बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

विपद् व्यवस्थापनमा नयाँ चुनौतीः फुट्दैछन् हिमताल, झर्दैछ हिमपहिरो

'चीनका हिमनदीहरूले नेपालमा उपद्रव मच्चायो'
मङ्गलबार, २४ असार २०८२, २० : २४
मङ्गलबार, २४ असार २०८२

सारांश

  • मंगलबार रसुवा र मुस्ताङमा आएको बाढीले ठूलो धनजनको क्षति पुर्‍यायो।
  • हुम्ला, सिन्धुपाल्चोक, सोलुखुम्बु, मनाङ लगायतका हिमाली जिल्लाहरूमा बाढीपहिरोका घटनाहरू बारम्बार भइरहेका छन्।
  • विज्ञका अनुसार, चीनको तिब्बतमा भारी वर्षाका कारण नेपालमा बाढी आउने सम्भावना बढेको छ, जसले गर्दा सतर्क रहनु आवश्यक छ।

काठमाडौँ । मंगलबार एकैचोटि दुई हिमाली जिल्लाले बाढीको प्रकोपको सामना गर्नुपर्‍यो । मंगलबार बिहानै रसुवाको नेपाल–चीन सिमाना हुँदै बग्ने भोटेकोशीमा बाढी आउँदा ठुलो धनजनको क्षति भयो । यस्तै, साँझ मुस्ताङको लोमान्थाङमा बाढी आयो । दुवै हिमाली क्षेत्रका यी खोला तिब्बततर्फबाट नेपाल आउने खोला हुन् । हिमाल र हिमतालहरू नै यी खोलाका मुख्य स्रोत हुन् । तर, यी आजका घटना मात्र होइनन्, पछिल्लो समय नेपालको हिमाली क्षेत्रमा बाढी–पहिरोको कहर बढ्दो छ ।

लगातार हुन थाले घटना

जेठ ४ गते हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँमा बाढी आयो । गाउँभन्दा माथि पर्ने थाक्राका दुईवटा हिमताल फुटेर गाउँमा बाढी आएको थियो । नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङका अनुसार हिमताल गत जेठ १ गते फुटेको थियो । दुई दिनसम्म लेदो बगेपछि गाउँले र प्रहरीको टोली ९ घण्टा पैदल हिँडेर दुईवटा हिमताल फुटेको पत्ता लगाएका थिए ।

यस्तै असार २ मा मात्रै हुम्लाको सर्केगाड गाउँपालिकाअन्तर्गत पर्ने तीनवटा गाउँ बाढी र पहिरोले घेरिए । वडा नम्बर २ को रिप, ६ को जिउँसी र ८ को एउटा गाउँ खोलामा बढेको बाढी र पहिरोले घेरिएको थियो । बस्तीलाई चाँडै स्थानान्तरण गर्न नसके ठुलो मानवीय क्षति हुने गाउँपालिकालाई अहिले पनि चिन्ता छ । हुम्लामा सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीले करिब ५०० घरधुरीलाई स्थानान्तरण गर्नुपर्ने बताएका थिए । पहिरोबाट प्रभावित भई १९ घरधुरी गाउँभन्दा पारिपट्टि त्रिपालमा बसेका थिए ।

२०८० असोजमा वर्षाले सिन्धुपाल्चोकमा ठुलो जनधनको क्षति भएको थियो । यहाँ विपदमा परी १३ जनाले ज्यान गुमाएका छन् भने सबै मुख्य, सहायक र ग्रामीण सडक क्षतिग्रस्त भएका छन् । बाढीपहिरोबाट जिल्लाका बाह्रबिसे नगरपालिका, भोटेकोशी र त्रिपुरासुन्दरी गाउँपालिकाका सबै सडक पूर्ण अवरुद्ध भएकामा हाल मर्मतसम्भारपछि आंशिक रूपमा सञ्चालनमा आएका छन् । त्रिपुरासुन्दरी गाउँपालिकाका अधिकांश बस्ती जोखिममा छन् भने वडा नं १, २ र ३ मा अझै सडक सञ्चालन हुन सकेको छैन ।

२०८० साउनमा सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा पर्ने खुम्बु थामे क्षेत्रमा हिमताल फुटेर आएको लेदोसहितको बाढीले १४ घर बगाएको छ । बाढीबाट एउटा विद्यालय, तीनवटा क्लिनिकसहित १४ वटा घरमा पूर्ण क्षति भयो ।

२२ फागुन २०८० मा मनाङको ङिस्याङ गाउँपालिकामा हिमपहिरो गएको थियो । ङिस्याङ–१ ढुकुरपोखरीमा हिमपहिरो जाँदा माथिल्लो मनाङ र तल्लो मनाङको आवतजावत केही समय ठप्प नै भयो ।

२०७८ असारमा मनाङमा बाढी–पहिरोले सयौँ घर डुबानमा परे । बाढी–पहिरोको कारण बस्ती नै डुबानमा पर्दा मनाङका धेरै गाउँ सम्पर्कविच्छेद भएका थिए । मनाङको सदरमुकाम चामेबजार वरिपरिका दुइटा खोलाको बहाव बढ्दा छभन्दा बढी घर बगाएको थियो । त्यस वेला मनाङका विभिन्न गाउँपालिकाका ६० भन्दा बढी घर डुबानमा परी क्षतिग्रस्त हुन पुगेका थिए । मनाङको ताल गाउँमा ३० घर, चामेमा ४८, र धारापानीमा दुई सरकारी कार्यालयसहित १५ घर डुबानमा परेका थिए ।

मुस्ताङको थासाङ गाउँपालिका–२ को कोवाङमा २०७८ कात्तिकमा डरलाग्दो हिमपहिरो गयो । धौलागिरि हिमशृङ्खलाअन्तर्गतको मानापाथी हिमालमाथिबाट हिमपहिरो झरेको थियो । हिमपहिरो खसेको ठुलो मुस्लो देखेपछि त्रासले भागाभाग हुँदा स्थानीय जनआदर्श अमरसिंह माविका विद्यार्थी, शिक्षक र गाउँले गरी ११ जना घाइते भएका थिए ।

हिमनदी तथा हिमताल फुटिरहेका छन् । यसले कस्तो विपद् निम्त्याउँदैछ ? कसरी सतर्क रहनेलगायत विषयमा त्रिविका वातावरण विज्ञानका उपप्राध्यापक सुदीप ठकुरीसँग हामीले कुराकानी गरेका छौँ । ठकुराको भनाइ जस्ताको त्यस्तै

अहिले आइरहेको जानकारीअनुसार मुख्यतया भारी वर्षा नै भएको देखिन्छ । त्यो उच्च हिमाली क्षेत्र पनि हो । रसुवाभन्दा माथि तिब्बती भू-भागमा धेरै ठुलो क्षेत्र छ । त्यो पूरै क्षेत्रमा धेरै पानी परेर बाढी आएको हुन सक्छ । हुन त त्यस ठाउँमा हिमनदी र हिमतालहरू पनि छन् । तर, यकिन जानकारी नभएसम्म हिमनदी वा हिमताल नै फुटेर बाढी आएको हो भन्न सकिँदैन, यद्यपि त्यो क्षेत्रमा हिमनदी र हिमतालहरू छन् । यसबाहेक तिब्बती भूभागमा बाँधहरू (ड्याम) भएको कुरा पनि सुनिन्छ ।

अहिलेको अवस्थामा भने त्यो सुक्खा क्षेत्र भएकाले अलिकति बढी पानी पर्दा नै बाढीको रूपमा आएको हुन सक्छ, जस्तो हामीले कागबेनीमा देखेका थियौँ । त्यहाँ पनि भारी वर्षा (हेभी रेनफल) भयो, जसले गर्दा बाढी आएको हुनुपर्छ ।

यसको विस्तृत विवरण त अहिले तत्काल भन्न सकिँदैन । तर, मैले अघि भनेजस्तै सुक्खा ठाउँमा अलिकति पानी पर्नासाथ ‘फ्ल्यास फ्लड’ (आकस्मिक बाढी) को रूपमा आउँछ । यदि पानी परेर जमिन भिजिरहेको छ भने त्यहाँ छिटो बाढी आउँदैन । तर, त्यहाँ जमिन सुक्खा हुने र पानी एकैपटक पर्ने हुँदा त्यसले बाढीको रूप लिन्छ । सामान्यतया मुस्ताङजस्ता माथिल्लो क्षेत्रहरू यस्तो बाढीका लागि संवेदनशील हुन्छन् ।

पछिल्लो समय उच्च हिमाली क्षेत्रमा पनि बर्खामा पानी पर्न थालेको देखिन्छ । पहिला हिउँ मात्र पर्ने ठाउँमा आजभोलि पानी परेर समस्या निम्तिन थालेको हो कि जस्तो लाग्छ । पानी नपर्ने ठाउँमा पनि भारी वर्षा हुने र त्यसले बाढीको रूप लिने गरेको छ । केही वर्षअघि मनाङमा पनि यस्तै भएको थियो । यो त्यही प्रकृतिको घटना हुन सक्छ ।

हिमताल फुटेको भन्ने प्रारम्भिक जानकारी मात्र रहेछ, विस्तृत विवरण छैन । त्यसैले हिमताल नै फुटेको हो भनेर यकिनसाथ भन्न सकिँदैन, तर त्यो क्षेत्रमा तालहरू भने छन् । यदि त्यहाँ ताल फुट्यो भने त्यसको असर नेपालमा नै पर्छ, किनकि चीन माथिल्लो तटीय क्षेत्रमा पर्छ । रसुवागढीभन्दा माथिको सबै पानी तल हाम्रै नेपालतिर आउँछ ।

जसरी नेपालको कोशीले भारतको बिहारलाई दुःख दिन्छ, त्यसरी नै चीनका हिमनदीहरूले नेपालमा वेला-वेला उपद्रव मच्चाइरहेको देखिन्छ । किनभने, जलाधारको हिसाबले हामी एउटै क्षेत्रमा पर्छौं । चीन माथिल्लो जलाधार क्षेत्रमा र हामी तल्लो जलाधार क्षेत्रमा पर्छौं । माथि हुने गतिविधिले तल्लो क्षेत्रलाई प्रभाव पार्नु स्वाभाविक हो । जस्तै, हाम्रो क्षेत्रमा कुनै बाढी–पहिरो आयो भने त्यसको प्रभाव भारत हुँदै बंगलादेशसम्म पुग्न सक्छ । त्यस्तै, हाम्रा कतिपय भूभागका जलाधार क्षेत्र तिब्बतसँग जोडिएका छन् । जस्तै, लाङटाङको भोटेकोशी, कोदारीतर्फको भोटेकोशी र अरुण उपत्यका पनि माथि तिब्बतसँगै जोडिएका छन् ।

अब कसरी ध्यान दिने ?

त्यसैले खोलानालाको वरिपरि बस्ती बसाउँदा वा कुनै संरचना बनाउँदा हामीभन्दा माथिल्लो तटीय क्षेत्रको अवस्था कस्तो छ भनेर ध्यान दिनु जरुरी छ । यस्ता घटनाक्रम दोहोरिरहन्छन्, किनकि हामीभन्दा माथिको ठुलो जलाधार क्षेत्र तिब्बती भूभागमा पर्छ, जहाँ धेरै हिमनदी र हिमतालहरू छन् । 

यसले गर्दा यस्ता घटना आगामी दिनमा पनि बढ्न वा दोहोरिन सक्छन् । त्यसैले हाम्रो क्षेत्रमा जहिले पनि सतर्क रहनुपर्छ । खोलाको छेउछाउमा भएका कतिपय बस्तीबारे अहिले नै पुनर्विचार गर्नुपर्छ ।

याे पनि

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमृत चिमरिया
अमृत चिमरिया
लेखकबाट थप