेछाप तामाकोशी गाउँपालिका–४ स्थायी निवासी हुन् । उनी हाल रसुवाको प्रहरी चौकी हाकुमा दरबन्दी भई इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत थिए । 

रसुवामा बाढीको वितण्डा : घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउने निर्णय

काठमाडौँ । मंगलबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकले रसुवाको गोसाइकुण्ड गाउँपालिका–२, रसुवागढीमा गएराति आएको आकस्मिक बाढीबाट भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था मिलाउने निर्णय गरेको छ । 

परिषद्को बैठकले घटनामा मृतक र बेपत्ता परिवारलाई प्रचलित कानुन अनुसार तत्काल राहत उपलब्ध गराउने व्यवस्था गृह मन्त्रालयले मिलाउने र घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्ने निर्णय गरेको हो । 

परिषद्ले घटनाको कारण पहिचानका लागि आवश्यक अध्ययन, पूर्वतयारी तथा मित्रराष्ट्र चीनको सरोकारवाला निकायसँग समन्वयको व्यवस्था मिलाउन सरोकारवाला सबै निकायलाई निर्देशन दिने निर्णय गरेको छ ।

तत्काल केरुङ नाका सुचारु गर्न परराष्ट्र मन्त्रालयमार्फत चीनसँग समन्वय गर्ने निर्णय

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को मंगलबार बसेको बैठकले नेपाल–चीन जोड्ने नाका रसुवागढीस्थित भोटेकोशी नदीको मितेरी पुल बगाइ आवागमन बन्द भएकाले पुल र चीनतर्फको बाटो पुनः निर्माण गरी केरुङ नाका सुचारु गर्न परराष्ट्र मन्त्रालयमार्फत् मित्रराष्ट्र चीनसँग समन्वय गर्ने निर्णय गरेको छ ।

रसुवाको गोसाइकुण्ड गाउँपालिका–२, रसुवागढीमा गएराति आएको आकस्मिक बाढीबाट भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । साथै बेपत्ता स्वदेशी र विदेशी व्यक्तिको सकुशल खोज–उद्धार कार्यलाई निरन्तरतासहित थप प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकमा बाढीको सम्भावित कारण र हालसम्म प्राप्त क्षतिको विवरणको जानकारी लिँदै दुर्घटनामा जीवन गुमाएकाहरुमा श्रद्धाञ्जलि र परिवारजनमा समवेदना व्यक्त गरेको छ । 

विपद् व्यवस्थापनमा नयाँ चुनौतीः फुट्दैछन् हिमताल, झर्दैछ हिमपहिरो

काठमाडौँ । मंगलबार एकैचोटि दुई हिमाली जिल्लाले बाढीको प्रकोपको सामना गर्नुपर्‍यो । मंगलबार बिहानै रसुवाको नेपाल–चीन सिमाना हुँदै बग्ने भोटेकोशीमा बाढी आउँदा ठुलो धनजनको क्षति भयो । यस्तै, साँझ मुस्ताङको लोमान्थाङमा बाढी आयो । दुवै हिमाली क्षेत्रका यी खोला तिब्बततर्फबाट नेपाल आउने खोला हुन् । हिमाल र हिमतालहरू नै यी खोलाका मुख्य स्रोत हुन् । तर, यी आजका घटना मात्र होइनन्, पछिल्लो समय नेपालको हिमाली क्षेत्रमा बाढी–पहिरोको कहर बढ्दो छ ।

लगातार हुन थाले घटना

जेठ ४ गते हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँमा बाढी आयो । गाउँभन्दा माथि पर्ने थाक्राका दुईवटा हिमताल फुटेर गाउँमा बाढी आएको थियो । नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङका अनुसार हिमताल गत जेठ १ गते फुटेको थियो । दुई दिनसम्म लेदो बगेपछि गाउँले र प्रहरीको टोली ९ घण्टा पैदल हिँडेर दुईवटा हिमताल फुटेको पत्ता लगाएका थिए ।

भोटेकोशी नदीमा बाढी : ३ जना प्रहरीसहित २० जना अझै बेपत्ता (सूची)

काठमाडौँ । भोटेकोशी नदीमा मंगलबार बिहान आएको बाढीमा परेर २० जना बेपत्ता भएका छन् । जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार बेपत्ता हुनेमा ३ जना नेपाल प्रहरी तथा ६ जना चिनियाँ नागरिक रहेका छन् ।

चीनतर्फबाट बिहान ३ बजे रसुवागढी नाका भई नेपाल प्रवेश गर्ने भोटेकोशी नदीमा बाढी आएको थियो । बाढीमा फसेका ५५ जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीको उद्धार गरेको कार्यालयले जानकारी दिएको छ ।

उत्तरगङ्गा गाउँपालिका वडा नम्बर ५ स्थित खोला किनारमा पुरुष व्यक्तिको सडेगलेको शव फेला परेको जानकारी दिइएको छ।

रसुवामा बाढी : ५५ जनाको उद्धार, ६४ वटा गाडी बगे

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय रसुवाले चीनको तिब्बतबाट रसुवागढी नाकामार्फत नेपाल प्रवेश गरेका ५५ जना यात्रुलाई सफलतापूर्वक उद्धार गरिएको जनाएको छ।  यद्यपि २० जना अझै हराइरहेका जनाइएको छ । 

मंगलबार बिहान ३ बजेदेखि सुरु भएको उद्धार ६ बजेभित्र सम्पन्न भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । जसमा ५० जना नेपाली नागरिक रहेका अहिले साँझ एक सूचना जारी गर्दै प्रशासनले जानकारी गराएको हो । 

त्यस्तै नेपाल चीन जोड्ने मितेरी पुल पूर्ण रूपमा बाढीले बगाएको, सामानसहित २३ वटा कन्टेनर बगाएको छ । त्यस्तै ३५ वटा ईभी गाडी र ६ वटा सिनो ट्रक बगाएको सूचनामार्फत जनाइएको हो । 

रसुवाको बाढीपछि आयात निर्यात कहिले हुन्छ सुचारु ?

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा एक्कासि आएको बाढीका कारण नेपाल-चीनलाई जोड्ने मितेरी पुल बगाएको छ । मितेरी पुल मात्रै नभएर भोटेकोशी र त्रिशूली नदी किनारामा रहेका सडक तथा भौतिक संरचनामा समेत क्षति पुगेको बताइएको छ । 

योसँगै आज केरुङ हुँदै नेपाल आउने सामानको आयात ठप्प भएको छ । पुल नै भाँचिएपछि आयात हुनै नसक्ने भएकोले आज भन्सारका कुनै पनि काम हुन नसकेको भन्सार विभागले जानकारी दियो । 

उक्त आयात सुचारुका लागि नयाँ पुल बन्नुपर्नेछ भने क्षति पुगेका सडक समेत पुनर्निर्माण हुनुपर्ने सडक विभागका प्रवक्ता प्रभातकुमार झा बताउँछन् । 

प्रधानमन्त्री ओलीले गरे रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरी फर्किएको छ । 

बाढीबाट भएको क्षति, उद्धार र राहतबारे प्रधानमन्त्री ओलीले स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयबासीसँग छलफल पनि गरेका थिए । 

प्रधानमन्त्री ओलीले क्षतिग्रस्त क्षेत्रबाट बेपत्ता भएकाहरूको स्थिति, नेपाल–चीन सीमानाको रसुवागढी भन्सारको क्षतिग्रस्त सुक्खा बन्दरगाह, बगाइएका मालबाहक कन्टेनर बगाउँदा भएको क्षतिको विवरणबारे चिन्ता र चासो व्यक्त गरेका थिए । 

लोमान्थाङमा बाढी, कालीगण्डकीसम्म अर्लट

काठमाडौँ । मुस्ताङको लोमान्थाङ क्षेत्रमा बाढी आएको छ । मंगलबार साँझ लोमान्थाङमा बाढी आएको हो । तटीय क्षेत्रका बासिन्दालाई अलर्टमा बस्न जिल्ला प्रशासन कार्यालय मुस्ताङले आग्रह गरेको छ ।

खोलाले प्रभाव पार्न सक्ने मुस्ताङको ईलाकाहरु छुसाङ, कागबेनी, जोमसोम लगायतका स्थानहरुमा विपद् फोकल पोईन्ट र विपद् सुचकहरु मार्फत सतर्क रहन भनिसकिएको छ । 

जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद भुषालका अनुसार खोला नजिकका बासिन्दालाई अलर्टमा बस्न आग्रह गरिएको छ । 

रसुवामा बाढीको वितण्डाः व्यापारी भन्छन् – अर्बौँ लगानी डुब्यो

काठमाडौँ । चीनतर्फबाट आएको बाढीका कारण नेपालको चीनसँगको सम्पर्क टुटेको छ । रसुवागढीमा आएको बाढीले नेपाल–चीन जोड्ने प्रमुख नाका रसुवागढीको मितेरी पुल बगाएको छ ।

बाढीले चीनको प्रशासनिक र भन्सार कार्यालय भवनअगाडि नेपालतर्फ ठुलो क्षति पुर्‍याएको छ, जसका कारण सवारीसाधन तथा मानिसहरूको आवतजावत पूर्ण रूपमा बन्द भएको छ । बाढीले रसुवा गोसाइकुण्ड गाउँपालिका–२ टिमुरेमा रहेको ईभी चार्जिङ स्टेसन, रसुवागढी हाइड्रोपावरको ड्याम र निर्माणाधीन सुक्खा बन्दरगाहमा समेत क्षति पुर्‍याएको छ ।

बाढीले रसुवागढी नाकामा भौतिक संरचनासँगै अर्बौँको व्यावसायिक लगानी डुबाएको छ । दसैँका लागि व्यापारीहरूले चीनबाट आयात गरेका ईभी गाडी, तयारी कपडा, जुत्ताचप्पल, फलफूललगायतका सामान बोकेका कन्टेनरहरू बगाउँदा अर्बौँको नोक्सानी भएको व्यवसायीहरूले बताएका छन् । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बाढीले चीनबाट आयात भएका ईभीका सवारी साधन र सामान बोक्ने कन्टेनरहरू बगाएको छ भने उक्त घटनामा हालसम्म ५० जनाको उद्धार गरिएको छ ।

नेसपाद्वार इजरायली कदमको भर्त्सना, बाढी प्रभावितलाई उद्धार र क्षतिपूर्ति दिन सरकारसँग आग्रह

काठमाडौँ । महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी(नेसपा)ले प्यालेष्टाइनी जनतामाथि इजरायलले गरिरहेको क्रुर अमानवीय नरसंहारको भर्त्सना गरेको छ । 

मंगलबार नेसपाले विज्ञप्ति मार्फत इजरायली कदमको भर्त्सना गरेको हो । साथै प्यालेष्टाइनी जनताको मानव अधिकार तथा बाँच्न पाउने अधिकारको रक्षार्थ तत्काल युद्ध रोक्न पहल गर्नका लागि सम्बन्धित निकायहरूसँग अपिल गरेको छ । 

‘लामो समयदेखि जारी मध्यपूर्वका देशहरू इजरायल र प्यालेष्टाइनबिचको तनावले पछिल्लो केहि महिनादेखि उग्र रूप लिएको छ । इजरायलले प्यालेष्टाइनी जनतामाथि गरिरहेको क्रुर अमानवीय नरसंहारको हाम्रो पार्टी घोर भर्त्सना गर्दछ । प्यालेष्टाइनी जनताको मानव अधिकार तथा बाँच्न पाउने अधिकारको रक्षार्थ तत्काल युद्ध रोक्न पहल गर्नका लागि सम्बन्धित निकायहरूसँग हाम्रो पार्टी अपिल गर्दछ। वार्ता संवाद सहित प्यालेष्टाइनी जनताका उचित मागहरू पुरा गर्न तथा मानवअधिकार र मानवतावादको रक्षार्थ अन्तर्राष्ट्रिय समुदायलाई अनुरोध पनि गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।

सरकारलाई रास्वपाको आग्रह–बाढीमा परी बेपत्ता भएका नागरिकको खोजी तथा उद्धारको तत्काल व्यवस्था गर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले मंगलबार बिहान चीनको तिब्बत क्षेत्रबाट आएको बाढीमा परी बेपत्ता भएका नागरिकको खोजी तथा उद्धारमा दु्रत एकीकृत पहल गर्न र प्रभावित परिवारलाई तत्काल सुरिक्षत स्थानमा स्थानान्तरण गर्न सरकारसँग आग्रह गरेको छ । 

मंगलबार बिहान एक विज्ञप्ति जारी गरी रास्वपाले प्राकृतिक विपत्तिले निम्त्याएको मानवीय र भौतिक संकटप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धारका लागि आग्रह गरेको हो । 

नेपालको अन्तर्राष्ट्रिय व्यापारका लागि जीवनरेखा मानिने रसुवागढी नाकाको मितेरी पुल र सुख्खा बन्दरगाहमा भएको क्षतिले अर्थतन्त्रमा समेत प्रत्यक्ष असर पार्ने भएकाले प्राविधिक मूल्यांकन गरी पुनर्निर्माण कार्य तत्काल सुरु गर्ने गरी स्पष्ट कार्ययोजना सार्वजनिक गर्न पनि  सरकारसँग आग्रह गरेको छ । 

आज राति भोटेकोशी र सुनकोशीमा बढी वर्षाको सम्भावना, सतर्कता अपनाउन प्रशासनको आग्रह

काठमाडौँ । आज (मंगलबार) राति भोटेकोशी र सुनकोशी नदी आसपास क्षेत्रमा बढी वर्षको सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सतर्कता अपनाउन आग्रह गरेको छ । 

मंगलबार एक सूचना जारी गर्दै नदी आसपास क्षेत्रका बासिन्दाहरूलाई सतर्कता अपनाउन र अरनिको राजमार्ग (बन्देउ देखि लिपिङ) मा सवारी साधन चलाउँदा समेत सतर्कता अपनाउन आग्रह गरिएको छ । 

सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीका अनुसार चीनको तिब्बत क्षेत्रको न्यालममा वर्षा भइरहेको र आज राति बढी वर्षा हुन सक्ने सम्भावना रहेको भनी चिनियाँ अधिकारीबाट सूचना प्राप्त भएको थियो ।

घट्दो क्रममा भोटेकोशीको बाढी : यस्तो देखियो नुवाकोटको त्रिशुली नदी, तस्बिरहरू

काठमाडौँ । मंगलबार बिहान चीन क्षेत्रमा परेको भिषण वर्षाका कारण भोटेकोशी नदीमा आएको बाढी घट्दो क्रममा रहेको छ। 

वर्षाले रसुवा जिल्लाको चीन सिमाना क्षेत्रमा भारी बाढी आएको छ। सो बाढीमा तीन जना प्रहरीसहित १८ जना सम्पर्कविहीन भएका छन्। 

08-Nuwakot Trishuli River Flood_-91209-Nuwakot Trishuli River Flood_-91510-Nuwakot Trishuli River Flood_-91411-Nuwakot Trishuli River Flood_-90812-Nuwakot Trishuli River Flood_-91113-Nuwakot Trishuli River Flood_-90314-Nuwakot Trishuli River Flood_-90415-Nuwakot Trishuli River Flood_-90516-Nuwakot Trishuli River Flood_-91817-Nuwakot Trishuli River Flood_-919

दाउराको जोहो गर्न गएका तामाङ दम्पती बाढीमा फसेपछि...

नुवाकोट । बर्खाका लागि खाना पकाउने दाउराको जोहोमा लागेका नुवाकोटका एक तामाङ दम्पती अचानक बाढीमा फसेपछि मंगलबार हेलिकप्टरबाट उद्धार गरिएको छ । 

दाउरा खोज्न घरबाट केही परको खोलामा पुगेका नुवाकोटको विदर नगरपालिका–९ का ६७ वर्षीय पाल्देन तामाङ र उनकी ६२ वर्षीय पत्नी मंगलीमाया तामाङले करिब १ घण्टा सिसौको रुखमा चढेर ज्यान जोगाएका हुन् ।

तामाङ दम्पती रसुवातिरबाट आएको बाढीमा फसेका थिए । झिसमिसेमै दाउरा संकलनका लागि हिँडेका पाल्देन र उनकी श्रीमती खोलामा पुगेलगत्तै बाढीमा पसेका थिए ।

रसुवामा बाढी : उद्धार र राहतमा खटिन कांग्रेस बागमती प्रदेशको आग्रह

मकवानपुर । सोमबार राति वर्षासँगै रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिप्रति नेपाली कांग्रेस बागमती प्रदेश समितिले गहिरो दुःख व्यक्त गरेको छ । 

नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले मंगलबार विज्ञप्ति जारी गर्दै घटनाले गम्भीर मानवीय र भौतिक क्षति पुर्‍याएको बताए । 

उनले रसुवा बाढीबाट प्रभावितहरूको उद्धार र राहत कार्यमा यथाशीघ्र खटिन आह्वान गरेका छन्। उनले बाढी प्रभावित क्षेत्र रसुवासहित अन्य भागहरुमा पार्टीका स्थानीय, क्षेत्रीय, जिल्ला र प्रदेश तहमा रहेका भातृ तथा शुभेच्छुक सङ्गठनका नेता र कार्यकर्ताहररुलाई तत्काल सम्पर्कविहीनको खोजी, उद्धार तथा राहतमा खटिन निर्देशन दिएका छन् ।

रसुवातर्फ उड्यो प्रधानमन्त्रीसहितको सरकारी टोली

काठमाडौँ । चीनतर्फबाट आएको अकस्मातको बाढीका कारण जनधनको क्षति भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीसहितको सरकारी टोली घटनास्थतर्फ प्रस्थान गरेको छ।  

नेपाली सेनाको हेलिकप्टरबाट प्रधानमन्त्रीसहितको टोली मंगलबार अपराह्न रसुवागढीतर्फ प्रस्थान गरेको हो। 

टोलीमा गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेल, गृह सचिव गोकर्णमणि दुवाडीलगायतका सरकारी अधिकारी रहेको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए । 

चीनले समयमै बाढीको सूचना दिन सकेन : विनोद पराजुली [भिडियो संवाद]

चीनतर्फबाट एकाएक भयानक बाढी आउँदा मंगलबार बिहान रसुवाको रसुवागढी क्षेत्रमा व्यापक जनधनको क्षति भयो । यो क्षति हुनुमा चीनले समयमै बाढीको सूचना दिन नसक्नु भएको बताउँछन्, वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुली । 

उनीसँग  रातोपाटीले गरेको कुराकानी भिडियोमा हेर्नुहोस्ः

पाँच महिनामै बनेको थियो मितेरी पुल, ६ वर्षपछि बाढीले बगायो

काठमाडौँ । नेपाललाई चीनसँग जोड्ने रसुवास्थित नाकामा रहेको ‘मितेरी पुल’ बाढीले बगाएको छ ।

तिब्बत क्षेत्रबाट अचानक आएको बाढीका कारण पुल बग्नुका साथै नेपालतर्फ ठुलो जनधनको क्षति भएको छ । यसको यकिन विवरण भने आइसकेको अवस्था छैन । 

अहिले बगाइएको पुल ६ वर्षअघि अर्थात् २०७६ जेठमा सञ्चालनमा आएको थियो । चिनियाँ सहयोगमा बनेको उक्त पुल बनाउन चिनियाँ ठेकेदार कम्पनीले जम्मा पाँच महिना लगाएको थियो ।

रसुवागढी हाइड्रोपावरमा फसेका २३ जनाको हेलिकप्टरमार्फत उद्धार

काठमाडौँ । रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर–२ स्थित रसुवागढीमा मंगलबार आएको बाढीको कारण जलविद्युत आयोजनामा फसेका २३ जनालाई उद्धार गरिएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षाकर्मीहरूले रसुवागढी जलविद्युत आयोजनामा फसेका कामदारहरूको उद्धार गरेका हुन् ।सशस्त्र र नेपाल प्रहरीसँग समन्वय गरेर हेलिकप्टरमार्फत २३ जनाको उद्धार गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाल–चीन सीमनाको लेन्डे खोला हुँदै भोटेकोशीमा आएको बाढीका कारण विद्युत् आयोजनामा कार्यरत कामदारहरू त्यहीँ फसेका थिए ।उद्धारको लागी सेनको एनए–०३८ एमआई र इकुरेल हेलिकप्टर परिचालन गरिएको छ ।

बाढी र पहिरोमा परेकाको उद्धारमा तीव्रता दिन उपसभामुख रानाको आग्रह

काठमाडौँ । उपसभामुख इन्दिरा राना मगरले बाढी र पहिरोमा परेका व्यक्तिको उद्धार र राहत सामग्री वितरणका लागि सबै संयन्त्रलाई तत्काल र प्रभावकारी रूपमा परिचालन गर्न सरकारसँग आग्रह गरेकी छन् । 

नेपाल र चीनको सिमानामा पर्ने रसुवाको टिमुरेलगायत क्षेत्रमा भोटेकोसी नदीमा आएको भीषण बाढीले ठुलो जनधनको क्षति पुर्‍याएकामा आज  सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्दै उहाँले उद्धार र राहतमा लाग्न सरकारसँग आग्रह गरेकी हुन् । 

उपसभामुख रानाले भनेकी छन्, “बाढीले पुर्‍याएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्राकृतिक विपद्को विषम परिस्थितिमा उद्धार र राहत कार्यका लागि सबै संयन्त्रलाई तत्काल र प्रभावकारी रूपमा परिचालन गर्न साथै उच्च सतर्कता अपनाउन र विपद् जोखिम न्यूनीकरणका लागि सम्पूर्ण सरकारी निकाय, राजनीतिक दल, सङ्घसंस्था र नागरिकलाई अपिल पनि गर्दछु ।” 

रसुवामा बाढीको वितण्डा: ५० जनाको उद्धार

रसुवा । गएराति रसुवामा एक्कासि आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। चीनतर्फबाट आएको बाढीले गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रमा वितण्डा मच्चाउँदा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन भएका छन्।

बाढीले थप क्षति पुर्‍याउने सम्भावनाका कारण उद्धार कार्यमा सतर्कता अपनाइएको छ भने सम्पर्कविहीनहरूको खोजी कार्य जारी रहेको सुरक्षा निकायले जनाएको छ।

बाढीले २५० मेगावाटभन्दा बढी विद्युत् उत्पादन बन्द, माग अनुसार आपूर्तिमा समस्या छैन: प्राधिकरण

काठमाडौँ। चीनतर्फबाट आएको बाढीका कारण नेपाल विद्युत् प्राधिकरण र यस अन्तर्गतका  जलविद्युत् आयोजनाहरूको २ सय ५० मेगावाट विद्युत् उत्पादन बन्द भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा बढी क्षति पुर्‍याएको छ । उक्त आयोजनाको बाँधको एउटा गेट बाढीले बगाएर ड्याममा समेत क्षति पुगेको उनको भनाई छ । 

प्रवक्ता ढकालले त्रिशूली कोरिडोरमा रहेका प्राधिकरणका आयोजनाहरूमा बाढीले क्षति पुर्‍याएपछि सम्भावित जोखिमबाट बच्न उक्त क्षेत्रका अन्य केही आयोजनाहरू पनि बन्द गरिएको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया