सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
बाढी

बाढीले उपल्लो मुस्ताङमा चार पुल बगायो २ पुलमा क्षति

बुधबार, २५ असार २०८२, ०० : १९
बुधबार, २५ असार २०८२

सारांश

  • मुस्ताङमा लेदोसहितको बाढीले ६ वटा पुलमा क्षति पुर्याएको छ।
  • बाढीले २ वटा पक्की पुल र ३ वटा काठे पुल बगायो, साथै होटल र घरका मानिसहरूलाई सारियो।
  • प्रहरी टोलीले स्थानीयलाई सतर्क रहन आग्रह गर्दै सम्भावित जोखिमबारे सचेत गराएको छ।

मुस्ताङ ।  उपल्लो मुस्ताङमा मङ्गलबार साँझ लेदोसहितको बाढीले ६ वटा पुलमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । नेपाल–चीन उत्तरी सीमावर्ती गाउँ लोमान्थाङ गाउँपालिका–४ छोसेरस्थित चुम्जुङ खोलामा करिब तीन घण्टा भीषण बाढी आएको थियो ।

बाढीले लोमान्थाङ–४ स्थित चुम्जुङ खोलामा एक पुल र लोमान्थाङ–२ साम्जुङस्थित निर्माणाधिन अर्को एक गरी दुई वटा पक्की मोटरेबल पुलमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले सूचना सम्प्रेषण गरेको छ ।

यसैगरी बाढीले त्यसक्षेत्रमा रहेको फलामे पुल र तीन वटा काठे पुल बाढीले बगाएर क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले उल्लेख गरेको छ । उपल्लो मुस्ताङको बाढीका कारण जोखिम रहेको खोलाको बिचमा सञ्चालनमा रहेको एक होटल र लोमन्थाङ–४ स्थित अन्दाजी चार सय मिटर दुरीमा रहेको न्याम्डो गाउँका दुई वटा घरका नागरिकहरुलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए । उनका अनुसार बाढीले  त्यस क्षेत्रमा मानवीय तथा पशुचौपायामा क्षति नभएको बताए ।

बाढीको सतह अहिले केही मत्थर हुँदै गइरहे पनि त्यस क्षेत्रको सुरक्षा सावधानीका लागि इलाका प्रहरी कार्यालय छोसेरबाट प्रहरी सहायक निरीक्षक र छोसेरस्थित सशस्त्र प्रहरी बल (बीओपी) नेचुङबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा नौ जनाको टोली खटिएको उनले उल्लेख गरे ।

त्यहाँ खटिएका सुरक्षाकर्मीहरूले स्थानीयलाई हुन सक्ने खतराको बारेमा सूचित गराइएको छ । अहिले त्यस क्षेत्रमा बाढीको बहाव कम भइसकेको भए पनि सम्भावित जोखिमको खतरा टरिनसकेकाले स्थानीयलाई आवश्यक सतर्कता अपनाउनसमेत जिल्ला प्रहरी कार्यालय मुस्ताङले अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप