बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
बाढीको वितण्डा

रसुवाको बाढीपछि आयात निर्यात कहिले हुन्छ सुचारु ?

मङ्गलबार, २४ असार २०८२, २० : ००
मङ्गलबार, २४ असार २०८२

सारांश

  • रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगायो।
  • पुल बगाएपछि केरुङ हुँदै नेपाल आउने सामानको आयात ठप्प भएको छ, भन्सारका काम पनि रोकिएका छन्।
  • आयात सुचारुका लागि नयाँ पुल बनाउनुपर्ने र सडक पुनर्निर्माण गर्नुपर्ने भएको छ।

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा एक्कासि आएको बाढीका कारण नेपाल-चीनलाई जोड्ने मितेरी पुल बगाएको छ । मितेरी पुल मात्रै नभएर भोटेकोशी र त्रिशूली नदी किनारामा रहेका सडक तथा भौतिक संरचनामा समेत क्षति पुगेको बताइएको छ । 

योसँगै आज केरुङ हुँदै नेपाल आउने सामानको आयात ठप्प भएको छ । पुल नै भाँचिएपछि आयात हुनै नसक्ने भएकोले आज भन्सारका कुनै पनि काम हुन नसकेको भन्सार विभागले जानकारी दियो । 

उक्त आयात सुचारुका लागि नयाँ पुल बन्नुपर्नेछ भने क्षति पुगेका सडक समेत पुनर्निर्माण हुनुपर्ने सडक विभागका प्रवक्ता प्रभातकुमार झा बताउँछन् । 

उनका अनुसार त्यहाँ पक्की पुल बनाउन वर्षौं लाग्नसक्छ । यसअघि उक्त पुल चीनले बनाइदिएको थियो अब पनि चीनले नै उक्त सडक बनाइदिन्छ कि नेपालले नै बनाउनुपर्छ भन्ने टुंगिनुपर्छ । त्यसैले तत्कालको लागि बेलिब्रिज बनाउनुपर्छ । 

तर, बेलिब्रिज बनाउन पनि फाउन्डेसन सहित करिब तीन महिना लाग्ने देखिन्छ । त्यसैले तत्काल आयात निर्यात गर्नको लागि भने हिमपाइप राखेर अस्थायी पुल बनाउनु पर्ने अवस्था हुन्छ । यो काम भने एक हप्तादेखि १० दिन हाराहारी समय लाग्न सक्छ । 

प्रवक्ता झा बाढीले भएको क्षतिबारे पूर्वानुमान गर्न केही दिन लाग्नसक्ने भएकोले आयात सुचारु कहिलेदेखि हुन्छ भनेर त्यसपछि मात्रै एकीन रुपमा भन्न सकिने उल्लेख गरे । मितेरी पुलभन्दा तलतिरको सडकको क्षतिको आधारमा यो निर्धारित हुने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप